मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार ०७:३७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ उचाइ बनाउँदै नेप्से :  १२ कारोबार दिनमै  २ सय ६० अंकको वृद्धि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार ०७:३७:००

नेप्से परिसूचक सामान्य करेक्सन हुँदै पुनः नयाँ उचाइ बनाउँदै अगाडि बढिरहेको छ । मंगलबार नेप्से परिसूचक २८ दशमलव ३१ अंकले बढेर २ हजार २ सय ६७ बिन्दुमा पुगेको छ । १२ कारोबार दिनमै नेप्सेले २ सय ६० अंक जोडेको हो ।  

कारोबार खुलेको केही समयपछि नै घटेको बजार लगभग एकोहोरो रूपमा अगाडि बढ्यो । व्यापारमूलक समूहबाहेक सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा, वित्त कम्पनी समूहमा १ देखि ३ प्रतिशतसम्म वृद्धि भएको हो । कुल ४ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने लगानीकर्ताको सम्पत्तिको मूल्य थप बढेर ३० खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । 

कारोबारमा आएका २ सय २ धितोपत्र तथा ऋणपत्रमा १ सय ४४ वटाको बढेको, ३८ वटाको मूल्य घटेको हो । वाणिज्य बैंक समूहपछि निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको छ । करिब ८ कम्पनीको मूल्य ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको हो । 

गत वर्ष ६ दशमलव ३१ प्रतिशत बोनस सेयर दिएको आइएमई जनरल इन्स्योरेन्सले यसपटकका लागि लाभांश घोषणा गरिसकेको छैन । कम्पनीको सेयर मूल्य भने बढेर सर्किट ब्रेक लागेको छ । ८ सय २५ मा कम्पनीको सेयर किनबेच भएको छ ।

आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्सको दुई दिनदेखि लगातार मूल्य उच्चदरमा बढेको छ । अपर तामाकोसी, प्रभु लाइफ, समृद्धि फाइनान्स र गोरखा फाइनान्सको मूल्य पनि उच्चदरमा वृद्धि भएको छ । 
नेसनल हाइड्रो, प्रिमियर इन्स्योरेन्सलगायतको मूल्य पनि यस दिन उच्चदरमा घट्नेमा रहेको छ ।

गत आवका लागि ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेपछि प्रिमियर इन्स्योरेन्सबाट लगानीकर्ता निराश देखिएका छन् । अघिल्लो आवमा समेत कम्पनीले कुनै लाभांश घोषणा गरेको थिएन । कम्पनीको कारोबार २ दशमलव २९ प्रतिशतले घटेर १ हजार ६५ मा किनबेच भएको हो । कम्पनीको सेयर कारोबार पनि सबैभन्दा धेरै २९ करोड ६ लाख रुपैयाँबराबर भएको छ ।