मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष ५ आइतबार ०९:०१:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाली पुस्तक किन महँगो ?

Read Time : > 3 मिनेट
२०७७ पौष ५ आइतबार ०९:०१:००

साहित्यकार भन्छन्– ‘आममानिसमा पुग्नुपर्ने पुस्तकको मूल्य धेरै राख्दा पाठक र लेखकबीचको ग्याप बढ्दै जान्छ, यसले कालान्तरमा लेखकलाई नै घाटामा पुर्‍याउँछ ।’

केही समयअघि लेखक साहित्यकार कुमार नगरकोटीको पुस्तक ‘कल्प ग्रन्थ’ले साहित्यप्रेमीमाझ सामाजिक सञ्जाल ततायो । विशेषगरी पुस्तकको मूल्यलाई लिएर सकारात्मक र नकारात्मक प्रतिक्रिया आए । पुस्तकको प्रि–अर्डरका लागि आह्वान गर्दै बुक हिल पब्लिकेसनले विज्ञप्तिमा भनेको छ, ‘यो पुस्तक जति ग्राहकले प्रि–अर्डर गर्छन्, त्यतिप्रति मात्र छापिनेछ । देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन ।’ 

बुक हिल पब्लिकेसनका अनुसार पुस्तक पसलमा नभेटिने यो पुस्तक लेखक नगरकोटीको हस्ताक्षरसहितको पुस्तक अर्डर गर्ने पाठकलाई उपलब्ध गराइनेछ । तर, पुस्तकको मूल्यलाई लिएर सामाजिक सञ्जाल तातियो । मूल्य राखिएको छ, २०२१ रुपैयाँ । मूल्यमाथि टीकाटिप्पणी भइरहँदा नेपाली प्रकाशन गृहको पुस्तक महँगो भएको विषयमाथि पनि छलफल भए । क्रिया, प्रतिक्रिया तथा विभिन्न धारणा आए ।

तर, विदेशको तुलनामा नेपाली साहित्यिक पुस्तकको मूल्य बजारमा भनिएजस्तो महँगो नभएको बताउँछन् बुक हिल पब्लिकेसनका भूपेन्द्र खड्का । नगरकोटीको पुस्तकमाथि जति आलोचना भए पनि पाठकको हातमा पुस्तक परेपछि त्यो मूल्य महँगो नभएको पाठकलाई महसुस हुने पनि उनको दाबी छ । ‘नेपाली प्रकाशन गृहका पुस्तक धेरै सस्तो हो । अर्को कुरा, सिर्जनाको मूल्य भन्ने कुरै हुँदैन । लेखनको, लेखकको ब्रान्डको मूल्य हुन्छ,’ खड्का भन्छन्, ‘हामी अरू कुनै प्रोडक्टको मूल्य बढ्दा केही भन्दैनौँ । दुई रुपैयाँ बढाएर खर्बौँ प्याकेट चाउचाउ चौधरी ग्रुपले बेच्दा हामी बोल्दैनौँ । तर, पुस्तकको मूल्यमाथि आलोचना गर्छौं ।’ 

तर, केही हदसम्म नेपाली पुस्तक महँगै भएको जिकिर फिनिक्स पब्लिकेसनका प्रकाशक गणेश सुवेदी बताउँछन् । उनका अनुसार नेपाली साहित्यिक पुस्तक महँगो हुनुको कारण विविध भए पनि पछिल्लो समय नेपाली प्रकाशक बढी नाफामुखी भएको उनको दाबी छ । ‘हामी मूल्य बढाएर जबर्जस्ती पाठकलाई तान्न खोजिरहेका छौँ । त्यो गलत प्रवृत्ति हो । प्रकाशकले निश्चित मूल्य नाफा राख्नैपर्ने भएपछि पाठक र लेखकबीच पुलको काम गर्ने अभिभारालाई कुल्चिएका छौँ,’ सुवेदी भन्छन्, ‘हाम्रो बजार पनि सानो छ । सानो बजारका कारण पाठक विभाजित छन् । तर, हामी प्रकाशक सोकल्ड बनिरहेका छौँ । हाइफाई देखाउनु छ, खर्च राम्रैसँगले गर्नु छ । अनि त्यो तडकभडकको पैसा पाठकबाट असुल्न खोजिरहेका छौँ ।’

                                                     ...

नेपाली पुस्तकको बजारमा नियमनकारी निकाय छैन । कुनै मापदण्ड छैन । यति पेजको यति मूल्य हुनुपर्छ भनेर मापदण्ड नहुनु र अनुगमन नहुनुले पनि पाठक मारमा परेको सुवेदीको तर्क छ । अनुगमनको विषय अगाडि बढेमा केही सहज हुने बताउँछन् उनी । ‘बढी पुस्तक छापिँदा मूल्य कम हुन सक्छ । कम छापिँदा बढी हुन सक्छ । तर, हाम्रो बजार व्यवस्थित छैन । जो पनि प्रकाशक र जसले जे गर्दा पनि भएको छ,’ सुवेदी भन्छन्, ‘केही लेखकलाई ब्रान्डिङ गरेर अगाडि लाने हो भने धेरै उत्पादन गर्ने उद्देश्य राख्नुपर्छ । धेरै बेचेर नाफा राख्ने या कमाउने सोचबाट हामीले काम गर्नुपर्छ कि लाग्छ ।’

सरकारले आर्थिक वर्ष २०७६/७७ बाट आयातीत पुस्तकमा कर हटाउने निर्णय गर्‍यो । आयातीत पुस्तकमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्थालाई हटायो । भन्सार विभागको तथ्यांकअनुसार ७५ देशबाट पुस्तक आयात भइरहेका छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा कर लगाउने नीति ल्याएपछि सरकारको चौतर्फी विरोध भएको थियो । पुस्तकमा लगाइएको करलाई लिएर आन्दोलन पनि भएका थिए ।

तर, विदेशमा छापिएर आउने पुस्तकमा भने कर यथावत् रहने सरकारले निर्णय गरेको थियो । यसले नेपाली मुद्रण क्षेत्रलाई फाइदै पुग्ने विश्लेषण पनि गरिएको थियो । तर, सरकारले पुस्तकमाथि कर हटाएर नेपाली पाठकलाई के फाइदा हुन्छ त ? कर हटेर पनि मूल्यमा कुनै असर नगर्ने खड्काको भनाइ छ । कागजको मूल्य वृद्धि, प्राविधिक विषयहरू पनि जोडिने भएकाले मूल्यमा खासै अन्तर नहुने उनी बताउँछन् । हरेक तीन तीन महिनामा कागजको मूल्य बढिरहने, कागज महँगो भइरहने भएकाले किताबको खर्च बढी हुने उनको तर्क छ । भन्छन्, ‘तर, नेपाली पाठकलाई मारमै पर्ने गरी हामीले मूल्य बढाएका छैनौँ । पाठकहरूले त्यो बुझिदिनुपर्छ ।’

                                             ...

सरकारले किताबमा कर लगाएपछि पुस्तकप्रेमीहरू गत वर्ष आन्दोलनमा उत्रिए । यसमा प्रकाशकहरूको पनि हात रह्यो । तर, त्यति आन्दोलन गरेर पनि मूल्यमा फेरबदल हुँदैन भने, झनै महँगो हुन्छ भने आफूहरूको आन्दोलनको औचित्य नै नभएको अभियान्ता नवीन तिवारी बताउँछन् । ‘महँगी बढ्नुमा आपत्ति छ । किताब भने सर्वसुलभ हुनुपर्ने हो । जुन तरिकाले मूल्य बढाइएको छ, त्यसले लेखकलाई लेखकसँग, पाठकलाई पाठकसँग सीमित गरिदिन्छ । यो लेखकका लागि पनि राम्रो होइन,’ तिवारी भन्छन्, ‘यसरी मूल्य बढ्दा लेखकलाई पनि मार पर्छ । उसले पाठकसँग दूरी बढाउँदै जान्छ । किताबलाई त सके सर्वसुलभ गराउने हो ।’ नेपाली पाठकले किनेर पढ्न नसक्ने गरी महँगो बनाउँदा पाठक स्वाभाविक रूपमा मारमा पर्ने उनी बताउँछन् । यसरी किताबलाई सीमित व्यक्तिको हातमा मात्र राख्न खोजिएको तिवारीको तर्क छ ।

किताबमा कर अभियानका अर्का अभियान्ता सौरभ कार्की हिजोका दिनमा सरकार गलत भएको र आजका दिनमा प्रकाशकले गलत गरिरहेको बताउँछन् । यसमाथि सरकारले नियमन गर्नुपर्ने उनको तर्क छ । ‘अहिले प्रकाशकहरूले पाठकका लागि सोचेका छैनन् । तर, नगरकोटीको किताब महँगो हुँदा आत्तिनुपर्दैन । मन लागे पढ्ने हो, नलागे नपढ्ने हो । तर, रिफ्रेन्सका लागि, विश्वविद्यालयका लागि पनि चाहिने पुस्तकहरूमा प्रकाशकले महँगो बनाइदिएकै हो,’ कार्की भन्छन् ।

नेपाली प्रकाशन गृहका किताब बजारमा भनिएजस्तो महँगो नभएको दाबी छ शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलको । तर, उनै पौडेलले यस वर्षको मदन पुरस्कार विजेता उपन्यास ‘महारानी’को मूल्य पाँच सय राखेका छन् । जब कि पहिला ३६८ पेजको पुस्तकको मूल्य चार सय पचास रुपैयाँ थियो । यसबारे पौडेल भन्छन्, ‘तर, पुस्तक महँगो छैन शिखा बुक्सको । जोकोही पाठकसँग मेरो प्रकाशन गृहबाट आएका पुस्तक अगाडि राखेर कुरा गर्न सक्छु ।’ जसरी बजारमा महँगो भयो भनिन्छ, भनिएजस्तो नेपाली प्रकाशन गृहका पुस्तक महँगो नभएको र महँगो पुस्तक नकिन्ने छुट पनि पाठकलाई भएको बताउँछन् पौडेल । 

नाम उल्लेख नगर्ने सर्तमा एक लेखिका भन्छिन्, ‘किताब आममानिसमा पुग्नुपर्ने विषय हो । सर्वसाधारणको पहुँचमा थोरै मूल्यमा पुग्नुपर्ने हो । तर, प्रकाशकहरूले किताब आममान्छेको पहुँचमा पुगोस् या नपुगोस् भनेर मनोमानी मूल्य राख्नुहुन्न । मूल्यकै कारण कोही ज्ञान आर्जनबाट वञ्चित गराउने काम गर्नुहुन्न ।’ अहिले मूल्य महँगो बनाउने काम फेसनजस्तो भएको कवि चन्द्र रानोहछाँ बताउँछन् । किताबको मूल्यले लेखनको मापन नगराउने भन्दै भन्छन्, ‘मूल्य बढाउँदा अहिलेलाई ठीक छ । तर, कालान्तरमा पाठक र लेखकको ग्याप बढ्दै जान्छ । यसले कालान्तरमा लेखकलाई नै घाटामा पुर्‍याउँछ ।’