मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ १ बिहीबार १६:५४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोभिड संक्रमणले अल्जाइमरको जोखिम बढाउन सक्छ ?

Read Time : > 1 मिनेट
२०७७ माघ १ बिहीबार १६:५४:००

कोभिड संक्रमणपछि विभिन्नखाले दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम हुन सक्ने अध्ययनहरूले देखाउन थालेका छन् । कोभिड संक्रमणमुक्त भएका व्यक्तिमाथि गरिएको परीक्षण र अध्ययनले यस्ता जोखिम हुन सक्ने सम्भावना देखाएको हो । 

अध्ययनका क्रममा कोभिड संक्रमण भएका कैयौँ व्यक्तिका विभिन्न अंगमा असर परेको देखिएको छ । यसकारण चिकित्सक र वैज्ञानिकहरूले भाइरसको प्रकृति र प्रत्येक व्यक्तिको स्वास्थ्य समस्यालाई लिएर अध्ययन गरिरहेका छन् ।

यसैबीच कोभिड र अल्जाइमरको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको छ । अल्जाइमर न्युरोलोजिकल डिसअर्डर हो, जुन मस्तिष्कका कोषहरूमा हुने क्षतिबाट स्मरण शक्ति हराउँछ । बिस्तारै सोच्ने क्षमता हराउँदै जान्छ र व्यक्तिले सामान्य कुरा पनि सम्झन सक्दैन । हालसम्म भएका अध्ययनले कोरोना भाइरसले दिमागको कार्यक्षमतामा असर गरिरहेको पुष्टि गरेको छ । केही अध्ययनले कोभिडका कारण गम्भीर बिरामी परेका व्यक्तिमा गम्भीर न्युरोलोजिकल समस्या पनि रिपोर्ट गरिएको बताउँदै आएका छन् । 

कोभिडबाट न्युरोलोजीमा परेको प्रभावका कारण बिरामीमा हल्कादेखि गम्भीर इन्फ्लामेसन, स्ट्रोक र ब्रेन सिजरसम्मको समस्या देखिएको छ । सामान्यतया कोभिड संक्रमण निको भइसकेका व्यक्तिमा समेत पछि गएर विभिन्न न्युरोलोजिकल समस्या देखिन थालेको अध्ययनहरूले देखाएका छन् । संक्रमणपछि मस्तिष्कमा असर देखिएका व्यक्तिहरूमा टाउको दुख्ने, रिँगटा लाग्ने, आँखाको दृष्टि धमिलो हँुदै जाने अनुसन्धानले देखाएका छन् । अर्थात् टाउको दुख्ने र मानसिक भ्रमजस्ता न्युरोलोजिकल लक्षणले कोभिडका कारण अल्जाइमर हुने सक्ने संकेत गर्छ । 

द जर्नल अफ अल्जाइमर एसोसिएसनले गरेको एक अध्ययनले कोभिडका कारण डिमेन्सिया र अल्जाइमरको समस्या देखिने संकेत गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार सामान्यतया ६० वर्षभन्दा माथिका व्यक्तिमा रोगसँगै लक्षणहरू देखिने गर्छन् । कोभिडले वृद्धवृद्धामा बढी असर गरेकोले पनि अल्जाइमरको जोखिम बढी हुने अनुसन्धानको भनाइ छ । यद्यपि, कोभिडले निम्त्याएको असामान्य परिस्थितिले जुनसुकै उमेर समूहमा पनि अल्जाइमरको जोखिम रहन्छ । 

कोभिडले दिमागमा अल्पकालीन र दीर्घकालीन रूपमा कसरी असर गर्छ भन्ने विषयमा थप अनुसन्धानका लागि अल्जाइमर्स एसोसिएसनले ३० देशका वैज्ञानिक समेटेर बृहत् अध्ययन सुरु गरेको छ । सँगै विश्व स्वास्थ्य संगठनले पनि अनुसन्धानमा सहभागी हुने प्रतिबद्धता जनाएको छ । यो अनुसन्धानमा विशेषगरी अल्जाइमर र डिमेन्सियाबारे अध्ययन गरिने जनाइएको छ । कोरोना भाइरसले मस्तिष्कमा विभिन्न विकार ल्याउँछ, जसले इन्फ्लामेसनको समस्या निम्त्याउने गर्छ । बिस्तारै कोषहरूमा असर पाने हुँदा स्मरणशक्ति कमजोर हँुदै जान्छ । 
–एजेन्सीको सहयोगमा