Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार १८:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा भद्रगोल हुँदा नतिजामा ढिलाइ, अब १० दिनभित्रै बोर्डले नतिजा सार्वजनिक गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार १८:२७:००

कक्षा १२ को परीक्षाको नतिजा अबको १० दिनभित्र सार्वजनिक हुने भएको छ । अव्यवस्थित भएका कारण नतिजा सार्वजनिक गर्न लक्ष्यभन्दा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी भएको हो । 

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले बिहीबार गरेको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । अध्यक्ष पौडेलका अनुसार विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजुको काम भइरहेको छ । अहिलेसम्म ४० प्रतिशत रुजुको काम सकिएको उनले बताए ।

पौडेलका अनुसार केही विद्यालयले माक्र्सफाइल व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमसँग नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायतका कारण नतिजामा ढिलाइ हुने भएको हो । 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी विद्यार्थीलाई नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएकोभन्दा बढी नम्बर पठाएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिमसमेत दिएको थियो । अभिमुखीकरण तालिम दिए पनि केन्द्राध्यक्षहरूले भद्रगोल तरिकाले परीक्षाका काम गरेको पौडेलको भनाइ छ । वेबसाइटमा राखिदिएको फाइल डाउनलोड गरेर सिम्बोल नम्बरअनुसार माक्र्स चढाएको भए सहज हुने थियो, अभिमुखीकरण गरेर पनि त्यसअनुसार गरेको नपाइएको उनको भनाइ छ । 

उनले भने, ‘कार्यविधि पढेर त्यसअनुसारको काम पनि गरेको पाइएन ।’ पुस मध्यतिर नतिजा सार्वजनिक गर्ने लक्ष्य राखे पनि भद्रगोल भएका कारण दुई हप्ता पछि धकेलिएको अध्यक्ष पौडेलले बताए । गत ९ मंसिरबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो । 

बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो । त्यसैगरी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । देशभरमा चार हजार एक सय पाँच परीक्षा केन्द्र कायम भएको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम भएको थियो । 

यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन गरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय भएको, तर कोभिड– १९ का कारण स्थगित भएको थियो । कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरेको हो । 

शैक्षिक सत्र जेठ मसान्तसम्म बनाउन प्रस्ताव
बोर्डका अध्यक्ष पौडेलले कोभिडका कारण कक्षा ११ र १२ को कक्षा ढिला सुरु भएकाले जेठ मसान्तसम्म शैक्षिक सत्र कायम गर्न प्रस्ताव गरी शिक्षा मन्त्रालय पठाएको बताए । जेठ मसान्तसम्म कक्षा सञ्चालन गरी असारमा परीक्षा गर्न सकिने उनको भनाइ छ । शिक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लगेको जानकारी प्राप्त भएको उनले बताए ।