मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:११:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्दियाका थारू समुदायमा ११ प्रतिशतलाई सिकल सेल संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:११:००

बर्दियाका थारू समुदायमा ११ दशमलव ३ प्रतिशतमा सिकल सेल डिसअर्डर (समस्या) रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ०७४ साउनदेखि ०७६ पुससम्म गरेको अध्ययनमा यो समस्या देखिएको हो । 

अध्ययनका क्रममा २.४ प्रतिशत थारू महिला सिकल सेल रक्तअल्पताबाट संक्रमित रहेकोसमेत पुष्टि भएको छ । सात सय ८१ जनामा गरेको ‘प्रिभलेन्स अफ एनिमिया अमङ द रिप्रोडक्टिभ एज ग्रुप अफ फिमेल’ शीर्षकको अध्ययनमा १९ जना अर्थात् २.४५ प्रतिशत थारू महिलामा सिकल सेल रक्तअल्पताबाट संक्रमित पाइएको परिषद्को प्रतिवेदनमा उल्लेख छ । 

परिषद्ले बर्दियाका थारू समुदायका २० हजारजनामा अध्ययन गरेको थियो । उनीहरूमध्ये दुई हजार दुई सय ५६ जना अर्थात् ११ दशमलव ३ प्रतिशतलाई सिकल सेल डिसअर्डर भएको पत्ता लागेको अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले बताए । त्यसैगरी दुई हजार एक सय ११ जना अर्थात् १० दशमलव ६ प्रतिशतमा सिकल सेल ट्रेट थियो भने एक सय ४५ जना अर्थात् शून्य दशमलव ७ प्रतिशतलाई सिकल सेल रोग भएको पाइएको थियो । 

सिकल सेलको समस्या भएकाहरूले बारम्बार ज्वरो आउने, टाउको दुख्ने, जोर्नीको दुखाइजस्ता समस्या हुने गरेको बताएका थिए । त्यस्तै सिकल सेल डिसअर्डर भएकामध्ये ६७ जनामा ज्वरो आउने, ५४ जनामा टाउको दुख्ने, ५४ जनामा हैन्ड–फुट सिन्ड्रोम र ४८ जनामा जोर्नीको दुखाइको लक्षण देखिएको पाइएको छ । 

सबैको पारिवारिक इतिहासको जानकारी दिएर उनीहरूको रगतको नमुना संकलन गरिएको थियो । अनुसन्धानमा ११ देखि २० वर्ष समूहका व्यक्ति थिए ।

के हो सिकल सेल डिसअर्डर ?
सिकल सेल डिसअर्डरलाई सिकल सेल रक्तअल्पता वा सिकल सेल रोग पनि भनिन्छ । यो रोग रगतमा हुने तत्व हेमोग्लोबिनको गडबडीका कारण हुने साधारण आनुवंशिक अवस्था हो । यस्तो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोग्लोबिन अणुहरू हुन्छन् । जसले सामान्य रातो रक्तकोषलाई हँसिया वा अर्धचन्द्र आकारको स्वरूपमा परिवर्तन गर्छ ।