१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी म्याड्रिड
२o८१ बैशाख २० बिहीबार १९:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

७५३औँ खेलमा मेसीले व्यहोरे रातो कार्ड

Read Time : > 1 मिनेट
एजेन्सी म्याड्रिड
नयाँ पत्रिका म्याड्रिड
२o८१ बैशाख २० बिहीबार १९:३९:oo

अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेसी मैदानमा खासै ‘रफ’ खेल्दैनन् । क्लब तथा अर्जेन्टिनी टोलीमा उनलाई एक आदर्शवान र उदाहरणीय खेलाडीका रूपमा लिने गरिन्छ । ‘फेयर प्ले’ रुचाउने मेसीले आइतबार क्लबस्तरीय प्रतिस्पर्धामा पहिलोपटक रातो कार्ड व्यहोरेका छन् ।

बार्सिलोनाले स्पेनिस सुपर कप फाइनलमा एट्लेटिको बिल्बाओविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलको अन्तिम इन्जुरी समयमा मेसीले धैर्यता गुमाउँदा रातो कार्ड पाए । खेलको १२०औँ मिनेटमा विपक्षी टोलीका खेलाडी एसियर भिलाब्रेलाई अभद्र व्यवहार गरेको भन्दै रेफ्रीले मेसीलाई रातो कार्ड देखाएका हुन् । 

खेलकै दोस्रो तथा अन्तिम इन्जुरी समयमा बार्सिलोनाले काउन्टर एट्याक गरेको थियो । बल लिने प्रयासमा मेसीले एट्लेटिकोका स्ट्राइकर एसियरलाई मैदानमा लडाएका थिए । भिडियो रिप्लेमा मेसीले नियतवश नै एसियरलाई हात राखेको देखिन्थ्यो । एसियर मैदानमा लड्दा नजिकै रेफ्री थिए । उनले मेसीलाई रातो कार्ड देखाउन कुनै समय खेर फालेनन् । 

त्यसपछि बार्सिलोनाले कप्तान मेसीविना दश खेलाडीमै प्रतिस्पर्धा ग¥यो । स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोना एट्लेटिकोसँग ३–२ ले पराजित हुँदै उपविजेतामा सीमित भयो । एट्लेटिकोका लागि विजयी गोल इनाकी विलियम्सले गरेका थिए । इन्जुरी समयको अन्तिममा गोल गर्दै उपाधि जित्ने एट्लेटिको दोस्रो क्लब हो । यसअघि सन् १९८५ मा सेभिल्लाले यस्तै किसिमले गोल गर्दै स्पेनिस सुपर कपको उपाधि उचालेको थियो । 

एट्लेटिको बिल्बाओले सेमिफाइनलमा रियल म्याड्रिडलाई २–१ ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । सन् १९६० पछि एट्लेटिकोले ब्याक टु ब्याक खेलमा रियल म्याड्रिड र बार्सिलोनालाई हराएको यो पहिलोपटक हो । बार्सिलोनाबाट १८ सिजन खेलिरहेका मेसीले सात सय ५३औँ खेलमा रातो कार्ड खाँदा कुनै प्रतिक्रिया दिएनन् । आफ्ना टिममेटसँग कुराकानी नगरी उनी सीधै ड्रेसिङ रुममा प्रवेश गरेका थिए । 

३३ वर्षीय मेसीले यसअघि करिअरमा दुईपटक मात्र रातो कार्ड व्यहोरेका थिए । त्यो पनि अर्जेन्टिनी टोलीबाट खेल्दा र सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबल खेलमा डेब्यु गरेकै वेला रातो कार्डको सामना गरेका थिए । हंगेरीविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले डेब्यु गरेका थिए । त्यही खेलमै उनले कार्ड पाएका हुन् । 

सन् २०१९ को कोपा अमेरिका कपअन्तर्गत चिलीविरुद्धको तेस्रो स्थान लागि भएको प्रतिस्पर्धामा मेसीले रातो कार्ड खाँदै मैदान छाडेका थिए । स्पेनिस सुपर कपमा व्यहोरेको रातो कार्डपछि मेसी सम्भवतः चार घरेलु खेलमा प्रतिबन्ध हुन सक्छन् । प्रशिक्षक रोनाल्ड कोएम्यान बार्सिलोनालाई यस सिजनकै पहिलो उपाधि दिलाउन असफल भए । गत सिजनमा बार्सिलोना उपाधिविहीन भएको थियो ।

यता मेसी आफ्नो करिअरमा आठौँपटक स्पेनिस सुपर कप उपाधि जित्न वञ्चित भएका छन् । बार्सिलोना पनि १५औँ सुपर कप उचाल्न असमर्थ भयो । बार्सिलोना र मेसीबीच यसै सिजनमा सम्झौता अन्त्य हुँदै छ ।

बार्सिलोनाले सेमिफाइनलमा रियल सोसिडाडलाई टाइब्रेकरमा हराउँदै स्पेनिस सुपर कपको फाइनल स्थान पक्का गरेको थियो । बार्सिलोनाले १० खेलपछि हारको सामना गरेको हो । मेसीले पछिल्लो दुई खेलमा चार गोल गरेका थिए । मेसीले बार्सिलोनाबाट सन् २००४ मा डेब्यु गरेका हुन् । सन् २००५ मा मेसीले पहिलोपटक बार्सिलोनाको सिनियर टोलीसँग सम्झौता गरेका थिए । 
 

ad
ad