मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ माघ १० शनिबार २०:३३:००
Read Time : > 2 मिनेट
फिचर

अथाह सम्पत्तिका मालिक पनि हुन् उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ माघ १० शनिबार २०:३३:००

एसियाली राष्ट्र उत्तर कोरिया बाँकी विश्वका लागि अझै पनि अपरिचितजस्तै छ । उत्तर कोरिया अरू देशजस्तो खुला छैन । तानाशाही शासन व्यवस्थामा चलिरहेको उत्तर कोरियाले सञ्चारकामाध्यमदेखि सबै कुरा नियन्त्रणमा राख्ने गरेको छ ।

जनतालाई निकै कम सुविधा र स्वतन्त्रता दिएका उत्तर कोरियाली शासक किम जोङ उन भने विश्वकै महँगा चिजको भोग गरिरहेका छन् । हेर्नुहोस् उनीसँग भएका १० महँगा सम्पत्ति,

१. सबमरिन्ज

उत्तर कोरियाको समुद्रमुनि धेरै सोभियत सबमरिन्ज छन् । किम जोङ उनको सेनासँग २२ रोमियो चिनियाँ सबमरिन्ज र चार पूर्वसोभियत ह्विस्की क्लास सबमरिन्ज छन् । उनीसँग उत्तिकै संख्यामा अरू सबमरिन्ज पनि छन् ।

२. पियानो संग्रह

किम जोङ उन पियानोप्रेमी शासक हुन् । उनीसँग २० वटा पियानो छन् । यी पियानो उनका फरक–फरक घरमा राखिएका छन् । उनी दिनहुँजसो यी पियानो बजाउँछन् ।

३. सैनिक जहाज

किम जोङ उनका नेभीसँग एम्फिबियस एसल्ट सिप छन् । अरूको यस्ता जहाजलाई ध्वस्त पार्ने, विपक्षीविरुद्ध माइन बिछ्याउने र गस्ती गर्ने अत्याधुनिक जहाज छन् । उत्तर कोरियाले यही शक्तिको आडमा ठूला राष्ट्रसँग जोरी खोज्ने गरेको छ ।

४. निजी गल्फ कोर्स

उत्तर कोरियाभित्र किम जोङ उनका धेरै गल्फ कोर्स छन् । देशमा भएका राम्रामध्येको गल्फ कोर्स उनैको स्वामित्वमा छन् । यी गल्फ कोर्सको व्यवस्थापनका लागि सरकारले कामदार नियुक्त गर्ने गरेको छ ।

५. निजी आइल्यान्ड

उत्तर कोरियामा किम जोङ उनको छुट्टै आइल्यान्ड छ । उनको यो आइल्यान्डबारे धेरैलाई जानकारीसमेत छैन । यो कहाँ छ भन्ने कुरा पनि धेरै कमलाई मात्रै जानकारी छ । किम जोङ उनले विशेष पाहुना र निकै नजिकका व्यक्तिलाई मात्रै त्यहाँ लाने गरेको एजेन्सीहरूको भनाइ छ । योसँगै उनीसँग अरू धेरै सम्पत्ति छ ।

६. अचम्मको फोन 

किम जोङ उनसँग एउटा अचम्मको फोन छ । उनको यो फोन एचटिसीले निर्माण गरेको जनाइएको छ । यद्यपि, यसको मोडेलबारे अरूलाई जानकारी छैन । यो फोन उनका लागि सुरक्षित छ । उनले यो फोनमार्फत गरेको कुराकानीलाई अरूले कुनै पनि माध्यमबाट थाहा पाउन सक्दैनन् । 

७. स्की रिसोर्ट 

किम जोङ उनको आफ्नै रिसोर्ट पनि छ, जसलाई मासिक्रियोङ स्की रिसोर्ट भनिएको छ । उक्त रिसोर्ट तइवा चुचुरोको शिरमा छ । रिसोर्टमा एक सय २० वटा कोठा छन् । पिरामिड शैलीको यो रिसोर्टले एकपटकमा पाँच हजारजनालाई सेवा दिन सक्छ ।

८. एयर फोर्स 

उत्तर कोरियाको एयर फोर्समा एक लाख १० हजार सदस्य छन् । उनीहरूका लागि किम जोङ उनसँग विभिन्न प्रकारका नौ सय ४० जहाज छन् । त्यसमध्ये धेरै सोभियत र चीनमा बनेका छन् ।

९. रुग्योङ होटेल

किम जोङ–उनको होटेल पनि छ, जसको नाम द रुग्योङ राखिएको छ । एक सय पाँच तलाको यो होटेल किम जोङ उनका हजुरबुबाको पालामा बनाउन सुरु गरिएको थियो । सन् १९८९ मा निर्माण सुरु गरिएको यो होटल २६ वर्षपछि सन् २०१५ मा पूरा भएको थियो ।

१०. कुम्सुसान प्यालेस अफ द सन

यो उत्तर कोरियाकै ठूलामध्येको एक दरबार हो । यो दरबार पनि किम जोङ उनका हजुरबुबाप्रति समर्पित गरिएको संरचना हो । यसलाई कोरियाली कम्युनिस्ट नेताप्रति समर्पित गरिएको अहिलेसम्मकै ठूलो संरचनाका रूपमा पनि चिनिने गरिएको छ ।