मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २ शुक्रबार ०७:४९:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

उदिनढुंगामा  देखिएको नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २ शुक्रबार ०७:४९:००

गुल्मीको इस्मा गाउँपालिकाका रामबहादुर मुखियाले झारफुकका नाममा दिइएको यातना सहन नसकेर मृत्युवरण गर्न पुगे । उनलाई उदिनढुंगामा झाँक्री दम्पतीले तातो रडले डाम्ने र पोल्ने गरेका थिए । उनीसँगै उनका छोरा र अरू उपचारमा आउने पनि पोलिएका छन् । यो घटना एउटा समाचार मात्र होइन । जसरी रामबहादुरको मृत्यु निर्जीव अंक मात्र होइन । यो नेपालको एउटा चित्र हो । हाम्रो समाजमा व्याप्त अन्धविश्वासको जिउँदो बिम्ब । साथै यो हामीले आधुनिकता पछ्याउन थालेको यतिका दशकपछि पनि किन अझै यस्ता अन्धविश्वासहरूले समाजमा जरा गाडेर बसेका छन् भन्ने प्रश्न पनि हो । इस्माका रामबहादुर, झाँक्री दम्पती रामप्रसाद र शान्तिला पनि अपवाद होइनन् । अहिले पनि देशका सबै ठाउँमा यस्ता विश्वासको सिकार भएर जिउधन गुमाउनेहरू बग्रेल्ती छन् । 

रामबहादुरको मृत्यु निर्जीव अंक मात्र होइन । यो नेपालको एउटा चित्र हो । हाम्रो समाजमा व्याप्त अन्धविश्वासको जिउँदो बिम्ब । पहिलो प्रहार आर्थिक पक्षमा र दोस्रो प्रहार चेतनामा गरेर मात्र यसबाट छुटकारा पाउन सकिएला ।

यो कुनै टाढा या सुदूर गाउँ देहातको घटना मात्र पनि होइन । यस्ता घटना काठमाडौंजस्ता सहर बजारमा र पढेलेखेका परिवारका सदस्यसँग पनि आमरूपमा दोहोरिन्छन् । यहाँ झारफुक गरिन्छ भनेर साइनबोर्ड नै राखी फोन सम्पर्क दिएका व्यक्ति र तिनलाई पछ्याउनेको कमी छैन । यसका केही अर्थ–राजनीतिक तथा सामाजिक कारण छन्, जसलाई नजरअन्दाज गरुन्जेल यस्ता घटना दोहोरिइरहन्छन् र हामी समाचार हेरेर एकछिन लज्जाबोध गरिरहन्छौँ । आधुनिक औषधि विज्ञान र शरीर विज्ञानको विकास हुनुअघि पनि मानिस बिरामी हुन्थे । तिनले यस्तो रोगबाट बच्न अनेक उपाय अपनाउँदै आए । आयुर्वेदिक, युनानी, चिनियाँ, तिब्बतीयनलगायत परम्परागत उपचार पद्धतिको विकास यस्तै उपाय खोज्ने क्रममा भएको थियो । त्यसभन्दा पहिले नै विकास भएको हो, झारफुक र झाँक्री परम्परा । आधुनिक औषधि विज्ञानमा पहुँच र त्यसमाथिको पूर्ण भरोसा अझै पनि हाम्रो समाजमा विकास भएको छैन । 

साधारण आयस्रोतका मानिस सकेसम्म रोगलाई अँठ्याएर बस्छन् । त्यसपछि छरछिमेकको झारफुक, धामीझाँक्री या मेडिकल पसल र स्वास्थ्य चौकी पुग्छन् । एकथरी मानिस स्वास्थ्य चौकी र नजिकको मेडिकलभन्दा पर अस्पतालसम्म पुग्न सक्दैनन् र बिस्तारै थला पर्दै गएपछि अस्पतालको ओखतीले भएन भन्दै फेरि धामीझाँक्रीको शरणमा पुग्छन् । त्यसपछि सुरु हुन्छ यो विनाज्ञान, विनाविज्ञान बिरामीको विवशताबाट फाइदा लिने खेल । यसैको सिकार भए इस्माका रामबहादुर । सबै स्थानीय तहसम्म भरपर्दो उपचार पद्धति पुग्ने हो भने, मानिसलाई उपचार गर्न जाँदा घरखेत सकिएला या ऋणमा डुविएला भन्ने पिर नहुँदो हो भने उनीहरूको पहिलो प्राथमिकता अस्पताल नै हुन्थ्यो । सँगै अस्पताल र उपचार पद्धतिमा मात्रै विश्वास गर्ने सामाजिक चेतनाको विकास हुन्थ्यो भने झारफुकको भ्रममा कोही पनि पर्ने थिएन । 

यसैगरी राज्यले निश्चित विधि, पद्धति र ज्ञानको अनुशरण नगर्ने कसैलाई प्रतिबन्ध लगाउनु जरुरी छ । बोक्सी, झाँक्री र झारफुकसम्बन्धी सामाजिक अन्धविश्वासको जरो गरिबी, अभाव, सरकारी चिकित्सा सेवाको दुर्लभताजस्ता पक्षसँग अभिन्न रूपमा गाँसिएका छन् । पहिलो प्रहार आर्थिक पक्षमा र दोस्रो प्रहार चेतनामा गरेर मात्र यसबाट छुट्कारा पाउन सकिएला ।

याे पनि पढ्नुहाेस् : झारफुकको नाममा क्रूर यातना : रड, पाइप र झाँझर तताएर डाम्दा एकको मृत्यु, दुई गम्भीर