मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडाैं
२०७७ पौष २० सोमबार ०६:०५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाइलट र एयरहोस्टेससँग स्वास्थ्य रिपोर्टको पाँच गुणा महँगो शुल्क लिँदै चिकित्सक

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ पौष २० सोमबार ०६:०५:००

नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेका चिकित्सकले पाइलट र चालकदलका सदस्यहरूसँग पाँच गुणा महँगो शुल्क लिएर स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको खुलेको छ । प्राधिकरणले डा. राजीवकुमार देव र डा. सञ्जय कार्कीलाई उड्डयन स्वास्थ्य सुरपरिवेक्षक नियुक्त गरेको छ ।

प्रत्येक वर्ष पाइलटहरूको स्वास्थ्य परीक्षण रिपोर्ट हेर्ने र प्रमाणपत्र जारी गर्ने गरी  प्राधिकरणले चिकित्सक नियुक्त गरेको थियो । सोही स्वास्थ्य प्रमाणपत्रका आधारमा पाइलटहरूको लाइसेन्स नवीकरण हुने व्यवस्था छ । तर, डा. राजीवकुमारले ओम अस्पतालमा पाइलट र चालकदलका सदस्यहरूलाई बोलाउँदै तोकिएभन्दा पाँच गुणा महँगो शुल्क लिएको एक पाइलटले बताए । प्राधिकरणले भने प्राधिकरणमै आएर स्वास्थ्य रिपोर्ट हेर्ने र एकजनाको एक हजार मात्रै शुल्क लिने गरी नियुक्त गरेको थियो ।

त्यो शुल्क पनि प्राधिकरणले चालकदलका सदस्यहरूबाट लिएर चिकित्सकलाई प्रमाणपत्रका आधारमा रकम दिने सम्झौता छ । तर, डा. राजीवकुमारले ओम अस्पतालमा बोलाएर एकजनाको पाँच हजार रुपैयाँ शुल्क लिने गरेको पाइएको छ ।

कोभिड–१९ का कारण पछिल्लो समय प्रत्येक १५ दिनमा पाइलट तथा अन्य चालकदलका सदस्यले स्वास्थ्य परीक्षणको रिपोर्ट चिकित्सकलाई बुझाउने र चिकित्सकले प्रमाणपत्र दिएपछि मात्रै उडानमा जान पाउने व्यवस्था छ । ‘विगतमा वर्षमा एकपटक स्वास्थ्य प्रमाणपत्र लिए पुग्थ्यो, त्यसैले पाँच हजार रुपैयाँ तिर्दै आए पनि चासो दिएका थिएनौँ, तर अहिले पटक–पटक परीक्षण र प्रमाणपत्र लिनुपर्ने हुँदा मारमा पर्‍यौँ,’ एक पाइलटले भने ।

स्वास्थ्य प्रमाणपत्रका नाममा एकजनासँग मात्रै गत भदौयता १५ देखि २० हजार रुपैयाँ शुल्क लिएको स्रोतको भनाइ छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्ससहित आन्तरिक उडान गर्ने एयरलाइन्स तथा हेलिकोप्टर कम्पनीका पाइलटहरूसँग पनि बढी रकम असुल गरेको पाइएको छ ।

विगतमा पाइलटहरूलाई कति रकम लाग्ने भन्ने विषयमा समेत प्राधिकरणको सेफ्टी विभागले जानकारी नदिएको पाइएको छ । मूलतः हवाई सुरक्षा तथा उडान सुरपरीवेक्षणको जिम्मा प्राधिकरणअन्तर्गतको सुरक्षा विभागको हुन्छ । ‘सुरक्षा विभागका केही कर्मचारी र डाक्टरको मिलेमतोमा यसरी शुल्क असुल गरिएको हुन सक्छ,’ प्राधिकरणकै एक उच्च अधिकारीले भने । कोभिड महामारीमा पाइलट र अन्य चालकदलका सदस्यसँग मात्रै शुल्कको नाममा २० लाखभन्दा बढी असुल गरेको पाइएको छ ।

प्राधिकरणका चिकित्सकले वार्षिक स्वास्थ्य प्रमाणपत्र जारी गर्ने १५ सयभन्दा बढी पाइलट र चालकदलका सदस्य छन् । तर, अहिले कोभिड–१९ पजिटिभ र नेगेटिभ देखिँदा रिपोर्ट लिएर जानुपर्छ । हरेक पाइलटले प्रत्येक १५ दिनमा स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर उडानमा जानुपर्छ । तर, चिकित्सकले महँगो शुल्क लिँदा प्रत्येक १५ दिनमा पाँच हजार रुपैयाँ बुझाउनुपरिरहेको छ ।


छानबिन हुँदैछ, कारबाही गर्छौँ

राजन पोखरेल, महानिर्देशक नेपाल नागरिक उड्डयन प्राधिकरण

 स्वास्थ्य जाँचका लागि १५ जना डाक्टर तोकेका छाैँ । त्यसैगरी, उड्डयन स्वास्थ्य सुरपरीवेक्षकका रूपमा दुईजना तोकेका छाैँ ।

 उनीहरूले स्वास्थ्य रिपोर्ट हेरेर स्वास्थ्य प्रमाणीकरण गर्नेछन् । त्यसका लागि   एकजनाको शुल्क एक हजार रुपैयाँ तोकिएको छ । त्यो प्राधिकरणले दिने हो । 

 सोही प्रमाणीकरणका आधारमा पाइलटहरूको लाइसेन्स नवीकरणदेखि   उडानसम्म गर्न पाउने व्यवस्था छ । अहिले बढी शुल्क लिएको विषय प्राधिकरणमा पनि आएको छ । यसमा छानबिन भइरहेको छ । र, छिट्टै निष्कर्ष निकालेर दोषी देखिए कारबाही गर्छौँ ।


‘मेरो विषयमा उजुरी लिएर म कहाँ कोही पनि आउनु भएको छैन’

 डा. राजिव कुमार देव,उड्डयन स्वास्थ्य सुरपरिवेक्षक
 शुल्क महगो भयो भन्ने विषयमा लिएर म भएको ठाउमा कोही पनि पाइलटहरू म   भएको ठाउमा आउनु भएको छैन ।

पाइलट तथा एयरहोस्टेसहरूले मलाई   व्याक्तिगत रुपमा महंगो भयो भनेर आजसम्म भन्नु पनि आउनु भएको छैन ।

यदी   मलाई भन्न आए भने शुल्कको विषयमा म प्रष्ट पार्नेछु किन लिएर भनेर ।यता   प्राधिकरणमा खासै बसेर काम गर्ने अवस्था छैन । त्यसैले मैले परिक्षणका रिपोर्ट   मैले क्लिनिकमा बोलाएर हेरिरहेको हुँ । अर्को कुरा के के असन्तुष्टी हुन मलाई   आएर भनेमा समस्या समाधान हुन सक्छ ।