१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष १४ मंगलबार ०८:३५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रहरी हत्याका मुख्य अभियुक्त पक्राउ

Read Time : > 1 मिनेट
२०७७ पौष १४ मंगलबार ०८:३५:००

धनगढीमा दुईजना प्रहरीको हत्या घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई प्रहरीले पक्राउ गरेको हो । 

घटनापछि फरार रहेका उनलाई भारतमा लुकेर बसेको प्रहरीले बताउँदै आएको थियो । भारतबाट नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रदेश र जिल्ला प्रहरीको संयुक्त टोलीले धनगढी–१९, फुलबारीस्थित सीमाक्षेत्रबाट आइतबार बेलुकी उनलाई पक्राउ गरेको एसपी अनुपम शमशेर जबराले बताए । 

धनगढी–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असइ गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको १ कात्तिक राति हत्या भएको थियो । राति गस्तीमा गएका विक र साउँदको हत्या नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने समूहले गरेको खुलेको थियो ।

हत्याका मुख्य योजनाकार सुकवीर रहेको एसपी जबराले बताए । रानाको घरमा जम्मा भएको तस्करको समूहले रक्सी पिउँदै हत्याको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका घरेलु हतियार पनि मुख्य योजनाकार रानाकै घरबाट लगिएको एसपी जबराको भनाइ छ । असइ विकले केराउ तस्करी रोक्न थालेपछि हत्या गरिएको खुलेको थियो ।

हत्या अभियोगमा पक्राउ परेका आठजना अभियुक्त पुर्पक्षका लागि यसअघि नै कारागार चलान भइसकेका छन् । धनगढी–१० का पर्कु भनिने ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना र २२ वर्षीय रामनिवास राना जेलमा छन् । यस्तै हत्याका अभियुक्त टल्लु भनिने २९ वर्षीय दलराम राना, गोपाल भनिने २५ वर्षीय रामगोपाल राना र २० वर्षीय रोहित राना पनि कारागार चलान भएका छन् । 

उनीहरू घटनालगत्तै पक्राउ परेका थिए । प्रहरी हत्या घटनासँग जोडिएको केराउको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी राजीव गुप्ता भने एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । ‘हत्यामा संलग्नहरू विगतदेखि नै सीमाक्षेत्रमा हुने तस्करीमा सक्रिय रहेको अनुसन्धानले देखाउँछ,’ एसपी जबराले भने, ‘तस्करीमा प्रहरी अवरोध बनेपछि योजनाबद्ध रूपमा हत्या भएको हो ।’ 

नेपालबाट भारततर्फ केराउ तस्करी भइरहेका वेला रोक्न खोजेपछि प्रहरीको हत्या भएको थियो । तस्करले दुवैजनाको हत्या गरी नेपाल–भारत सीमाक्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए ।