मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १४ शुक्रबार
  • Friday, 26 February, 2021
२०७७ माघ ९ शुक्रबार ०८:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर : मनाङका सेता हिमाल कालापत्थर बन्दै

Read Time : > 1 मिनेट
२०७७ माघ ९ शुक्रबार ०८:२४:००

विगतमा मंसिर सुरु नहुँदै मनाङका डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । उत्तर र पश्चिमतिर सेता हिमाल टल्किन्थे । तर, केही वर्षयता हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा मनाङका सेता हिमाल कालापत्थरमा परिणत भएको छ ।

हिमाली जिल्ला मनाङमा गत वर्ष मंसिर पहिलो साता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । तर, यस वर्ष सिजनमा समेत त्यति धेरै हिमपात भएको छैन । हिमपातमा भारी गिरावाट आउन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

मनाङ पिसाङका छिरिङ नेस्याङ गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछन् । विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश बनेका छन् । ‘विगतमा जाडोयाममा हिउँले मनाङका डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला बन्दै गएका छन्,’ गुरुङ भन्छन् ।

पहिले ६/७ फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको गुरुङ बताउँछन् । मनाङको गंगापूर्ण हिमाल, लमजुङलगायतका हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि मनाङको तापक्रमसमेत बढ्न थालेको छ । मनाङका हिमनदी पग्लने क्रम बढेको छ । वर्षांैदेखि मनाङवासीले जलवायुको परिवर्तन प्रत्यक्ष रूपमा भोग्दै आएका छन् ।

मनाङको माथिल्लो क्षेत्रमा २१ पुसमा केही मात्रामा हिमपात भएको थियो । तर, तल्लो क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२ थान्चोकका किसान कुलबहादुर घले बताउँछन् ।

उनका अनुसार गत वर्ष २८ मंसिरदेखि नै मनाङको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । ‘हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायतका बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन,’ उनले भने ।

हिमपातले स्याउ साथै आलु, करु, गहुँ, फापर र तरकारी बालीलाई राम्रो चिस्यान पुग्‍ने उनले बताए । हिउँ पर्न छाडेपछि मनाङका लेक र खर्कहरूमा पाइने यार्सागुम्बालगायतका बहुमूल्य जडीबुटी पनि पाइन छाडेको छ । सिजनमा समेत हिमपात नहुँदा मनाङका अधिकांश किसान चिन्तित बनेका छन् । सिजनमा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दामसेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । 
तस्बिर सौजन्य : छिरिङ नेस्याङ गुरुङ