१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
हुलाक र वडा कार्यालयअगाडि फालिएको फोहोर । गौरादहमा डम्पिङ साइट नभएकाले बजारबाट उत्पादित फोहोर यहीँ फाल्ने गरिन्छ । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारी कार्यालय बन्यो डम्पिङ साइट

गौरादह बजारको फोहोर वडा र हुलाक कार्यालय परिसरमा फालिँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:५o:oo

सरकारी कार्यालय परिसरमै फोहोर फालिएपछि त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही तथा स्थानीयले सास्ती खेप्नुपरेको छ

झापाको गौरादह–१ मा रहेको वडा कार्यालय र हुलाक कार्यालय परिसर फोहोर फाल्ने डम्पिङ साइट बनेको छ । सरकारी कार्यालय परिसरमा फोहोरको डंगुर हुँदा सम्बन्धित निकाय भने मौन छ । 

दुर्गन्धित फोहोरका कारण कर्मचारी र सेवाग्राही भने कार्यालयमा बस्नै नसक्ने अवस्थामा पुगेका छन् । यो ठाउँमा नगरबाट उत्पादित फोहोर वर्षौंदेखि फालिँदै आएको छ । गौरादहमा अन्त कहीँ फोहोर फाल्ने ठाउँ नभएका कारण यहीँ फाल्ने गरिएको छ । 

गौरादह बजार क्षेत्रबाट दैनिक उत्पादन हुने फोहोर हुलाक र वडा नम्बर १ को कार्यालय परिसरमा फाल्ने गरिएको छ । वडा कार्यालयसँगै इलाका हुलाक कार्यालय गौरादह र गौरादह सामुदायिक कृषि सहकारी संस्थाको कार्यालय छ । सरकारी कार्यालय डम्पिङ साइट बन्दा कर्मचारीले काम गर्नसमेत सकेका छैनन् । 

दुर्गन्धले कर्मचारी बिरामी
वडा कार्यालयसँगै पुरानो भवनमा जोडिएको हुलाक कार्यालयका कर्मचारीलाई काम गर्न सबैभन्दा मुस्किल भएको छ । फोहोरको दुर्गन्धकै कारण उनीहरू बिरामी पनि पर्ने गरेका छन् । फोहोर फाल्ने गरेको सरकारी कार्यालयसँगै बजार पनि जोडिएको छ । ‘फोहोर यहाँबाट हटाउन कतिपटक आग्रह ग¥यौँ । कसैले सुन्दैन । यहाँ त दुर्गन्धले बसिसक्नु नै हुँदैन । फोहोर फालेकै ठाउँबाट कार्यालय आउनुपर्छ,’ इलाका हुलाक कार्यालय गौरादहका कर्मचारी युवराज पोखरेलले भने, ‘हामीलाई त फोहोरकै कारण अन्य संक्रमणको खतरा छ ।’ 

हुलाकका कर्मचारी शौचालय जाँदासम्म त्यही फोहोरलाई टेकेर जानुपर्ने बाध्यता छ । ‘शौचालय हुलाक कार्यालय भएको पछाडिपट्टि छ । शौचालय जानैपर्छ । जाँदा यही फोहोरको बाटो भएर जानुपर्छ,’ उनी भन्छन्, ‘यही फोहोरका कारण साँझमा आएर अरूले फोहोरमाथि दिसापिसाब गरेका हुन्छन् । हिँड्नै मुस्किल पर्छ ।’ 

वडा कार्यालयले चासो नदिएको गुनासो
फोहोर फाल्ने ठाउँ वडा कार्यालय भएकै परिसर हो । तर, वडा कार्यालय जाने गेट छुट्टै छ । जसका कारण पनि वडा कार्यालयले चासो नदिएको सेवाग्राही रमेश पौड्याल बताउँछन् । ‘दुर्गन्धित फोहोरका कारण यो ठाउँमा त आउनै मन लाग्दैन । सरकारी कार्यालयमा गाडीका गाडी फोहोर ल्याएर फाल्छन्,’ उनी भन्छन्, ‘वडा कार्यालय त नजिकै छ । वडाध्यक्षले देख्दैनन् कि क्या हो ? कि अर्को गेटबाट हिँड्नुपर्छ, त्यही भएर देख्नुभएन कि !’ फोहोर व्यवस्थापनमा गौरादह नगरपालिकाको दीर्घकालीन योजना नहुँदा सरकारी कार्यालयलाई नै डम्पपिङ साइट बनाइएको छ । फोहोरमैला व्यवस्थापन ऐनअनुसार फोहोरमैला व्यवस्थापनको दायित्व स्थानीय तहको हुन्छ । फोहोरमैला व्यवस्थापनका लागि आवश्यक पूर्वाधार स्थानीय तहले नै बनाउनुपर्ने हुन्छ । स्थानीय तहले फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट निर्माण गर्दासमेत वातवरणीय प्रभावलाई ध्यान दिनुपर्ने हुन्छ ।

ऐनअनुसार स्थानीय तहले फोहोरमैला स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नुपर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्थासमेत गर्नुपर्नेछ । तर, गौरादह नगरपालिकामा भने जनताको आवतजावत हुने सरकारी अड्डाको आँगनमा फोहोर फाल्ने गरिएको छ । 

जनप्रतिनिधिको तर्क– अन्त फाल्ने ठाउँ भएन
बजारबाट उत्पादन भएको फोहोर फाल्ने ठाउँ नभएकाले सरकारी कार्यालयअगाडि फालिएको गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । ‘गौरादहमा फोहोर फाल्ने विकल्प छैन । फाल्ने ठाउँ नभएर त्यहाँ फालेका हौँ । जहाँ पायो त्यहीँ फाल्नु भएन,’ उनले भने, ‘विकल्प नभई कहीँ न कहीँ त राख्नैपर्‍यो, पहिलादेखि नै फाल्दै आएका हौँ । अब व्यवस्थित गर्छौं ।’

नगरबाट दैनिक दुई ट्याक्टरसम्म फोहोर उत्पादन हुने गरेको नगरपालिकाकी उपप्रमुख गीता भेटवालले जानकारी दिइन् । सरकारी अड्डा परिसरमा फालिएको फोहोरले दुर्गन्ध फैलाएको उनले स्वीकार गरिन् । तर, व्यवस्थापनको नयाँ योजना सुनाइनन् । बरु, फोहोर व्यवस्थापनका लागि नगरले काम गरिरहेको उनले दाबी गरिन् ।

‘फोहोर व्यवस्थापनका लागि नगरले प्रत्येक वर्ष बजेट छुट्याउँछ । तर, व्यवस्थापनको उचित काम हुन सकेको छैन । अहिले ठाउँ पनि तयारी अवस्थामा छ । त्यसको व्यवस्थापनका लागि हामीले समिति बनाएका थियौँ,’ उनले भनिन्, ‘त्यो समितिले गर्छ भन्दाभन्दै ढिला भयो । अब हामी आफैँ गर्छौं । अब चाँडै फोहोर व्यवस्थापनको काम हुन्छ ।’ फोहोर व्यवस्थापनका लागि गाडीको व्यवस्थापन पनि सकिएको उनले बताइन् ।

ad
ad