१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंमै चिनियाँ नागरिकको अपहरण

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२६:oo

होटेलबाट अपहरित दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार, अपहरणमा संलग्न चारजना पक्राउ

काठमाडौंको एक होटेलबाट अपहरणमा परेको पाँच दिनपछि दुई चिनियाँ नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । 

गौशलास्थित होटेल आनन्दबाट चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका हुन् । १९ पुसमा अपहरणमा परेका दुवैजनालाई विहीबार घाइते अवस्थामा उद्धार गरिएको छ । अपहरणकारीको कुटपिटबाट उनीहरूको हातखुट्टामा गम्भीर चोट लागेको छ । उपचारका लागि उनीहरूलाई ग्वार्कोस्थित बि एन्ड बी अस्पताल भर्ना गरिएको छ । 

प्रहरीका अनुसार उनीहरूलाई ट्याक्सीमा राखी उपत्यकाका विभिन्न ठाउँमा लगेर यातना दिइएको थियो । अनुसन्धानमा संलग्न महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले घाइतेहरूको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको बताए । ‘अपहरणकारीको कब्जाबाट दुईजनाको सकुशल उद्धार भयो । यातनाका कारण उनीहरूको शरीरमा चोट देखियो । उनीहरूले उपत्यकाका विभिन्न ठाउँमा लगेर यातना दिएको देखिन्छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ डिएसपी विष्टले भने । 

अपहरणको कारण भने खुलिसकेको छैन । ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ । अनुसन्धान जारी नै छ । के कारणले उनीहरूको अपहरण भयो, त्यो खुलिसकेको छैन,’ विष्टले भने, ‘अपहरणमा संलग्न चारजना पक्राउ परेका छन् । बयानपछि पक्कै पनि खुल्नेछ ।’ 

चिनियाँ नागरिक नै अपहरणमा संलग्न 
नेपालमा रहेका दुई चिनियाँ नागरिकलाई अपहरण गर्ने चिनियाँ नागरिक नै रहेको खुलेको छ । उनीहरूलाई सघाउने काम भने दुई नेपालीले गरेको पाइएको छ । घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुई चिनियाँ नागरिक चीन आङ्गखोई उहुका वु चाव र चीन सान्दोङ्का झाङ वे रहेका छन् ।

महानगरीय प्रहरीपरिसर काठमाडौंबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई विहीबार साँझ ठमेलबाट पक्राउ गरेको हो । उनीहरूसँगै दुई नेपाली सिन्धुपाल्चोकको भोटेकोसी–५ का ३२ वर्षीय दाबा पासाङ लामा र माइला भनिने भक्त लामा पक्राउ परेका छन् । प्रहरीका अनुसार दाबा र भक्तले अपहरणमा सघाएका थिए । 

गौशलाबाट सिन्धुपाल्चोक लगेर यातना 
प्रहरीका अनुसार अपहरणमा पर्ने लि विपिङ र लि झियाङजिङ गौशलास्थित होटेल आनन्दमा थिए । उनीहरूलाई दुई चिनियाँ नागरिक वु चाव र झाङ वेले भेट्न होटेलबाहिर बोलाए । होटेलमा रहेका विपिङ र झियाङजिङ बाहिर निस्किए । बाहिर ट्याक्सी तयार थियो । ट्याक्सीमा दुई नेपाली पनि थिए । दुवैलाई ट्याक्सीमा बस्न भनियो । उनीहरू बसे । त्यसपछि ट्याक्सी सिन्धुपाल्चोकतर्फ लाग्यो । 

ट्याक्सी सिन्धुपाल्चोकको मार्मिङ्गामा पुगेर रोकियो । अपहरणकारीले दुवैलाई ट्याक्सीबाट उतारे र अज्ञात ठाउँतर्फ लगी बन्धक बनाए । यसका क्रममा उनीहरूमाथि कुटपिट भयो ।विपिङ र झियाङजिङका आफन्तले तत्काल गौशलास्थित प्रहरी वृत्तमा जाहेरी दिए । प्रहरीले गोप्य तवरले अनुसन्धान थाल्यो । यही क्रममा अपहरणमा संलग्न चारजना पक्राउ परेका हुन् ।

ad
ad