मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
गुरुराज घिमिरे
२०७९ मङ्सिर १३ मंगलबार ०६:५९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चुनावबाट सिक्नुपर्ने पाठ

अहिलेको निर्वाचन परिणामपछि कुनै पनि दलको बहुमत नभएको खिचडी संसद् बन्ने पक्का भएकाले अबको पाँच वर्ष देशका लागि सहज हुनेछैन

Read Time : > 5 मिनेट
गुरुराज घिमिरे
२०७९ मङ्सिर १३ मंगलबार ०६:५९:००

नेपालमा संघीय प्रणाली प्रारम्भ भएपश्चात् दुईवटा संसदीय चुनाव सम्पन्न भए । चुनावबाट संसदीय राजनीतिमा केही नयाँ पात्रको उदय भए पनि अधिकांश पुरानै अनुहार छन्, जसलाई नेपाली समाजले भलिभाँती चिनेको छ । यिनै पात्रहरूले राजनीतिक सुधारको दायित्वबोध गरी काम गर्नुपर्ने चुनौतीपूर्ण अवस्था छ, किनभने सरकार र पार्टी चलाउने जिम्मेवारी यिनै पात्रको काँधमा छ ।

चुनावबाट नयाँ दलहरूको उदयसमेत भएको छ । पुराना दलहरूको संसदीय हैसियतमा समेत फेरबदल भएको छ । पार्टी स्थापनाको ६ महिना पनि नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलका रूपमा उदाएको छ । अबका दिनमा अहिलेकै चुनावी गठबन्धन कायम रहन्छन् या रहँदैनन् र नेपालको राजनीतिले कुन बाटो समात्छ भन्ने विषयमा आमचासो छ । यसको समुचित जवाफ पाउन केही समय पर्खनैपर्छ । एउटा कुरा भने प्रस्ट छ, कुनै पनि दलको बहुमत नभएको खिचडी संसद् भएकाले अबको पाँच वर्ष त्यति सहज हुनेछैन । यस्तो परिस्थितिमा राजनीतिक नेतृत्वले सुझबुझ देखाउन सक्यो भने मात्र आगामी यात्रा सुगम र सहज हुन सक्छ । अन्यथा भविष्यका पाँच वर्ष पुनः निरर्थक हुने प्रबल सम्भावना छ ।

२०४८ यता जम्मा ११ वटा चुनाव भएछन्, जसमा सातवटा संसदीय चुनाव (संविधानसभासमेत) र चारवटा स्थानीय चुनाव पर्छन् । सबै चुनावको अग्रणी र सक्रिय प्रचारक हो यो पंक्तिकार । यस्ता पात्र र सहयात्री धेरै छन्, जसको लेखाजोखा राजनीतिक दलहरूमा कमै छ । सबै चुनावमा श्रम, मिहिनेत र योग्यता खन्याएका कारण केही विशिष्ट अनुभव भएका हामीजस्ता धेरै सदस्य छन्, जो सदैव उपेक्षित र तिरस्कृत छन् । ‘नेपालमा दक्षताले महŒव पाउँदैन र योग्यताको कदर हुँदैन ।’ शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको विचार हो यो । आजसम्म नेपाल अघि नबढ्नुमा यही प्रमुख कारण जिम्मेवार छ । समाजमा राम्रा र सज्जन मानिस बग्रेल्ती छन्, जसलाई लाचार र कमजोर मानिसको संज्ञा दिइन्छ ।

टाठाबाठा र धूर्त मानिसले समाजलाई आफ्नो इसारामा फनफनी नचाएका छन् । बेइमानी, छलकपट र अवसरवाद व्यक्तिको अघि बढ्ने न्यूनतम योग्यता प्रमाणित भएको छ । छट्टु र स्वार्थी व्यक्तिहरू सदैव पुरस्कृत छन् । समाजका  अगुवाले पनि यस्तै व्यक्तिलाई आफ्नो वैयक्तिक स्वार्थका निम्ति विश्वास गर्छन् र अघि बढाउँछन् । राजनीतिक दलको चरित्रसमेत समाजकै चरित्रको अंश न हो, जसले दलहरूलाई खर्लप्प निलेको छ र वशमा पारेको छ । दलभित्रका सोझा र सज्जन मानिस रमिते छन् । मौरीका प्रकारमध्ये कर्मी मौरीले चाका बनाउँछ, मह जम्मा गर्छ, घार जोगाउँछ । भाले मौरी घुमिघुमी खान्छ । मरिमेटेर काम गर्ने व्यक्तिले संस्था बचाउँछ, धूर्त व्यक्तिले ढलिमली गर्छ, भाले मौरीजस्तो । अनि न संस्था, न समाजको उन्नति हुन्छ । हामी वर्षौंदेखि यही चपेटामा परेका छौँ ।

आजभन्दा अघि नेपालमा भएका सबै आमनिर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा ग¥यो । यसपल्ट गठबन्धन बनाएर चुनावमा गयो । ०७४ को आमनिर्वाचनबाट कम्युनिस्टहरूले गठबन्धनको परम्परा सुरु गरे । एमाले र माओवादी मिल्नु कुनै अनौठो कुरा थिएन । तर, यसपटक राष्ट्रिय आवश्यकताको तर्क र त्यसैको जगमा पाँचदलीय गठबन्धन भयो । भिन्न विचार, सिद्धान्त र दर्शन भएका पार्टीहरूले तालमेल गरी चुनावी प्रतिस्पर्धा गरे र परिणाम निकाले । तर, परिणामबाट कोही पनि सन्तुष्ट छैन । खासगरी कांग्रेस र माओवादी दुवै दलमा यो असन्तुष्टि ज्यादा देखिन्छ । एकीकृत समाजवादीका नेताले त गम्भीर आरोप नै लगाए । दलहरूलाई प्राप्त सिट अपेक्षाकृत कम छ र कतिपय ठाउँमा त कमजोरी पनि छ । मूल कुरा त यसपटकको गठबन्धन निकै जटिल थियो ।

कांग्रेस मतदाताहरू जीवनमा पहिलोपटक राष्ट्रव्यापी रूपमा माओवादी र एकीकृत समाजवादी दललाई मतदान गर्दै थिए र माओवादी तथा समाजवादी मतदाता कांग्रेसलाई । लोसपा र जनमोर्चाको समेत यही अप्ठेरो थियो । एकअर्कालाई मतदान केका लागि भनेर दुवै दलले समयमै प्रस्ट्याउन सकेनन् । स्वस्फुर्त मतदान हुन सम्भव थिएन । समय क्रममा वातावरण बन्दै गयो तर समय घर्किसकेको थियो । एकअर्काको सम्पूर्ण मत आदानप्रदान हुन सकेन । फेरि अर्को कुरा, कतिपय ठाउँमा त उम्मेदवार र दल नै एकअर्काप्रति पूर्वाग्रही देखिए । सहयात्री दलको मत लिने तर आफ्नो मत चाहिँ नदिने प्रवृत्ति हाबी भयो । यसबाट धेरै उम्मेदवार सिकार भए ।

यसपटकको गठबन्धन निकै जटिल थियो । कांग्रेस मतदाताहरू जीवनमा पहिलोपटक राष्ट्रव्यापी रूपमा माओवादी र एकीकृत समाजवादीलाई मत दिँदै थिए र माओवादी तथा समाजवादी मतदाता कांग्रेसलाई । लोसपा र जनमोर्चाको समेत यही अप्ठेरो थियो ।
 

अब के हुन्छ त ? : अब के हुन्छ भनेर प्रश्न गर्दा जोसुकैले सहजै भनिदिन्छ, केही पनि हुँदैन । आजसम्म जे हुँदै आयो, त्यही हुन्छ । नेपालको राजनीति सुनिँदैन, भन्ने नकारात्मक जनधारणालाई बदलेर आजसम्म जानी–नजानी गरेका गल्ती कमजोरी दोहोरिन नदिन के गर्ने ? यसको थालनीको तयारी गर्ने कि नगर्ने ? अब पनि परम्परागत ढंगले सोच्ने र काम गर्ने हो भने समाजको प्रगति सम्भव छ त ? हाम्रो समाजले खोजेको प्रगति हासिल गर्ने उपाय के हुन सक्छ ? यसमा चिन्तन गर्ने कसले ? कार्ययोजना बनाउने कसले ? लागू गर्ने कसले ? सपना, अठोट र पागलपन भएको नेता को हो ? राष्ट्र निर्माणका लागि थोरै बहुलठ्ठीपन चाहिन्छ । र, काममा अग्रसरता देखिनुपर्छ । राजनीतिक चेतनाको दृष्टिकोणले आधा नेपाल अझै पनि पछौटे नै छ र आर्थिक हिसाबले गरिब छ । यतिका वर्षसम्म भएका काम न्यून र अपर्याप्त छन् । विकासको रुपरेखा नै स्पष्ट छैन, आधारशिला अत्यन्त कमजोर छ । विकासको मोडेल नै उपयुक्त छैन । आजसम्म भरपर्दो र दिगो विकासको सुरुवात नै भएन । 

अब के गर्ने त ? : यतिवेला गम्भीर रूपमा चिन्तन गर्ने र अग्रसरता लिने समय आएको छ । तर, राजनीतिक स्थायित्व नहुने खतरा निर्वाचनको परिणामले देखाएको छ । दलहरूले परिपक्वता नदेखाए संसद्ले पाँच वर्ष आयु पूरा नगर्न सक्छ । यस्तो समयमा नेतृत्वले बुद्धिमत्ता देखाउनुपर्छ । अब के गर्ने त भन्ने विषयमा देहायका सुझाब उपयुक्त हुन सक्छन् :

नेतृत्वमा छिनाझप्टी नगर्ने :  चुनावपछिको अबको चासो दलको नेता को हुने भन्ने हो । पहिलो कुरा त गठबन्धनसँग फराकिलो बहुमत छैन । थप अरू दलहरूको जोडजाडले मात्र सरकार बन्न सक्ने अवस्था छ । त्यसैले गठबन्धनका दलहरूले आ–आफ्नो संसदीय दलको नेता सर्वसम्मतिले चयन गर्नुपर्छ । एक त निर्वाचन परिणाम चित्तबुझ्दो छैन । त्यसमाथि दलको नेता चयनमा हानथाप भयो भने जनतामा राम्रो सन्देश जाँदैन । खुला दिमाग र मित्रतापूर्ण छलफल गर्ने हो भने यसमा कुनै समस्या देखिँदैन । कांग्रेसले वर्तमान समयको संकट र चुनौती बुझेर अघि बढ्ने हो भने एकमतले नेता छान्न सक्छ । देखिएका विकल्पमध्ये सबैभन्दा राम्रो विकल्पमा सहमति जुटाउनु राम्रो हुन्छ । संसदीय दलको नेता सर्वसम्मत भयो भने यो निर्णय कांग्रेस पुनर्जीवनको प्रस्थानबिन्दु हुन सक्छ । यसका निम्ति दलको नेता चयनमा जसले त्यागको भावना प्रदर्शन गर्छ, उसले कार्यकर्ताको मन जित्छ र जनतामा समेत राम्रो सन्देश जान्छ । यसले कांग्रेसको छविलाई उजिल्याउँछ । यदि सहमति सम्भव नभए मित्रवत् प्रतिस्पर्धा गर्ने र परिणामलाई सहज रूपमा लिनेबाहेक अर्को विकल्प छैन ।

सरकारमा नयाँ मान्छे पठाउने : दलहरूले  सरकार विस्तार गर्दा नयाँ व्यक्ति पठाउनुपर्छ । राजनीतिक नियुक्ति र सरकारी अवसरमा योग्य र क्षमतावान् व्यक्तिलाई मौका दिनुपर्छ । लोकतन्त्र भनेको अवसरको समुचित, न्यायोचित र सन्तुलित वितरण हो । लाखौँ मतदाता र शुभेच्छुकको समर्थन र सद्भावमा खडा भएका राजनीतिक दलहरूमा सीमित व्यक्तिको हालिमुहाली चलिरहनुलाई सच्चा लोकतन्त्र मानिँदैन । अर्को, निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता लोकतन्त्रको आधारभूत सर्त हो । नेपालमा सरोकारवालाको हैसियत रैतीसरह छ । यस्तो स्थितिबाट पार्टी र देशलाई मुक्त गर्न अहिले व्याप्त बेथितिलाई अन्त्य गर्नुपर्छ । अहिले राजनीतिक दलसँग भएको जनशक्तिले देशको आवश्यकतालाई धान्दैन । र, लोकतन्त्र भनेको ‘गुणतन्त्र’ पनि हो, भिडतन्त्र होइन । व्यक्तिको योग्यता र क्षमता प्रमुख कुरा हो । आजसम्म यस सिद्धान्तको पालना र अनुशरण पटक्कै भएन । जनताले पार्टीका गतिविधि नियालिरहेका हुन्छन् । राम्रा र गलत कामबारे जानकारी लिने र मूल्यांकन गर्ने गरिरहेको हुन्छ । त्यसैका आधारमा जनधारणा बन्छ । दलहरूले जनताको विवेकलाई नजरअन्दाज गर्नु हुँदैन ।

प्रायश्चित्तको भावनाले काम गर्ने : नेपालको राजनीति पछिल्लो समय धेरै बिग्रेको छ । राजनीतिमा जे पनि हुन्छ भन्ने बुझाइ व्याप्त छ । नेपाली नागरिक निर्दोष छन् । नेता र राजनीतिक दललाई सदैव साथ दिन्छन् । तर, यतिका वर्षसम्म कहिले राणा र कहिले पञ्चायतले नेपाली नागरिकमाथि चरम विभेद र शोषण ग¥यो । प्रजातन्त्र कालले समेत जनताको मन जित्ने काम गर्न सकेन । गणतन्त्र कालसमेत भद्रगोल छ । राजनीतिक प्रणाली बदलिएर केही हुँदो रहेनछ । कागजमा लेखिएका सिद्धान्तलाई व्यवहारमा नउतारेसम्म जनताको जीवनमा कुनै फेरबदल नआउँदो रहेछ । अब सुध्रिने अन्तिम मौका छ । समयले यो मौका कांग्रेसलाई दिएको छ । यसलाई सदुपयोग गर्न सक्नुपर्छ । जति बिग्रिने हो बिग्रिसक्यो, नत्र नेपाल कम्तीमा मध्यम आयको मुलुक बनिसक्थ्यो । 

यो दोषको जिम्मा हामीले नै लिनुपर्छ । र, अब राम्रो गर्छौं भनेर क्षमता देखाउनुपर्छ । हामीलाई इतिहासले अवसर दिएको छ । यसलाई सदुपयोग गर्नैपर्छ । कम्तीमा पार्टीका उच्चपदस्थ नेताहरूले आफ्नो दायित्व बुझेर बलियो आन्तरिक एकता कायम गर्नुपर्छ । जसले देशको शासन र पार्टीको बागडोर सम्हालेको छ, उसैले नयाँ शिराबाट गतिलो सुरुवात गर्नुपर्छ । अन्य दलहरू पनि राष्ट्रिय स्वार्थमा एकढिक्का हुनुपर्छ । मौका पाउँदा पनि केही नगर्ने र राम्रो गर्न कोसिस पनि नगर्ने नेता र दललाई जनताले पुनः मौका दिँदैनन् । हामीले प्राप्त मौका खेर फालेका छौँ, अब थप खेर जान दिनुहुँदैन । राम्रो सुरुवातबाटै विगतको गल्तीको प्रायश्चित्त पनि हुनेछ ।
 (घिमिरे कांग्रेस नेता हुन्)