१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
गुरुराज घिमिरे
२o८१ जेठ १ मंगलबार १o:१३:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

ओलीतन्त्रबाट लोकतन्त्रमा फर्कौँ

Read Time : > 4 मिनेट
गुरुराज घिमिरे
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१३:oo

ओलीद्वारा भएको संविधानमाथिको आक्रमण वर्तमान राजनीतिक प्रणालीमाथिको आक्रमण हो

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभाको असंवैधानिक विघटन गरेपछि मुलुकको राजनीतिमा अनेक थरी बहस सुरु भएका छन् । गज्जबको संयोग त के देखिन्छ भने ०५९ साल असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चालेपछि देश दौडाहा गरी आफ्नो कदमको जसरी बचाउ गर्नेे कोसिस गरेका थिए, त्यसैगरी प्रधानमन्त्री ओली कहिले राष्ट्रिय सभा त कहिले प्रदेश–७ को पार्र्टी भेला अनि कहिले भारतीय सञ्चार माध्यममार्फत आफ्नो असंवैधानिक कदमको बचाउमा लागेका छन् । यसका लागि उनले सत्ता र राज्य संयन्त्रको चरम दुरुपयोग गरिरहेका छन् । यस सन्दर्भमा तत्कालीन राजाका तर्क जति वाहियात, अलोकतान्त्रिक र संविधानको मर्मविपरीत सुनिन्थ्यो, त्यसलाई पनि उछिन्ने गरी प्रधानमन्त्रीले कसरत गरिरहेको पाइन्छ । 

सत्ताको राप र तापमा मग्न शासकहरूको आधारभूत विश्वव्यापी चरित्र नै यही हो । त्यसमाथि कम्युनिस्ट पार्टीको अधिनायकवादी पाठशालाबाट दीक्षित शासकहरूको बुझाइ र निरंकुश मानसिकताको तुलना हिटलर र मुसोलोनीसँग मात्रै गर्न सकिन्छ । संसारभरिको कटु अनुभवले यही कुरा बताउँछ । नेपालको वर्तमान संविधानमा किटानी व्यवस्था भएको बाटो भत्काएर जतासुकै हिँड्न खोज्नु असंवैधानिक र अलोकतान्त्रिक मात्र होइन, बिल्कुलै गैरराजनीतिकसमेत हो । यतिखेर नेपाल राष्ट्र र नेपाली जनताले यस्तै नियति झेलिरहेका छन् । र, लामो संघर्ष र सकसपूर्ण प्रसव वेदनाबाट गुज्रिदैँ संविधानसभाले बनाएको संविधानलाई ‘कोमा’मा पुर्‍याउने भगीरथ दुष्प्रयत्न भएको छ र यो जारी छ । 

अहिले ओलीइतरका राजनीतिक दलहरू के गर्दै छन् त ? खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस के भन्दै छ र के–कस्ता गतिविधि चलाइरहेको छ– सर्वत्र चासोका साथ हेरिएको छ । नेकपाको प्रचण्ड–नेपाल समूह, समाजवादी जनता पार्टीलगायत अरू पनि राजनीतिक दलहरू सडकमा छन् । एकप्रकारले सिंगो देश प्रधानमन्त्रीको निरंकुश कदमको विपक्षमा छ । नागरिक समाज, संविधानविद, राजनीतिशास्त्री, सर्वसाधारण सचेत नेपाली जनता र युवा पुस्ताको ठूलो समूह यस कदमलाई घोर संविधानविरोधी ठान्छन् । र, सबैको आँखा र ध्यान नेपाली कांग्रेसतर्फ सोझिएको छ । आन्दोलनका कार्यक्रम घोषणा गरेर जनतामाझ जान थालेको कांग्रेसले अरू के गर्नुपर्छ र यस्तो घडीमा कांग्रेसको भूमिका के हुनुपर्छ, थोरै यस विषयमा चर्चा गर्दा सान्दर्भिक हुनेछ ।

०३२ साल माघमा बिपी कोइरालाले आफूले राष्ट्रिय एकता र मेलमिलापको नीति अख्तियार गरी केही समयपछि नेपाल फर्किने योजना बनाएको कुरा आफ्ना साथीहरूलाई बताउन भारतको दरभंगामा बृहत् भेला बोलाउनुभएको ऐतिहासिक सन्दर्भ इतिहासका अध्येता सबैलाई थाहै छ । त्यस भेलामा उहाँले आफू नेपाल फर्किनुका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण, आवश्यकता र औचित्य औँल्याउँदै महत्वपूर्ण विचार राख्नुभएको थियो । उहाँले पार्टीका साथीहरूसमक्ष राख्नुभएका विचारले समग्र कांग्रेस पार्टीलाई एउटै विचार र बाटोमा हिँडाउन निर्णायक भूमिका खेलेको थियो । बिपीलाई व्यक्तिगत रूपमा असाध्यै श्रद्धा र प्रेम गर्ने साथीहरूले उहाँको जीवनमाथि उच्च जोखिम देखाएर नेपाल नफर्किन गरेको आग्रहप्रति आभार प्रकट गर्दै उहँँले ती सबै साथीहरूलाई विनम्रतापूर्वक नेपालको जोखिमपूर्ण भविष्यको खतरा औँल्याइदिनुभएको थियो । 

आजको परिस्थितिमा कांग्रेस नेतृत्वसामु समयले खडा गरेका गम्भीर चुनौती छन् । यसलाई समयमै बुझेर कदम चाल्नु वर्तमान नेतृत्व र पार्टीको दायित्व तथा कर्तव्य दुवै हो ।

कांग्रेसले तत्कालै उक्त कदम नचाल्दा राष्ट्रिय अस्मितामा उत्पन्न हुन सक्ने गम्भीर खतरा देखाइदिनुभएको थियो । राष्ट्रिय एकताको आधार रहेको लोकतान्त्रिक संसदीय शासन प्रणालीको अन्त्य गरेर राजा गलत बाटोतर्फ अग्रसर रहेको, जनता र राजाबीच डरलाग्दो पर्खाल खडा गरिएको, छिमेकी राष्ट्रको नेपालप्रतिको रबैया नकारात्मक रहेको तथा देशको सार्वभौमिकता नै खतरामा रहेकाले यस्तो घडीमा आफ्नो जीवनमाथिको खतरालाई गौण ठहर्‍याउँदै उहाँले आफू नेपाल फर्किनुपर्ने औचित्य सिद्ध गर्नुभएको थियो । अन्तिम समयसम्म बिपीको निर्णयमा असहमत रहनुभएका वरिष्ठ नेता गणेशमान सिंहसमेत ०३३ साल पुस १६ गते नेपाल फर्किनुभएको थियो । नेपालको इतिहासमा कांग्रेसले अख्तियार गरेको त्यो दूरदृष्टिपूर्ण नीति र बिपीको ऐतिहासिक कदमले राष्ट्रलाई जोखिमबाट जोगाएको थियो ।

आज फेरि नेपाल गम्भीर संकटको डिलमा उभिएको छ । सतहमा देखिँदा अहिलेको राजनीतिक घटनाक्रम नेकपाको अन्तरकलहको परिणाम देखिन्छ, तर यसको अन्तर्यमा धेरै रहस्य छन् । वर्तमान प्रधानमन्त्री देखिएजस्ता न राष्ट्रवादी हुन्, न लोकतन्त्रवादी । उनि बाँचुन्जेल सत्तामा बसिरहन चाहन्छन् । यसका लागि जुनसुकै हदमा जाने चरित्र देखिइसकेको छ । त्यसैका लागि संसद् विघटन गरिएको हो । उनको मनोविज्ञानको झलक राष्ट्रिय सभामा पनि देखियो । विपक्षी सांसद बोल्दै गर्दा अशिष्ट रूपमा दुई–दुईपटक थुक्नु उनको निकै असामान्य व्यवहार हो । नेपालमा प्रतिबन्धितसमेत भइसकेको भारतीय न्युज च्यानल ‘जी न्युज’का प्रधान सम्पादक सुधीर चौधरी नेपालप्रतिको भारतीय रबैयाका प्रवक्ता हुन् । र, त्यस च्यानलमा प्रधानमन्त्रीको अन्तर्वार्ता बिलकुलै प्रायोजित हो । यो सबै गम्भीर प्रपञ्चबाहेक केही होइन । देश र जनतालाई रुवाएर नेपाललाई स्वतन्त्र देशसमेत मान्न तयार नहुने समाचार माध्यमबाट उपदेश छाट्नुको कुनै अर्थ छैन । नेपाली जनता अब यस्तो कच्चा नाटकसँग झुक्किँदैनन् ।

यस्तो वेलामा कांग्रेसका नेताहरूको एक स्वर हुनुपर्छ । प्रमुख कुरा त देश कहाँ छ, भन्ने थाहा पाउनुपर्छ । ओलीद्वारा भएको संविधानमाथिको आक्रमण वर्तमान राजनीतिक प्रणालीमाथिको आक्रमण हो । विधि र पद्धतिमाथि खुलेआम धाबा बोल्ने प्रधानमन्त्रीसँग के आस गर्ने ? यसबाट उनी चुनाव गराउन चाहँदैनन् भन्ने कुरा स्पष्ट हुन्छ । अबको चुनाव उनका निम्ति राजनीतिक मृत्युु हो । अनि त्यस्तो चुनाव किन गर्ने ? अब राष्ट्रवादको फसल पाक्नेवाला छैन । उनलाई थाहा छ, चुनाव भनेको राजनीतिक दलका निम्ति माछा मार्ने बल्छी हो । चुनावी बल्छी थापेर सत्ता लम्ब्याउनु उनको चतु¥याइ मात्रै हो । वैशाखमै चुनाव हुने ग्यारेन्टी के ? भत्काइएको संसद् यति चाँडै किन फर्काउने ? आफू ढाक्रे हुने संसद् किन ल्याउने ? संविधानविपरीत काम गरेर जे गरेँ, ठीक गरेँ भन्नुको मतलब के ? अदालतलाई धम्क्याउँदै हिँड्नुको अर्थ के ? तसर्थ ओलीको इन्द्रजालमा अलमलिनु राष्ट्र र जनताका लागि पटक्कै हितकर छैन ।

कांग्रेसले सात प्रदेशमा अगुवा नेता–कार्यकर्ताको भेला बोलाउनु यतिवेला निकै सान्दर्भिक हुन्छ । देश राष्ट्रिय संकटमा फसेको वेला पार्टीका साथीहरूसँग परामर्श गर्नु पार्टीको स्थापित परम्परा पनि हो र यो उपयुक्त हुन्छ पनि । कांग्रेसका शीर्ष नेताहरू एकैठाउँमा बसेर गम्भीर छलफल गर्नुपर्छ । अहिले पार्टीभित्रको हिसाब–किताब गर्ने समय होइन । सबभन्दा पहिला त देशलाई ओलीतन्त्रबाट लोकतन्त्रमा फर्काउनुपर्छ । यसका निम्ति घरसल्लाह आवश्यक छ । गाउँमा डढेलो लागेको वेला घरझगडा चर्काएर बस्नु निकै मूर्खतापूर्ण हुन्छ । बिपीले कांग्रेस सभापतिको हैसियतले उक्त ऐतिहासिक कदम चाल्नुभएको थियो । र, कदम उठाउनुअघि आफ्ना साथीहरूलाई बताउनुभएको थियो । आज ठीक त्यस्तै घडीमा हामी छौँ । 

नेपाललाई आफ्नो क्रीडास्थल बनाउने विदेशी प्रयत्न जारी छ । ठूला देशहरूको नेपालको राजनीतिमा खुला हस्तक्षेप छ । सत्तामा राजाभन्दा खतरनाक प्रवृत्ति बसेको छ । अनि कांग्रेस निर्णायक हुनुपर्दैन ? समयको पदचापलाई बुझ्नुपर्दैन ? लोकतन्त्रका शुभचिन्तकहरू प्रश्न गर्छन्, यस्तो जटिल समयमा गम्भीर छलफल खै ? प्रतिकूल राजनीतिक परिस्थितिमा जनतालाई आश्वस्त पार्ने विचार र व्यवहार खै ? के कांग्रेसको जीवनदायिनी शक्ति सकिएको हो ? नत्र जागृत भएको खै ? तसर्थ वर्तमानको जटिलता र अन्योललाई चिर्न एकैथलोमा भेला भएर पार्टीका नेता र साथीहरूबीच विमर्श गर्नु आजको राष्ट्रिय आवश्यकता हो । संसद् विघटनले वर्तमान राजनीतिक प्रणालीको अवसानलाई प्रोत्साहन गरेको छ । ओलीको राष्ट्रियता र लोकतन्त्रको रागमा अलमलिनु देशहितमा पटक्कै छैन । यसका लागि एउटै उदाहरण काफी छ, ओलीको पछिल्लो अन्तर्वार्ता । 

हामी सबै भाषालाई आदर गर्छौं, हिन्दी भाषालाई त झन् मन पनि पराउँछौँ । अनौपचारिक रूपमा बोल्छौँ पनि । यसको अर्थ आफ्नो पहिचान र भाषा भुलेर पछि त लाग्दैनौँ । आफ्नै निवासमा राष्ट्रिय झण्डामुनि बसेर नेपाललाई हदैसम्मको अपमान गर्नेे सञ्चार माध्यमसँग गैरनेपाली र गैरअन्तर्राष्ट्रिय भाषामा वार्तालाप गर्नु सामान्य कुरा होइन । यस घटनाको नेपालको इतिहासले गम्भीर मूल्यांकन गर्नेछ । त्यसैले आजको परिस्थितिमा कांग्रेस नेतृत्वसामु समयले खडा गरेका गम्भीर चुनौती छन् । यसलाई समयमै बुझेर कदम चाल्नु वर्तमान नेतृत्व र पार्टीको दायित्व तथा कर्तव्य दुवै हो । 

ad
ad