Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
किनमेलका लागि सीमावर्ती भारतीय सहर रुपइडिहा बजार गएका नेपालगन्जवासीले जमुनाहमा पार्किङ गरेका मोटरसाइकल ।
२०७७ माघ ११ आइतबार ०७:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नाका खुकुलो हुँदा किनमेल  गर्न भारत जानेको घुइँचो

Read Time : > 1 मिनेट
२०७७ माघ ११ आइतबार ०७:५६:००

भारतसँगको जमुनाह नाका खुकुलो भएपछि किनमेलका लागि आवतजावत गर्नेको घुइँचो लाग्न थालेको छ । शनिबार मात्रै पाँच हजारभन्दा बढीले भारत गएर किनमेल गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७ गतेदेखि सीमानाका बन्द गरेको थियो । अहिले पनि भारतसँगका सीमानाका औपचारिक रूपमा खोलिएका छैनन् । तैपनि दुवै देशका सर्वसाधारणको सहजताका लागि भारतले दुई महिनाअघिदेखि नै सीमानाका खुकुलो पारेको थियो । १ माघदेखि भने नेपालतर्फबाट पनि केही खुकुलो गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सइ विष्णु गिरीले बताए । 

अहिले किनमेल र औषधि उपचारका लागि भारत जान छुट दिइएको उनले बताए । तर, सीमानाका खुलेको औपचारिक पत्र आएको छैन । ‘व्यावहारिक रूपमा किनमेल र उपचारका लागि जानेहरूलाई केही सजिलो बनाइदिएका छौँ,’ सइ गिरीले भने, ‘नाका पूर्ण रूपमा खुलेको भन्न मिल्दैन, तर पहिलेभन्दा केही सहजचाहिँ पक्कै भएको छ ।’

अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन् । भारत जान कुनै रोकटोक नभएको नेपालगन्ज उपमहानगरपालिका–७ का मोइनुद्दिन खानको अनुभव छ । ‘लकडाउन हटे पनि भारत जान ठूलो संघर्ष गर्नुपथ्र्यो । दिनभर लाइन लागेर पनि भारत जान पाइँदैनथ्यो । अहिले आउजाउमा कुनै रोकटोक छैन,’ उनले भने । 

बिदाको दिन भएकाले शनिबार किनमेल गर्न भारत जानेको भिड लागेको थियो । किनमेलका लागि पाँच हजारभन्दा बढी सर्वसाधारण भारत प्रस्थान गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख गिरीले बताए । 

किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपइडिहा जाने र नेपालगन्ज आउनेलाई मोटरसाइकल ल्याउन–लैजान दिइँदैन । किनमेलका लागि रुपइडिहा जानेहरूको मोटरसाइकलले जमुनाह भरिने गरेको छ । ‘शनिबार मात्र तीन हजारभन्दा धेरै मोटरसाइकल जमुनाह बजारमा पार्किङ गरिएका थिए । पैदल, साइकल, रिक्सा र गाडीमा आउनेको संख्या पनि उस्तै थियो,’ होटेल व्यवसायी संघ, नेपालगन्जका वरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बूले भने, ‘नेपाल आउनेभन्दा किनमेलका लागि भारत जानेको संख्या धेरै थियो ।’

नाका खोल्न सर्वसाधारणको माग
पूर्ववत् रूपमा आवतजावत भइरहेकाले नाका बन्द गर्नुको कुनै औचित्य नभएको भन्दै राजनीतिक दल र नागरिक समाजले नाका खोल्न माग गरेका छन् । जनता समाजवादी पार्टी, बाँकेले नाका खोल्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नाका बन्द गर्नुको कुनै औचित्य नभएको ठहर गरी नाका खोल्न माग गरेको जनता समाजवादी पार्टीका नेता रामकुमार दीक्षितले बताए ।

उनले नाका बन्द गरेर राज्यले जनतालाई दुःख दिएको बताए । कोरोनाको नाममा सरकारले नेपाल–भारत नाका बन्द गरेर नेपाली जनतालाई दुःख दिने काम मात्र गरेको छ । ‘नाका बन्द गर्नुको कुनै औचित्य छैन । नाका खोलेर आउजाउ सहज बनाउनुपर्छ,’ उनले भने । 

जिल्ला विकास समिति, बाँकेका पूर्वसभापति पशुपतिदयाल मिश्रले पनि नाका बन्द गर्नुको कुनै औचित्य नभएको बताए । उनले सरकारको निर्णयअनुसार २९ पुसपछि नाका स्वतः खुलेको बताए । ‘सरकारको तर्फबाट नाका खुला भइसक्यो । तैपनि सहज रूपमा आउजाउ गर्न दिइएको छैन । नाका खोलेर सहज रूपमा आउजाउ गर्ने वातावरण सरकारले मिलाउनुपर्‍यो,’ उनले भने ।

न मजदुरीका लागि आउनेको संख्यामा वृद्धि
नाका खुकुलो भएपछि मजदुरीका लागि नेपालगन्ज आउने भारतीयको संख्या पनि बढेको छ । भारतीय नागरिक मजदुरीका लागि साइकलमा नेपालगन्ज आउने गरेका छन् । अहिले मजदुरीका लागि नेपालगन्ज आउन सहज भएको नेपालगन्जमा भेटिएका रुपइडिहाका एक भारतीय मजदुरले बताए । ‘पछिल्लो समय मजदुरीका लागि नेपालगन्ज आउन कुनै रोकटोक छैन । सुरक्षाकर्मीले सोधपुछ गरेर सहजै आउजाउ गर्न दिन्छन्,’ उनले भने । बिहान साइकलमा आएका मजदुर बेलुकी भारत फर्किने गरेको जमुनाह प्रहरी इन्चार्ज गिरीले बताए । ‘दिनभर काम गरेर बेलुकी आफ्नो घर फर्किन्छन्,’ उनले भने ।