१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:२o:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पारिवारिक कलहले लुम्बिनी सुगर मिलको दुर्दशा

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२o:oo

उखु किसानको ८ करोड ४० लाख बक्यौता राखेको लुम्बिनी चिनी मिलका सञ्चालकहरू पारिवारिक अंशबन्डामा व्यस्त छन् । किसानहरू बक्यौता उठाउन आन्दोलन गरिरहँदा सञ्चालकहरू किसानको सम्पर्कमै आउन चाहेका छैनन् । सरकारी स्वामित्वको लुम्बिनी सुगर मिल निजीकरण गरेपछि उद्यमी मनीष अग्रवालले ०६२ सालमा भाडामा लिएर सञ्चालन गरेका थिए ।

ब्लड क्यान्सरबाट ०७४ माघमा ४५ वर्षीय मनीषको निधन भएपछि मिलमा समस्या देखिएको हो । सोही वर्ष बुबा हरिप्रसाद अग्रवालको पनि निधन भएपछि परिवारमा कलह देखिन थाल्यो । परिवारका अधिकांश उद्योग–व्यवसाय बुबा हरिप्रसाद तथा छोराहरू मनोज र मनीषले हेर्दै आइरहेका थिए । नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत माइला भाइ डा. मुकेश व्यापारमा सक्रिय भएनन् ।

पतिको निधनपछि श्रीमती सुशीला गोयलले लुम्बिनी सुगर मिलको जिम्मेवारी लिने इच्छा व्यक्त गरिन् । व्यापार–व्यवसायमा सहभागी नै नभएकी सुशीलाले माइतीको सहयोगमा मिल चलाउन चाहिन् । मनीषको निधन हुँदा मिलको १० हजार कित्तामध्ये १ सय कित्ता सेयर श्रीकृष्ण ग्रुपको नाममा थियो भने बाँकी मनीष र सुशीलाका नाममा ।

सुशीलाले इच्छा देखाएपछि उनैलाई मिल सञ्चालन गर्न दिइयो । सुशीलालाई व्यापारको अनुभव नभएकाले उनका दाजु कैलाश गोयलले मिल चलाए । मनीषको निधन भएको वर्ष र ०७५ सालको सिजन गरी दुई सिजन कैलाशकै व्यवस्थापनमा मिल सञ्चालन भयो ।

चिनी, स्प्रिटलगायतका उत्पादन पनि बिक्री गरियो । तर, उखुको भुक्तानी, कर्मचारीको तलब, बिजुलीको महसुल, सरकारलाई तिर्नुपर्ने भाडालगायतका रकम भुक्तानी नगरी मिल पुनः अग्रवाल परिवारकै जिम्मा लगाउन खोजियो । यसबीचमा सुशीलाका दाजु कैलाशले सुगर मिलकै नाममा एनएमबि बैंकबाट ८ करोड कर्जा पनि लिए । तर, दायित्वको भारीसहित मिल जिम्मा लिन अग्रवाल परिवार तयार नभएपछि कलह सुरु भयो । सुशीलाले अदालतमा अंश मुद्दा हालिन् । कलहकै कारण उखुको भुक्तानी त भएन नै, गत वर्ष उखु क्रसिङ पनि भएन ।   

उद्योगको १० हजार कित्ता सेयरमध्ये परिवारको श्रीकृष्ण समूहसित १ सय कित्ता मात्र सेयर थियो । तर, बैंकले कर्जा असुलीका लागि श्रीकृष्ण समूहसँगै ताकेता र सम्पत्ति रोक्का गर्न थालेपछि अग्रवाल परिवार सम्पूर्ण दायित्व सकार्दै मिलापत्र गर्न तयार भयो । अदालतकै रोहबरमा भएको मिलापत्रअनुसार मनोजले करिब ६० करोड रुपैया“ दायित्वसहित लुम्बिनी सुगर कारखाना सकारेका छन् ।

उद्योग तथा कम्पनीको सेयर ट्रान्सफर गरी हक हस्तान्तरण हुन बा“की छ । कम्पनीको सेयर लेखाजोखा गरेर ट्रान्सफर गर्न एक महिनाभन्दा बढी समय लाग्ने अग्रवाल परिवारनजिकका व्यक्ति केशव बोहरा बताउँछन् । उनका अनुसार स्वामित्व कायम नभइसके पनि मिल मर्मतको काम भइरहेको छ । मनोजले यही वर्षदेखि नै उद्योग आंशिक सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

चीन सरकारको अनुदान सहयोगमा ०४६ सालमा नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना लिमिटेड स्थापना भएको थियो । यो उद्योग सरकारको १० करोड र चीनको ३० करोड लगानीमा स्थापित भएको हो । ८६ बिघा क्षेत्रफलमा फैलिएको चिनी मिल सरकारले १७ वर्षसम्म सञ्चालन गरेको थियो ।

सुरुवाती समयमा राम्रोसँग चलिरहेको कारखाना खस्किन थालेपछि सरकारले निजीकरण गरिदिएको हो । सरकारले त्यतिवेला मिल र स्प्रिट प्लान्टका मेसिन तथा पार्टपुर्जा ७ करोडमा बिक्री गरेको थियो भने भवन तथा जग्गाको वार्षिक ४२ लाख रुपैयाँ भाडा दिने गरी २५ वर्षको सम्झौता भएको बोहरा बताउँछन् ।

सम्झौता सकिन अझै १० वर्ष बाँकी रहेकाले मनोज मिल चलाउन कस्सिएका हुन् । नियमित मर्मत–सम्भारसमेत रोकि“दा मेसिन पनि बिग्रिसकेका छन् । उद्योगलाई प्रतिस्पर्धी बनाएर चलाउनका लागि मेसिन र प्रविधिमा ठूलो लगानी गर्नुपर्ने चिनी मिल सञ्चालकहरू बताउँछन् ।

बोहराका अनुसार मनीषले लुम्बिनी मिल चलाउँदासम्म किसानको रकम नियमित बुझाउँदै आइरहेका थिए । श्रीमती सुशीलाले जिम्मा लिएपछि किसानको बक्यौता रकम थपिँदै गएको हो । लुम्बिनी चिनी मिलले किसानलाई ३–४ वर्षदेखिको बक्यौता दिन बाँकी रहेको छ ।

अहिले किसानको बक्यौता रकम पनि आफूले तिर्ने गरी मनोजले मिलको स्वामित्व लिँदै छन् । ‘घरायसी किचलोका कारणले लुम्बिनी सुगर मिल बन्द हुँदा किसानहरू मारमा परेका हुन्, किसानको पैसा खाने परिवारको मनसाय होइन,’ बोहरा भन्छन्, ‘उद्योग जसको भागमा परेको छ, उहाँले नै किसानको बक्यौता बैंकबाट ऋण लिएर भए पनि तिर्नुहुन्छ ।’

यस्तै, सुशीलाले सरकारलाई तिर्नुपर्ने भाडा रकम पनि ३–४ वर्षदेखि तिरिएको छैन । तर, अब कारखाना चलाएर नाफा कमाउने योजना बनाउनु मूर्खता मात्र हुने व्यवसायीहरू बताउँछन् । ‘कारखानाका मेसिनहरू जीर्ण भइसकेका छन् भने प्रविधि धेरै पुरानो भइसकेको छ,’ चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल भन्छन्, ‘अहिले घटीमा पनि दैनिक ३ देखि ४ हजार मेट्रिकटन उखु क्रसिङ गर्ने कारखाना नभएसम्म टिक्न सकिँदैन ।’ 

बोहराका अनुसार लुम्बिनी चिनी मिलको दैनिक क्रसिङ क्षमता १ हजार मेट्रिकटन मात्र रहेको छ । सरकार तथा अग्रवाल परिवारले उद्योगको क्षमता अभिवृद्धि गर्नेतर्फ ध्यान नदिएपछि पछि खुलेका उद्योगहरूले पनि लुम्बिनी सुगर मिललाई धेरै पछाडि पारिसकेका छन् ।

शशिकान्तका अनुसार चिनी कारखानालाई बर्सेनि मर्मत–सम्भार र अपग्रेड गर्दै जानुपर्छ । मेसिन अपग्रेड नहुँदा लुम्बिनी चिनी मिलले उखु क्रसिङ गर्दा रिकभरी ७ प्रतिशतभन्दा बढी आएन, जबकि अरू उद्योगमा ९ प्रतिशतभन्दा बढी रिकभरी आइरहेको छ । शशिकान्त भन्छन्, ‘७ प्रतिशत रिकभरीले किसानलाई उखुको मूल्य पनि बुझाउन नपुग्ने अवस्था आउँछ ।’ 

लुम्बिनी चिनी मिलबाट ७ प्रतिशतभन्दा बढी रिकभरी आउन नसकेको स्विकार्दै बोहरा भन्छन्, ‘अब कारखाना चलाउँदा ९ प्रतिशतसम्म रिकभरी आउने गरी काम गर्नुपर्छ ।’ रिकभरी ९ प्रतिशतभन्दा बढी निकाल्न पहिलो सर्त कारखानाको मेसिन र प्रविधि आधुनिक हुनुपर्छ । दोस्रोमा उखुको गुणस्तर पनि राम्रो हुनुपर्छ ।

लुम्बिनी चिनी मिल नाफामा जान नसक्नुको पछाडि दुवै कारण हाबी भएको चिनी उत्पादकहरू बताउँछन् । नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रमा जहिल्यै उखुको अभाव भइरहने र गुणस्तर पनि कम हुने समस्या रहिरह्यो । यसैले पनि त्यही क्षेत्रमा सञ्चालित महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल सारेर सर्लाही पुर्‍याइएको छ । 

‘लुम्बिनी चिनी मिल चलाउँदा कुनै वर्ष नाफा र कुनै वर्ष नोक्सान भइरहन्थ्यो । नाफा हुँदा पनि निकै न्यून हुने गथ्र्यो,’ बोहराले भने, ‘अब कारखानाको प्रविधिमा सुधार गर्दै किसानलाई पनि उच्च जातको उखु लगाउन प्रोत्साहन गरेर रिकभरी ९ प्रतिशत निकाल्नुपर्छ ।’ उद्योगको क्रमिक रूपमा सुधार गर्दै प्रतिस्पर्धी बनाएर सञ्चालन गर्ने मनोज अग्रवालको सोच छ । ‘किसानको बक्यौता रकम तिरेर उनीहरूलाई उच्च जातको उखु लगाउन बिरुवा उपलब्ध गराउनेदेखि उनीहरूका उत्पादन उचित मूल्यमा किनिदिने सुनिश्चितता गरिन्छ,’ उनी भन्छन् ।

घाटा सहेरै भए पनि यही सिजनदेखि नै लुम्बिनी सुगर मिल चलाउने मनोजको अठोट छ । अहिले नेपालमा ११ वटा चिनी उद्योग सञ्चालनमा छन्, जसले वार्षिक १ लाख ७० हजार मेट्रिकटन चिनी उत्पादन गर्छन् । शशिकान्तका अनुसार अहिले मुलुकमा चिनीको माग वार्षिक करिब २ लाख ७० हजार मेट्रिकटन रहेको छ । पछिल्लो समय केही चिनी मिलहरूले पैसा भुक्तानी नियमित नगरेपछि किसानहरू अरू खेतीतर्फ लाग्दा चिनी उत्पादन घट्दो क्रममा रहेको बताइन्छ ।  

सुशीलाका दाजु  कैलाश गोयल के भन्छन् ?
लुम्बिनी चिनी मिल हाम्रो होइन । मनीष अग्रवाल (ज्वाइँ)को हो । ज्वाइँ बितेपछि बहिनी सुशीलाले चलाएकी हुन् । मैले लुम्बिनी सुगर मिल चलाइनँ । लुम्बिनी सुगर मिल मेरो स्वामित्वमा रहेको उद्योग पनि होइन । लुम्बिनी चिनी मिलको विवाद उहाँहरूको परिवारको आन्तरिक मामिला हो ।

मेरो सरोकारको विषय होइन । उहाँहरूको परिवारले नै विवाद मिलाउने हो । अहिले सायद परिवारको अंश विवाद टुंगिसकेको छ । ज्वाइँ बितेपछि दुई वर्ष उद्योग चलेको हो । गत वर्ष उद्योग चलेन । सायद यस वर्ष उहाँहरूले मिल चलाउनुहुन्छ ।

ad
ad