१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

परकम्पको ‘इपिसेन्टर’मा भूकम्प पार्क बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:११:oo

२९ वैशाख ०७२ मा गएको परकम्पको केन्द्र रहेको दोलखाको कालिञ्चोक गाउँपालिका– ७ स्थित राम्चेमा भूकम्प स्मारक पार्क बनाइने भएको छ । गाउँपालिकाले पार्क बनाउने तयारी गरेको हो । 

१२ वैशाख ०७२ मा गोरखाको बारपाक केन्द्र बनाएर विनाशकारी भूकम्प गएको थियो । त्यसको १७ दिनपछि राम्चे केन्द्र बनाएर शक्तिशाली परकम्प गएको थियो । भूकम्प दिवसका अवसरमा गाउँपालिकाले शुक्रबार आयोजना गरिएको कार्यक्रममा भूकम्प स्मारक पार्क बनाउने तयारी भएको जानकारीदिइएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले ०७२ को शक्तिशाली परकम्पको केन्द्रमा गाउँपालिकाले भूकम्प स्मृति स्मारक बनाउने तयारी गरेको जानकारी दिए । ‘शक्तिशाली परकम्पको इपिसेन्टर रहेको राम्चेमा भूकम्प स्मारक बनाउने योजनासहित विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ,’ ओलीले भने । 

गाउँपालिका अध्यक्ष विनकुमार थामीले परकम्पले धाँजा फाटेका जमिन संरक्षण गर्न तारजाली लगाएर पार्क निर्माणको तयारी सुरु गरिएको जानकारी दिए । अध्यक्ष थामीले भूकम्पको प्रमाणबारे भोलिका पुस्तालाई थाहा दिन संरक्षण गरेर राम्रो पार्क बनाउने लक्ष्य राखिएको बताए । पार्कभित्र दोलखामा भुइँचालोबाट ज्यान गुमाएका व्यक्तिहरूको तस्बिरसमेत राखिने उनले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले राम्चे डाँडोलाई भूकम्पको स्मृति गर्ने गरी पर्यटकको केन्द्र बनाउन स्मारक निर्माण गर्न संघीय सरकार, प्रदेश सरकार र पुनर्निर्माण प्राधिकरणसहितका निकायमा बजेट प्रस्ताव गरिएको जानकारी दिइन् । पार्कको डिपिआर तयार भइसकेको गाउँपालिकाका इन्जिनियर नारायण सिवाकोटीले बताए ।

राम्चेमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटी, पुनर्निर्माण प्राधिकरणमातहतका कार्यालय प्रमुखहरू, जनप्रतिनिधिहरू सहभागी थिए ।

ad
ad