Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार २२:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कंगोको बुनिया क्षेत्रमा १७ वर्षपछि नेपाली सेना परिचालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार २२:१२:००

कोडेको नामको विद्रोही समूहले कंगोको बुनिया क्षेत्रमा हिंसा मच्चाएपछि नेपाली शान्ति सैनिकलाई बालुगुङबाट सात किलोमिटर उत्तरबाट स्थानान्तरण गरी पुनः बुनिया क्षेत्रमा परिचालन गरिएको छ । १७ वर्षअघि कंगोको उत्तरी भेगमा रहेको बुनियांमा हेमा र लेन्डु जातिहरूबीचको हिंसाका कारण सुरक्षा स्थिति भयावह भएपछि नेपाली शान्ति सैनिक त्यहाँ परिचालित थियो । त्यसपछि सुरक्षा स्थितिमा सुधार आएसँगै नेपाली शान्ति सैनिक द्वन्द्वग्रस्त कंगोको मध्य क्षेत्रमा रहेको बेनी इलाकामा र गत केही वर्षदेखि दक्षिण क्षेत्रमा रहेको बालुगुङमा तैनाथ थिए । 

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार इटुरी क्षेत्रका मेयर जिन वमाइन्सा साइडीले त्यहाँ भवानी दल गणका गणपति प्रमुख सेनानी प्रभाकर खड्कासँगको भेटघाट नेपाली सेना परिचालन भएकोमा खुसी व्यक्त गरेका छन् । नेपाली शान्ति सैनिक बुनिया क्षेत्रमा परिचालित हुँदा स्थानीय जनता हर्षित एवं आश्वस्त भएको उनको धारणा थियो । मेयर साइडीले त्यस क्षेत्रको सुरक्षा स्थितिमा सुधार आउनेमा आफू विश्वस्त रहेको पनि बताएका छन् । मेयरले विगतमा इटुरी क्षेत्रको बुनियालगायत फताकी, अभेवा, बोगोरो इलाकाहरूमा क्रियाशील तत्कालीन विद्रोही समूहहरूविरुद्ध नेपाली शान्ति सैनिकहरूले सञ्चालन गरेको विभिन्न सफल सैनिक कारबाहीहरूको स्मरण गरेका थिए । 

कंगोस्थित संयुक्त राष्ट्रसंघीय मिसनको उच्च नेतृत्वले विगतमा नेपाली शान्ति सैनिकले यस क्षेत्रमा छाडेको राम्रो छाप र जितेको विश्वासको परिणामस्वरूप नेपाली शान्ति सैनिकलाई पुनः त्यस क्षेत्रमा तैनाथ गराइएको जंगी अड्डालाई जानकारी दिएको छ । सन् २००५ मा यसै क्षेत्रमा मानव अधिकार हननसम्बन्धी अनुसन्धानमा खटिएको संयुक्त राष्ट्रसंघको टोलीलाई विद्रोहीहरूको आक्रमणबाट जोगाउने क्रममा सेनानी कविन्द्रजंग थापाको निधन भएको थियो । स्वर्गीय थापाको बहादुरी एवं कर्तव्यपरायणताको संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनलगायत अन्तर्राष्ट्रिय समुदायले खुलेर प्रशंसा गरेका थिए । 

‘संयुक्त राष्ट्र संघले सदाझैँ नेपाली सेनाको पेसागत क्षमताको उच्च मूल्यांकन गर्दै नेपाली सेनालाई पुनः चुनौतीपूर्ण जिम्मेवारी सुम्पिएको नेपाली सेनाले विश्वास गरेको छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।