मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २४ शुक्रबार
  • Friday, 07 May, 2021
२०७७ पौष १९ आइतबार २०:२७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोपीडितको तीन सातादेखि जंगलमा वास, चिसोले बिरामी पर्दै बालबालिका

Read Time : > 3 मिनेट
२०७७ पौष १९ आइतबार २०:२७:००

गौरीगंगा नगरपालिका–१ को वन क्षेत्रमा त्रिपालको टहरा बनाएर बसिरहेकी भावना कार्की आफ्नी सातमहिने छोरी र दुई वर्षको छोरालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्तामा छिन् । चिसो बढेसँगै पहिरोपीडित शिविरमा बालबालिकाहरू बिरामी पर्न थालेका छन्, तर त्रिपालको टहराभित्र चिसो छेक्ने आवश्यक न्यानो कपडा उनीसँग छैन । 

लगाउने न्यानो लुगासमेत पर्याप्त नभएकाले बालबालिकालाई चिसोबाट बचाउन समस्या भएको उनले दुःखेसो पोखिन् । ‘अस्ति छोरालाई ज्वरो आएपछि स्वास्थ्यचौकी लग्नुपऱ्याे, डाक्टरले चिसोबाट जोगाउनु भनेका थिए,’ उनले भनिन्, ‘यस्तो चिसोमा टहरामा बस्नुपरेको छ, न्यानो लुगा छैन । कसरी जोगाउनु ?’ 

त्यही शिविरमा बस्ने सपना कार्कीलाई आफ्नोभन्दा डेढ वर्षीय छोराको चिन्ता छ । आफू जसोतसो रात काटे पनि चिसोले नाबालक दुई छोरालाई समस्या भएको उनले बताइन् । ‘शीतलहरले त्रिपाल भिजेपछि कतिवेला भित्रसमेत शीत चुहिन्छ । बाहिरको चिसो हावा त्रिपालले छेकिन्न,’ उनले भनिन्, ‘हामी श्रीमान्–श्रीमती त जसरीतसरी रात कटाउँछौँ, बच्चालाई चिसोबाट बचाउन गाह्रो छ ।’ बिरामी भइहाले पनि उपचार गराउने पैसा नरहेको उनले दुखेसो पोखिन् ।

हुस्सु र शीतलहरसँगै केही दिनयता कैलालीमा चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि गौरीगंगा नगरपालिका–१ स्थित वन क्षेत्रमा बसिरहेका पहिरोपीडित परिवारका बालबालिका बिरामी पर्न थालेका छन् । पुस महिनाको कठ्याग्रिँदो चिसोमा त्रिपालमुनि बसिरहेका बालबालिका र वृद्धवृद्धामा ज्वरो, रुघाखोकी, बान्ता आउने, झाडापखालाजस्ता समस्याहरू देखिन थालेका हुन् । 

जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिकाका पहिरोपीडित परिवार २६ मंसिरदेखि गौरीगंगा–१ को जंगलमा त्रिपालको टहरा बनाएर बसिरहेका छन् । गत साउनमा आएको पहिरोले विस्थापित परिवार सुरक्षित आवास खोज्दै तराई झरेका हुन् । अहिले चुरेको ६ र ७ नम्बर वडाका एक सय ६९ पीडित परिवार यो जंगलमा त्रिपालको टहरा बनाएर बसिरहेका पहिरोपीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले बताए । 

कार्कीका अनुसार टहरमा बसिरहेका करिब ४० जना बालबालिका छन् । ‘न्यानो लुगा छैन । आगो बाल्नका लागि जंगलबाट दाउरा लिन पाएका छैनौँ,’ उनले भने, ‘बालबालिकाहरूमा रुघाखोकी, झाडापखाला, ज्वरो, बान्ता आउनेजस्ता समस्या देखिन थालेका छन् । बुढापाका पनि चिसोले समस्यामा छन् ।’ १५ जति बालबालिका बिरामी रहेका उनीहरूका अभिभावकले बताएका छन् ।

बाक्लो हुस्सु लागेको दिन त्रिपाल भिजेर शीत भित्रै झर्छ । छेउछाउबाट छिर्ने चिसो हावाले राति सुत्न सक्ने अवस्था नरहेको दुखेसो पीडितले गरेका छन् । 

विपन्न वर्गका भएकाले पीडित परिवारसँग न्यानो लुगाको कमी छ । बिरामी भएर पनि आर्थिक अभावले कतिपयले उपचार गर्न पाएका छैनन् । बोकेर ल्याएको अन्न सकिएपछि उनीहरूलाई छाक टार्नसमेत समस्या भएको छ । हुस्सु र शीतलहरले भिजेको त्रिपालको टहराले पुस महिनाको कठ्याग्रिँदो चिसोलाई छेक्न नसक्ने भएपछि उनीहरूको दैनिकी कष्टपूर्ण बनेको छ । 

आर्थिक अभावले छाक टार्नै समस्या भएका वेला बालबालिकाको उपचार गर्न नपाएको पहिरोपीडित चुरे– ६ का मने बुढाले बताए । सामान्य बिरामी हुँदा सहेर बस्नुपर्ने बाध्यता रहेको उनको दुःखेसो छ । पीडितले जंगलमा पानीको व्यवस्था नहुँदा खोलाको पानी पिउने गरेका छन् । ‘जंगलबाट दाउरा ल्याउन पाएका छैनौँ । छेउछाउको बस्तीका बासिन्दाले यहाँबाट अन्यत्र जान दबाब दिइरहेका छन्,’ बुढाले भने, ‘घरखेत पहिरोले बगायो, सरकारले बेवास्ता ग¥यो, हामी कहाँ गएर बसौँ ?’

स्थानीय सरकारले पनि हेरेन पीडितलाई
गौरीगंगाकै जंगलमा त्रिपालमुनि बसिरहेकी पार्वती कार्कीको चुरे– ६, बबेडीस्थित खेतबारी गत साउनमा आएको बाढीले बगाएको थियो । पहिरोको जोखिमले घरभित्र बस्ने अवस्था नभएपछि प्रहरीले उनको र गाउँमा पहिरोले विस्थापित अन्य परिवारलाई स्थानीय धौलापहर आधारभूत विद्यालयमा राखेको थियो । कोरोनाले विद्यालय बन्द रहेकाले चार महिना विद्यालयमै बसेको उनले बताइन् ।

विद्यालय खुल्न थालेपछि कतिपय पीडित परिवार भीमदत्त राजमार्गको छेउछाउ र गाउँको खुला ठाउँमा त्रिपाल टाँगेर बसेका थिए । चार–पाँच महिनासम्म पनि पुनस्र्थापनामा कुनै निकायले ध्यान नदिएपछि आफूहरू तराई झरेको चुरे–६ का पीडित सुर्जबहादुर कार्कीले बताए ।

‘पढाइ हुन थालेपछि विद्यालयले अन्यत्र जाऊ भन्यो । राजमार्गमा बस्यौँ, त्यहाँ पनि बस्ने अवस्था नभएपछि तराई झरेका हौँ,’ कार्कीले भने, ‘तर, हाम्रो पीडा कसैले पनि बुझेन ।’ कठ्याग्रिँदो चिसोमा आफूहरूले कष्टपूर्ण दैनिकी बिताइ रहँदा स्थानीय सरकारले पनि व्यवस्था गरेको गुनासो उनले गरे । 

अर्का बाढीपीडित अर्जुन कार्कीले साउनमा विस्थापित हुँदा गाउँपालिकाबाट त्रिपाल र केही खाद्यान्न पाए पनि त्यसपछि कुनै निकायबाट सहयोग नपाएको बताए । आफूहरू कष्टकर अवस्थामा रहे पनि स्थानीय सरकार सोध्नसमेत नआएको उनले गुनासो गरे । नजिकै रहेको गौरीगंगा नगरपालिकाले पनि अर्को तहका बासिन्दा भन्दै वास्ता गरेको छैन । 

‘नजिकैको स्थानीय तहले वास्ता गरेनन् । प्रदेश सरकार पनि नजिकै छ । यतिधेरै पीडित परिवार बिचल्ली हुँदा प्रदेश सरकार पनि सुतेको छ,’ कार्कीले दुखेसो पोखे, ‘तीनवटा सरकार नजिक हुँदा पनि हाम्रा दुःख कसैले देखेन ।’ गाउँबाट राजमार्ग छेउछाउ र त्यहाँबाट तराई झरेपछि पीडित परिवारका विद्यालय जाने उमेरका बालबालिका पठनपाठनबाट पनि वञ्चित भएका छन् ।

चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकाले विस्थापित परिवारको पुनस्र्थापनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको बताए । तराई झरेकामध्ये केहीको घरवास भए पनि आधाजति परिवार पहिरोबाट पूर्ण विस्थापित भएकाहरू रहेको उनले बताए ।

गाउँपालिकाभरि पहिरोपीडित र जोखिममा रहेका दुई सय ११ परिवारलाई पुनस्र्थापनाको माग गर्दै गाउँपालिका कार्यालयले गत असोजमा प्रदेश सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । पुनस्र्थापना गर्न सकिने सम्भावित ठाउँसमेत उल्लेख गरेर प्रदेश सरकारलाई लिखित मागपत्र बुझाए पनि त्यसपछि केही सुनुवाइ नभएको अध्यक्ष रोकाले बताए ।

पीडित परिवारलाई गाउँपालिकाभित्रैको खुला ठाउँमा बस्न दिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पनि केही दिनअघि पत्राचार गरिएको उनले बताए । ‘तत्कालका लागि पीडित परिवारलाई गाउँपालिकाभित्रैको खुला ठाउँमा बस्न दिनेबारे प्रशासन र वन कार्यालयसँग छलफल गरेका छौँ । संघ र प्रदेशसँग पुनस्र्थापनाबारे पनि छलफल भइरहेको छ,’ उनले भने, ‘एक–दुई दिनमै खाद्यान्न र कपडा पनि वितरण गर्छौँ ।’ पहिरोपीडितको यकिन तथ्यांक संकलनका लागि समिति पनि गठन गरिएको जानकारी उनले दिए ।