१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष १६ बिहीबार ११:२३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरामा रेवान महोत्सवको २२औँ संस्करण सुरु

Read Time : > 1 मिनेट
२०७७ पौष १६ बिहीबार ११:२३:००

रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बर्सेनि गर्दै आएको सडक महोत्सवको २२औँ संस्करण सुरु भएको छ । 

विगतमा देशमै ब्रान्डको रूपमा विकास भइरहेको सडक महोत्सव यसपालि कोरोना संक्रमणका कारण दूरी कायम गर्दै आयोजना गरिएको हो । महोत्सव बुधबारदेखि सुरु भएको छ । 

विगतमा पाँच दिनसम्म चल्ने महोत्सव यसपालि तीन दिन मात्र चल्नेछ । आयोजक रेवान पोखराका अनुसार पोखरा संक्रमणका बीचमा पनि पर्यटकलाई स्वागत गर्न आतुर रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको हो । यसपालि तडकभडक र तामझाम भने हुनेछैनन् । 

यसपालि मध्यरातमा आतिसबाजी हुनेछैन । गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा चारवटा स्टेज रहनेछन् । सुन्तला, महलगायत हस्तकलाका गरी २० स्टल रहनेछन् । 

सुरक्षाका लागि लेकसाइड छिर्ने विभिन्न १९ नाकामा निजी सुरक्षा दल तैनाथ गरिएका छन् । दिउँसो ३ देखि राति १२ बजेसम्म नो भेइकल जोन गरी सवारी आवागमन निषेध गरिएको छ । 

विगतमा झैँ सहिदचोकदेखि हल्लनचोक हुँदै जरेबरसम्मको करिब तीन किलाेमिटर क्षेत्रफलमा महोत्सव भएको छ । 

अघिल्ला वर्षहरूमा सडकबाहेक पार्कमा छुट्टै कार्यक्रम गरिए पनि संक्रमणलाई मध्यनजर गर्दै पार्कमा यसपालि कार्यक्रम नगरिएको रेवान पोखराका पूर्वअध्यक्षसमेत रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । 

‘विगतमा पार्कमा सांगीतिकलगायतका कार्यक्रम हुन्थे । यसपालि कोरोना संक्रमणलाई मध्यनजर गर्दै सडकमा कम जोखिम भएकाले सडकमा मात्र महोत्सव गर्ने निधो गरेका हौँ,’ उनले भने । 

होटेलमा ५० प्रतिशत छुट, ३० प्रतिशत अकुपेन्सी 
पोखराका होटेलहरूले विगतमा कोठामा ५० प्रतिशत छुट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राखेका छन् ।

पोखरामा अहिले ३० प्रतिशत होटेल अकुपेन्सी रहेको हान पोखराका पूर्वअध्यक्ष रहेका होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय भारतीय पर्यटकहरूको चहलपहल सुरु भएको छ । 

संघीय राजधानी काठमाडौं, चितवन, वीरगन्ज र नेपालगन्जबाट समेत पर्यटक आएका छन् । अंग्रेजी नयाँ वर्षको दिन होटेलहरूमा अकुपेन्सी ६० प्रतिशत पुग्ने अपेक्षा गरिएको पराजुलीले जानकारी दिए । 

हान पोखराका अध्यक्ष विकल तुलाचनले विगत १९ वर्षदेखि आफूहरूले ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरेको र त्यसको समेत प्रभाव देखिएको बताए । 

हान पोखराको आयोजनामा यस वर्ष पनि १० डिसेम्बरदेखि १४ डिसेम्बरसम्म चितवन, हेटौँडा, वीरगन्ज, जनकपुर हुँदै विराटनगरसम्म पुगेर जाउँ है पोखरा अभियानलाई निरन्तरता दिइएको थियो । 

त्यसैगरी अन्य पर्यटकीय संघसंस्थाहरूले समेत कोरोना संक्रमणकै बीच पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई पछिल्लो समय निरन्तरता दिएका छन् ।