मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार २१:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिल्लीबाट फर्केर परराष्ट्रमन्त्रीले भने - सीमाबारे सहमतिमा पुगेका छैनौँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार २१:३६:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा नेपाल र भारतबीच सहमति नभएको बताएका छन् । भारत भ्रमणबाट शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा छलफल भएको बताए ।

‘भारतको पोजिसन (अडान) थाहै छ । हामी सहमतिमा पुगेका छैनौँ। समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ’ ज्ञवालीले भने, ‘सीमाका बाँकी काम गर्दै जानेछौँ । राजनीतिक तहमा कुरा गर्दै जान्छौँ, अन्य तहमा पनि छलफल हुँदै जान्छ ।’

ज्ञवालीले नेपाल–भारत मित्रताबारे व्यापक समीक्षा भएको पनि जिकिर गरे । उनको भनाइ थियो, ‘बाँकी विषय समाधानबारे बैठकमा छलफल भएको छ ।’ ज्ञवाली बिहीबार भारत भ्रमणमा गएका थिए । उनले समकक्षी डा. एस जयशंकरसँग शुक्रबार भेटवार्ता गरेका थिए । शुक्रबारै नेपाल–भारत संयुक्त आयोगको बैठकमा उनी सहभागी भए भने शनिबार स्वदेश फर्किनुअघि उनले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने भेट्न पाएनन् ।

ज्ञवाली कोरोनाविरुद्धको खोपमा भारतले नेपाललाई प्राथमिकतामा राखेको पनि बताएका छन् । ज्ञवालीले कोभिड १९ को भ्याक्सिनको आवश्यकता पूर्ति गर्नेबारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको बताएका हुन् । 

कोभिडका कारण बन्द रहेका हवाई तथा स्थलमार्गहरू क्रमशः खोल्दै जाने, हुलाकी सडकअन्तर्गतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्नेबारे कुराकानी भएको उनले बताए ।