मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ५ सोमबार ०९:२१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खडेरीका कारण किसान चिन्तित

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०९:२१:००

लामो समय पानी नपरेपछि हिउँदे बाली गहुँ, आलु र तरकारीजन्य बालीहरूमा असर परेको छ । दोलखाका अधिकांश खेतीयोग्य जमिनमा लगाइएका हिउँदे बालीलाई खडेरीका कारण गम्भीर असर परेपछि किसानहरूसमेत चिन्तित बनेका छन् । दोलखाको हिमाली क्षेत्रमा धमाधम वर्षे आलु लगाउने सिजन हो । तर, लामो समयदेखि पानी नपरेपछि सुक्खा माटोमा आलु रोप्दा नउम्रिने चिन्ता बढेको दोलखा, शैलुङका किसान लालबहादुर श्रेष्ठले बताए । 

असोजदेखि पानी नपरेकाले अन्न उत्पादनमा कमी आउने तथा अनिकाल निम्त्याउन सक्ने चिन्ता बढेको उनले बताए । धान भित्र्याएपछि  लगाइएको गहुँबाली अहिले पनि राम्रोसँग उम्रिन सकेको छैन । उम्रिएको गहुँ पनि सुक्खा मौसमका कारण बढ्न नसकेको कृषि ज्ञानकेन्द्र सम्पर्क कार्यालय दोलखाका प्रमुख नन्दप्रसाद ओलीले बताए ।

उनका अनुसार लगातार लामो समय पानी नपरेपछि हिउँदे आलुमा डडुवा रोग लाग्न थालेको छ । नगदेबालीहरूमा पनि यतिवेला मलखाद गर्ने समय भएको, तर सुक्खा मौसमका कारण मलखाद गर्न किसानहरूलाई समस्या परेको ज्ञानकेन्द्र प्रमुख ओलीको भनाइ छ । 

माथिल्ला क्षेत्रहरूमा कोदो भित्र्याएपछि  माघ अन्तिम वा फागुनको पहिलो सातासम्म मकैखेती लगाइने चलन छ । रातोमाटो भएको क्षेत्रमा पानी नपरी बारीमा जोतखन गर्नै नसकिने अवस्था आएको व्यावसायिक कृषि गरिरहेका दोलखाका राजनीतिकर्मी ताराबहादुर कोइरालाले बताए । हिमालमा हिउँ घट्दै जानु, लामो समयदेखि पानी नपर्नु, पानीका मुहानहरू क्रमशः सुक्ने अवस्थामा पुग्नुजस्ता कारणले छिट्टै अनिकालको सुरुवात हुन सक्ने उनको भनाइ छ ।