१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२o८१ जेठ १ मंगलबार १८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कमल थापाको दाबी– संकटको मूल जड दोस्रो जनआन्दोलन 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ १ मंगलबार १८:३१:oo

राप्रपाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अहिलेको संकटको मूल जड दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संसद् पुनर्स्थापना गरेर केपी ओलीको सट्टा प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदैमा समस्या समाधान नहुने बताए ।

थापाले दुईतिहाइको बहुमतको सरकारले जस्तोसुकै व्यवस्था ल्याउन सक्ने भए पनि शक्ति र अधिकारको सदुपयोग नगरेर दुरुपयोग मात्र गरेको आरोप लगाए । थापाले भने, ‘न्यायालयमा समेत आफ्नो मान्छे भर्ने काम भयो । अहिले सरकार र सडक दुवैबाट न्यायको प्रतिमूर्ति सर्वोच्चमाथि औँला ठड्याउने, दबाब दिने, तर्साउने काम भइरहेको छ । जसले गर्दा देश ठूलो संकटमा जाँदै छ ।’

थापाले अहिलेको निकास भनेको विप्लवदेखि राजासम्म अट्ने लोकतान्त्रिक व्यवस्थासहितको राजतन्त्र भएको दाबी गरे । हिन्दूराष्ट्र र राजासहितको लोकतान्त्रिक व्यवस्थाले मात्र सबै समस्याको समाधान हुने थापाको जिकिर छ ।

राजसंस्था नभएकै कारण देशमा भ्रष्टाचार मौलाएको, विदेशी शक्तिको चलखेल बढेको उनको दाबी छ । थापाले पार्टीबाट छानिएको राष्ट्रपति तटस्थ र सबैको हितअनुकूलको राष्ट्रपति हुन नसक्ने भन्दै राष्ट्रपतीय व्यवस्था नै गलत भएको जिकिर गरे ।

भेलामा राप्रपा गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङले अबको विकल्प भनेको चुनावमा गएर नयाँ जनादेश लिनु नै भएको बताए ।

ad
ad