१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
भैरहवास्थित श्री स्टिल्स उद्योग । तस्बिर : नयाँ पत्रिका
दीपेश पछाई काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:२९:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवा क्षेत्रमा थपिँदै उद्योग र होटेल, रुपन्देहीमा मात्रै उत्पादन उद्योगमा १ खर्बभन्दा बढी लगानी

भारतीय नाकाबन्दीमा वीरगन्ज, विराटनगरलगायत भन्सार नाका अवरुद्ध हुँदा भैरहवामा समस्या आएन, लगानीकर्ताको विश्वास आर्जन गर्न सफल

Read Time : > 4 मिनेट
दीपेश पछाई, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२९:oo

डेढ वर्षअघि रुपन्देहीको धकधकीमा २ अर्ब लगानीको टिएमटी फलामे छड उत्पादन गर्ने श्री स्टिल उद्योग सञ्चालनमा आयो । सिद्धार्थ ग्रुपका निर्देशक राजेश अग्रवालसहितको टिमले १० बिघा क्षेत्रफलमा सञ्चालन गरेको उद्योगबाट दैनिक ९ सय मेट्रिकटन डन्डी उत्पादन हुन्छ ।

सोलगत्तै भैरहवा आसपासको क्षेत्रमै करिब २ अर्ब लगानीमै सिद्धिलक्ष्मी स्टिल उद्योग सञ्चालनमा आयो । पछिल्लो समय भैरहवा, बुटवल र पश्चिम नवलपरासी क्षेत्रमा मात्रै ठूलो लगानीका आधा दर्जनभन्दा बढी स्टिल उद्योग खुलिसकेका छन् ।

भैरहवा–लुम्बिनी करिडोरमा लुम्बिनी गुरुयोजनाको १६ किलोमिटरवरपर उद्योग स्थापना गर्न नपाइने भएकाले नयाँ क्षेत्रमा विस्तार हुन थालेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । उनका अनुसार सोहीकारण उद्योगहरू भैरहवा–धकधई–परासी सडकखण्ड, भैरहवा–बुटवल सडकखण्ड र बेथरी–तामनगर सडकखण्डमा विस्तार हुन थालेको छ । 

पछिल्लो समय सरकारले रुपन्देहीको मोतीपुरमा नयाँ औद्योगिक क्षेत्र स्थापनाको तयारी गरेसँगै जिल्लामा उद्योगहरू थपिने क्रम बढ्दो छ । बुटवल औद्योगिक क्षेत्रलाई समेत समेट्दा रुपन्देहीमा उत्पादनमूलक क्षेत्रको १ खर्बभन्दा बढीको लगानी रहेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । अर्बभन्दा बढी लगानीका सिमेन्ट, छड उद्योगहरू रहेका कारण जिल्लामा औद्योगिक क्षेत्रमा लगानी ठूलो रहेको उनले बताए ।  

 रुपन्देहीमा २५ लाखदेखि ५० लाखसम्म लगानी भएका ५ हजार उद्योगहरू रहेका छन् । ती उद्योगहरूमा करिब २० अर्बभन्दा बढी लगानी छ । त्यसैगरी, ५० लाखदेखि अर्बभन्दा बढी लगानी भएका सयभन्दा बढी उद्योगहरू रहेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले बताए ।  

भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा अहिले ‘क’ वर्गका २० भन्दा बढी उद्योग छन् । भैरहवा–बुटवल करिडोरमा पञ्चकन्या, एसआर स्टिललगायत २१ वटा उद्योगहरू रहेका छन् । जगदम्बा सिमेन्टका प्रबन्ध निर्देशक विदुर ढुंगानाका अनुसार जिल्लामा खर्ब बढी लगानी रहेको छ ।

औद्योगिक करिडोरका रूपमा विकास भइरहेको भैरहवा–भुमही रोडको रामग्राममा एसियन कंक्रिट उद्योग सञ्चालनमा छ । मनीष रुंगटा, राजेश अग्रवाल, मनोज केडियाको लगानी रहेको उद्योगले दैनिक ५ सय मेट्रिकटन इँटा, ब्लक र टायल उत्पादन गर्छ ।

रुंगटा भन्छन्, ‘हाम्रो उद्योगमा करिब १ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।’ सोही करिडोरमा एक वर्षअघि आरएमसी समूहले पाल्पा सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । दैनिक १८ सय टन क्लिंकर उत्पादन क्षमता रहेको पाल्पा सिमेन्ट उद्योगमा ७ अर्बभन्दा बढी लगानी भइसकेको छ । 

मिठाई (पवनको पेडा) व्यवसायी पवनकुमार हलुवाईले भर्खरै भैरहवा–लुम्बिनी रोडमा पाँचतारे होटेल पवन प्यालेस सञ्चालनमा ल्याएका छन् । त्यस्तै, होटेल व्यवसायी सिपी श्रेष्ठले भैरहवास्थित आफ्नो तीनतारे होटेल नान्सको स्तरोन्नति गरी चारतारे बनाएका छन् ।

रुपन्देहीमै हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजको पाँचतारे होटेल टाइगर प्यालेस सञ्चालनमा आएको छ । भैरहवा–भूमही करिडोरको हकुईमा ०७४ चैतदेखि जर्मन बियर वार्सटाइनरले फ्याक्ट्री खोलेको छ । राज ब्रुअरीले साढे ३ अर्ब लगानी रहेको विश्वचर्चित बियर उद्योग राख्न भैरहवा क्षेत्रलाई रोजेको हो ।  

भैरहवादेखि नवलपरासीको भूमही (पूर्व–पश्चिम राजमार्ग) निस्किने सडकको आसपासमा धेरै उद्योग खुलिरहेका छन् । भैरहवा, बुटवल र पश्चिम नवलपरासी क्षेत्रमा ठूलो लगानीमा नयाँ–नयाँ उद्योगहरू खुल्नेक्रम बढेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् । महासंघका अध्यक्ष शेखर गोल्छाले पनि सोही करिडोरमा १ अर्ब हाराहारी लगानी गरेर बजाजको एसेम्बल्ड प्लान्ट सञ्चालनमा ल्याएका छन् । 

पछिल्लो पाँच वर्षमा भैरहवा र आसपासको क्षेत्रमा सिमेन्ट, डन्डी, खाद्यान्न, ब्रुअरी, होटेललगायतका क्षेत्रमा ठूलो लगानी भइरहेको सिद्धार्थ ग्रुपका अध्यक्ष अग्रवाल बताउँछन् । विश्वका बौद्धमार्गीहरूको पवित्र धार्मिकस्थल लुम्बिनी र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि भैरहवा र लुम्बिनीमा तारे होटेलमा लगानी होडबाजी चलिरहेको छ ।

केही वर्षभित्र भैरहवामा आधा दर्जन हाराहारी पाँचतारे होटेल सञ्चालनमा आउनेछन् । अन्तर्राष्ट्रिय बोर्डरनजिक र पश्चिम नेपालमा पहुँच विस्तार गर्न सहज भएका कारण भैरहवा धेरै उद्योगीको रोजाइमा पर्न थालेको मुरारका बताउँछन् । ‘०७२ सालमा भारतले गरेको नाकाबन्दीमा वीरगन्ज, विराटनगरलगायत भन्सार नाकाहरू अवरुद्ध हुँदा भैरहवामा समस्या भएन,’ उनी भन्छन्, ‘भारतीय नाकाबन्दीमा भैरहवाले विश्वास आर्जन गर्न सफल भयो ।

नाकाबन्दीपछि भैरहवा, बुटवल र भैरहवा–भूमही करिडोरमा ठूलो संख्यामा उद्योग खुलिसकेका छन् ।’ उनका अनुसार भैरहवा र आसपासमा ८ वटा डन्डी उद्योग छन् । पञ्चकन्या स्टिल, एभरेस्ट रिलोडिङ, गोयन्का स्टिल, लक्ष्मी स्टिल, फेरो स्टिल, श्री स्टिल, सिद्धिलक्ष्मी स्टिलमा ठूलो लगानी छ । यही क्षेत्रमा अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्ट सञ्चालनमा छन् । जसले कुल सिमेन्ट उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्ने मुरारकाको दाबी छ । भैरहवादेखि लुम्बिनीतर्फको रोडमा आधा दर्जन ग्रान्डिङ उद्योग सञ्चालनमा छन् । 

भैरहवा–लुम्बिनी रोडमा सिई ग्रुप र एस होटेल समूहले महत्वाकांक्षी परियोजना ‘हब लुम्बिनी’ बनाउँदै छ । सिई ग्रुपका अध्यक्ष विजय राजभण्डारीका अनुसार होटेल, अपार्टमेन्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, मुभी थिएटर, मनोरञ्जन पार्क, रेस्टुरेन्टहरू रहने बृहत् परियोजना छिट्टै निर्माण सुरु हुनेछ ।

विदेशमा धागो निर्यात गर्ने शंकर ग्रुपको जगदम्बा स्पिनिङ मिल पनि भैरहवामै छ । सोही क्षेत्रमा रहेको जगदम्बा सिन्थेटिक उद्योगले प्लास्टिकका बोरा उत्पादन गर्छ । एउटै छानामुनि यति ठूलो उद्योग नेपाल र भारतमै पहिलो भएको मुरारका बताउँछन् । 

 भैरहवामा औद्योगिक विकास हुनुका कारण
भैरहवा क्षेत्रमा श्रम सम्बन्ध असल भएकै कारण उद्योगीहरूको नजर पर्न थालेको व्यवसायीहरू बताउँछन् । वीरगन्ज, विराटनगरलगायत मुख्य नाकाहरू तनावग्रस्त हुँदा पनि भैरहवा नाका सञ्चालनमा रहेका कारण पनि यो क्षेत्रले विश्वास कमाएको महासंघका पूर्वअध्यक्ष मुरारका बताउँछन् ।   

अर्को राम्रो पक्ष, भैरहवाको भारतसँगको राम्रो कनेक्टिभिटी छ । भारतको नौतुन्ना ८ किलोमिटर दूरीमा छ, जहाँ रेल कुद्छन् । भारतको गोरखपुर पनि ८० किलोमिटर दूरीमा छ, त्यहाँ रेल र अन्तर्राष्ट्रिय एयरपोर्ट छ । जसले गर्दा भारतका कुनाकाप्चासम्म यात्रा गर्न र तयारी मालवस्तु ढुवानी गर्न पनि सहज भयो । भैरहवा क्षेत्रमा चुन ढुंगाको उपलब्धता भएका कारण सिमेन्ट उद्योगको आकर्षण भयो ।  

लुम्बिनी र अन्तर्राष्ट्रिय एयरपोर्टका कारण पर्यटक ओइरिने आशाले तारे होटेलमा लगानी बढिरहेको व्यवसायी बताउँछन् । बुटवल, भैरहवा, कपिलवस्तु र नवलपरासीमा मिक्स्ड कम्युनिटी छ । यो ठाउँमा खर्चालु मान्छे बसोवास गर्छन् । राम्रा हस्पिटल, मेडिकल कलेज, स्कुल तथा कलेजहरू छन् । सोही कारण भैरहवा र बुटवलमा अधिकांश बैंकले शाखा खोलिसकेका छन् ।

भैरहवामा देशकै दोस्रो ठूलो नाका हुन अर्को बलियो पक्ष भारततर्फ फोरलेन र नेपालतर्फ ६ लेनको सडक बनिसकेको छ । पूर्वी नेपालमा र पश्चिम नेपालमा सामान ढुवानी गर्न सडक राम्रो छ । आयात र निर्यातका लागि पनि अन्य नाकाको तुलनामा भैरहवा अलि सहज छ ।

 भैरहवा क्षेत्रका समस्याहरू
व्यवसायीहरूका अनुसार भैरहवा र आसपासका क्षेत्रमा औद्योगिक विकासको सबैभन्दा ठूलो बाधक पर्याप्त बिजुली उपलब्ध नहुनु हो । यो क्षेत्रमा मागअनुसारको विद्युत् नपाइने व्यवसायीहरू बताउँछन् ।

सिद्धार्थ ग्रुपका अग्रवाल भन्छन्, ‘यदि भैरहवामा बिजुलीको राम्रो व्यवस्था हुन्थ्यो भने अहिलेभन्दा निकै धेरै उद्योग खुलिसकेका हुन्थे । जेनेरेटर चलाएर उद्योग चलाउँदा निकै खर्चिलो हुने गर्छ । यतिसम्म कि मुलुकको एक मात्र विशेष आर्थिक क्षेत्र (सेज)मा पनि अझै बिजुली पुगेको छैन ।’ 

नजिकै मुलुककै दोस्रो ठूलो भन्सार छ, तर कार्यसम्पादन राम्रो छैन । भन्सारमा सामान छुट्याउन जहिल्यै समस्या भइरहन्छ । भारतबाट सामान बोकेर आउने ट्रक–कन्टेनरको लामो लाइन भइरहन्छ । ‘भन्सारमा पर्याप्त कर्मचारी राखेर सामान फटाफट क्लियर गरिदिए सजिलो हुन्थ्यो,’ उनी भन्छन्, ‘भन्सारमा पास गर्ने गाडीको लाइन अत्यासलाग्दो लामो हुन्छ ।’ ट्रक पार्किङ गर्ने ठाउँ छैन ।

एकीकृत जाँचचौकी (आइसिपी) निर्माण नहुँदा समस्या भोगिरहनुपरेको व्यवसायीको गुनासो छ । भन्सारमा पर्याप्त भौतिक संरचनाको अभाव हुनु र सुक्खा बन्दरगाह नहुनु पनि यहाँको मुख्य समस्या हो ।  स्थानीय व्यवसायीहरूका अनुसार पछिल्लो समय भैरहवा र आसपासको क्षेत्रमा जग्गा खरिद गरेर उद्योग सञ्चालन गर्ने अवस्था छैन । उद्योग चलाउनका लागि ठूलो क्षेत्रफलको जग्गा आवश्यक पर्छ ।

अग्रवालका अनुसार भैरहवा–बुटवल खण्डमा घडेरी किन्न पनि नसकिने अवस्था भइसक्यो । धमाधम उद्योग खुल्न थालेपछि भैरहवा–भूमही खण्डमा पनि जग्गाको भाउ अकासिएको छ । ‘आजभन्दा ८–१० वर्षअघिसम्म वीरगन्ज र विराटनगरको तुलनामा भैरहवा आसपासतिर जग्गाको भाउ अत्यन्तै कम थियो, अहिले जग्गा किन्नै नसकिने भइसक्यो,’ मुरारका भन्छन्, ‘भैरहवामा जग्गाको मूल्य अकासिँदै जानु औद्योगीकरणका लागि मुख्य अवरोध हो ।’

ad
ad