मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १४ मंगलबार २०:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारविरुद्ध चार कम्युनिस्ट पार्टीको मोर्चाबन्दी, विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १४ मंगलबार २०:००:००

विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका हुन् । ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको उनीहरूको ठहर छ । 

चार पार्टीको प्रेस वक्तव्य जस्ताको तस्तै
संविधानसभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, दमन र उत्पीडन गर्दै आएको छ । 
कथित नयाँ संविधानअनुसार भएको चुनावबाट खड्गप्रसाद ओलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको छ । वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएका जनघात, राष्ट्रघात र चरम भ्रष्टाचारी कदमहरूको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौँ । त्यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुईतिहाइ बहुमत रहेको भनिएको कम्युनिस्टको खोल ओढेको केपी सरकारले पुस ५ गते संसद् विघटन गरेको छ । पछिल्ला घटनाहरूप्रति हामी तपसिलका पार्टीहरूको गम्भीर ध्यानाकर्षण भएको छ । 

१. वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनताबीचको अन्तर्विरोध चर्किंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरूका बीचमा पनि अन्तर्विरोध चर्कंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ । 

२. केपी ओलीको कदम निरंकुश एवं फासीवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो । 

३. अहिले देश र जनताले भोगेका समस्याको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र–वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।

४. केपी वली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी चार पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ । 

विप्लव  
महासचिव, नेपाल कम्युनिस्ट पार्टी

किरण 
महासचिव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

ऋषिराम कट्टेल                         
 अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी   

आहुति

संयोजक,  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

मिति : १४ पुस, २०७७