१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष २० सोमबार १२:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनमा एकै समयमा नेकपा दुई समूहको छुट्टाछुट्टै भेला, पार्टी कार्यालयमा प्रहरीकाे पहरा

Read Time : > 1 मिनेट
२०७७ पौष २० सोमबार १२:२६:००

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा नेकपाका छुट्टाछुट्टै भेला हुँदै छन् । 

नेकपा विभाजन भएपछि दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आए पनि चितवनमा एकै समय प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–माधव नेपाल समूह नेकपाका शीर्ष नेताहरूको सहभागितामा हुन लागेको छुट्टाछुट्टै यो पहिलो कार्यक्रम हो । 

यद्यपि दुवैले आफ्नो कार्यक्रमलाई नेकपाको  जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला भनेका छन् । ओली समूहले भरतपुरको एक रिसोर्टमा  कार्यक्रम गर्दै छ भने प्रचण्ड–नेपाल समूहले नेकपा भरतपुर महानगरको कार्यालय कृष्णपुरमा आफ्नो कार्यक्रमको तयारी गरिरहेको छ । 

भरतपुरको स्मार्ट पार्टी प्यालेस एन्ड रिसोर्टमा भरतपुर १२ वसन्तचोकमा हुने ओली समूहको भेलालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा नेता महेश बस्नेतलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

यता प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेलालाई नेता भीम रावल, योगेश भट्टराई र रामकुमारी झाँक्रीले सम्बोधन गर्ने कार्यक्रम छ । दुवै भेला बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । एकै कार्यक्रम दुईतिर हुँदा कार्यकर्ताहरू भने अलमलमा छन् । चितवनमा ओली समूहको तुलनामा प्रचण्ड–माधव समूह बलियो देखिन्छ । 

पार्टी कार्यालयमा प्रहरी तैनाथ 

११ पुसमा नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले कोही नभएको मौका छोपी बिहानको समयमा ताला लगाएकाे थियाे । केहीबेरमै प्रचण्ड–नेपाल समूहका युवा कार्यकर्ताले त्यो ताला फुटाए । त्यसपछि सुरक्षालाई ख्यालमा राखी झडप नहोस् भनेर त्यसै दिनदेखि पार्टी कार्यलय प्रशासनको नियन्त्रणमा छ ।

प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको दुरुपयोग गर्दै नेकपाको पार्टी कार्यालयमा सुरक्षाकर्मीलाई तैनाथ गरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ ।

भरतपुर महानगरपालिका– १० स्थित मदननगरमा रहेको नेकपाको पार्टी कार्यालयमा अहिले सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएका छन् । यो कार्यालयमा अहिले कसैलाई पनि प्रवेश गर्न दिएको छैन । नेकपाको यो पार्टी कार्यालय साबिक एमालेको पार्टी कार्यालय हो ।

कृष्णपुरमा रहेको नेकपा भरतपुर महानगरको कार्यालय भने साबिक माओवादी केन्द्रको पार्टी कार्यालय हो । एकीकरणपश्चात् साबिक माओवादी केन्द्रको कार्यालयलाई महानगरको कार्यालय  र साबिक एमालेको कार्यालयलाई नेकपा पार्टी कार्यालय बनाइएको थियो ।