Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ पौष २५ शनिबार ११:२५:००
Read Time : > 1 मिनेट
खेलकुद

आर्थिक अनियमितताको आशंकामा एन्फाको कारोबार हेर्न फिफाले आफ्नै अडिटर पठायो 

Read Time : > 1 मिनेट
२०७७ पौष २५ शनिबार ११:२५:००

विभिन्न शीर्षकमा पठाएको रकममा अनियमितता भएको आशंकामा विश्व फुटबल महासंघ (फिफा)ले एक्स्टर्नल अडिटर क्रोललाई अखिल नेपाल फुटबल संघ (एन्फा)को कारोबार हेर्न नेपाल पठाएको छ । फिफाको निर्देशनअनुसार क्रोलका दुई अडिटर बुधबार नै नेपाल आइपुगेका छन् ।

अमेरिकी फार्म क्रोल फिफाको एक्स्टर्नल अडिटर हो । फिफाले आफ्नो अनुदान लिने सदस्य संस्थाहरूको अडिट गराउनु परेको अवस्थामा क्रोलको सहायता लिने गरेको छ । 

एन्फाको सातदोबाटोस्थित मुख्यालय र एकेडेमी भवन मर्मत (रिनोभेसन) गर्दा, कर्मचारी नियुक्तीलगायतमा आर्थिक अनियमितता भएको आशंका फिफाले गरेको छ । फिफाले एन्फा मुख्यालय र एकेडेमी भवन मर्मतका लागी एन्फालाई तीन लाख २५ हजार अमेरिकी डलर पठाएको थियो । यसको नेपाली मूल्य अहिले ३८ करोडभन्दा बढी हुन्छ ।

फिफा र आफ्नै आर्थिक नियमावलीअनुसार पनि एन्फाले यो रकम टेन्डर प्रक्रियामार्फत खर्च गर्नुपर्ने थियो । यद्यपि, एन्फाले कोटेसनबाटै यो रकमको खर्च गरेको छ । एन्फाले लिएको कोटेसनले पनि अनियमितताको आशंका उब्जाएको छ । आफ्नो तीन तले मुख्यालयको मर्मत गर्न एन्फाले प्रत्येक फ्ल्याटका लागि कोटेसन मागेको थियो । एन्फाले तीनै तलाका लागि तीन–तीन कोटेसन त लिएको छ । तर, पहिलो फ्ल्याटका लागि कोटेसन दिएका तीनवटै कम्पनीले बाँकी दुई फ्ल्याटका लागि पनि दिएका छन् । एन्फाले ती तीनमध्ये प्रत्येकलाई बाढेर एक–एक फ्ल्याटको जिम्मेवारी दिएको थियो ।

यही विषयमा उजुरी परेपछि फिफाले एन्फाको कारोबार हेर्न आफ्नो प्रतिनिधि पठाएको हो । एन्फाले बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ती गरेको बारेसमेत फिफामा उजुरी परेको छ । स्रोतकाअनुसार एन्फामा दुई दर्जनभन्दा बढी कर्मचारी बिनाप्रतिस्पर्धा नियुक्त गरिएका छन् । 

फिफाले आकस्मिक रुपमा अडिटर पठाएको बारे एन्फाले आफ्ना कर्मचारी र पदाधिकारीहरुलाई समेत जानकारी गराएको छ । एन्फाले ६ देखि १७ जनवरीसम्म फिफाले पठाएका अडिटरहरुले काम गर्ने भएका कारण उनीहरूले अनुरोध गरेको समयमा उपस्थित भइदिनु भन्ने व्यहोरासहितको पत्र आफ्ना कर्मचारी र पदाधिकारीहरूलाई पठाएको छ । ‘फिफाको अडिटरहरू आएको र उनीहरूले भनेको बेला उपस्थित हुनुु भनेर एन्फाले नै खबर गरेको छ । हामीसँग भेट त भएको छैन’, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङले नयाँ पत्रिकासँग भने, ‘त्यसबाहेक बाँकी जानकारी छैन ।’