
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा स्थापना हुन लागेको एस्फाल्ट प्लान्टको विरोधमा स्थानीय उत्रिएका छन्। सोमबार राखिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले प्लान्टको चर्काे विरोध गरेका छन् । सुनुवाई कार्यक्रममा झडप हुने देखिएपछि ठूलो संख्यामा प्रहरी खटाइएको थियो ।
वातावरणीय प्रदूषण मूल्यांकन नै नगरी मन्दिरको छेउमा यस्तो प्लान्ट स्थापना गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । नेपाली कांग्रेस बाहेक सबै दलले संयुक्त बिज्ञप्ति निकालेर प्लान राख्न नहुने बताएका छन् । नागरिकको स्वास्थ्यमा खेलवाड गर्न लागेको स्थानीयको आरोप छ।
वडा नम्बर ८ र ९ को सीमामा रहेको लिच्छविकालीन इतिहास बोकेको स्वर्णेश्वर महादेव मन्दिर र सोसँग जोडिएको बस्तीहरूलाई असर पर्ने गरी प्लान्ट निर्माण अघि बढाएपछि स्थानीयले मेयर महेश खरेलमाथि समेत आक्रोश पोख्दै आएका छन् ।
बन्दन भगवती निर्माण प्रालिले सो प्लान्ट बनाउन लागेको हो । सो कम्पनीका सञ्चालक मुकेश पन्तको पाँचखालका मेयर खरेलका निकटस्थ हुन् । मेयरकै आडमा उनले यसरी प्लान निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले मेयर खरेलको समेत आलोचना गरेका छन्।
यसअघि १८ साउनमा राखिएको सार्वजनिक सुनुवाई पनि विरोधपछि असफल भएको थियो। बन्दन भगवती निर्माण प्रालिका सञ्चालक पन्तले भने गत साता पत्रकार सम्मेलन गरी प्रदुषण नहुने गरी आफुहरुले प्लान्ट स्थापना गर्न लागेको बताएका थिए । तर, प्लान्टले पाँचखालबासीलाई कुनै फाइदा नहुने र प्रदुषण मात्र बढ्ने भन्दै स्थानीय आन्दोलित भएका छन् । यस विषयमा संसदमा समेत सांसद मीना तामाङले विरोध गरेकी छिन् ।