१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ५ सोमबार १७:११:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप :  विशाल पौडेलको ह्याट्रिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ५ सोमबार १७:११:००

गण्डकी प्रदेशका युवा क्रिकेटर विशाल पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो ह्याट्रिक विकेट लिएका छन् । उनले प्रतियोगिताअन्तर्गत सोमबार प्रदेश १ विरुद्ध भएको खेलमा ह्याट्रिकसहित चार विकेट लिएका हुन् । 

उनकै उत्कृष्ट प्रदर्शनमा गण्डकी प्रदेशले प्रतियोगितामा पहिलो जित हात पारेको छ । पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित भएको गण्डकीले समूह ‘ए’मा दुई खेलबाट दुई अंक नै जोडेको छ । 

मूलपानीस्थित क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ थालेको प्रदेश १ लाई २७.४ ओभरमा एक सय दुई रनको सहज योगफलमा रोक्न विशालले उत्कृष्ट प्रदर्शन गरे । उनले अन्तिमका तीन खेलाडीलाई लगातार तीन बलमा आउट गरे । 

उनले प्रदेश १ का राजन मगर (४), मनोज तामाङ (०) र हेमन्त राई (०) लाई लगातार आउट गराउँदै फरक उपलब्धि हात पारेका हुन् । त्यसअघि उनले प्रारम्भिक खेलाडी दीपक पासवानलाई ११ रनमा आउट गराएका थिए । यही प्रदर्शनले उनी म्यान अफ दी म्याच चुनिए । उनीसँगै गण्डकीका सुवास भण्डारीले पनि चार विकेट लिए । 

यी दुई बलर चम्किएपछि प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४ रन जोड्नेबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । अर्का प्रारम्भिक खेलाडी मिनास थापाले २२ रन जोडेका थिए । शुभांकर उराव १२ र दीपेश कँडेल१० रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।  

जवाफी ब्याटिङमा आएको गण्डकीले पनि गतिलो सुरुवात गर्न सकेन । उसले तीन रन जोड्दा नै दुई महत्वपूर्ण विकेट गुमाइसकेको थियो । यद्यपि, प्रारम्भिक व्याट्सम्यान अर्जुन कुमालसँगै विकेटकिपर व्याट्सम्यान दीपक डुम्रेले ३५–३५ रन जोडेपछि गण्डकी जिततर्फ अग्रसर भएको हो । अभिषेक थापाले अविजित १३ रन बटुले ।

प्रतियोगितामा प्रदेश १ को यो लगातार दोस्रो हार हो । प्रदेश १ यसअघि आफ्नो पहिलो खेलमा एपिएफसँग एक सय ३५ रनको भारी अन्तरले पराजित भएको थियो । समूहमा प्रदेश १ अंकविहीन छ ।