१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

किसानबाट धान किन्न रोक्दै खाद्य कम्पनी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:२o:oo

गोदाम भरिएको खाद्य कम्पनीको भनाइ, तर तीन गोदाम भाडामा, खाद्य कम्पनीले धान खरिद नगर्दा व्यापारीलाई सस्तोमा बेच्नुपर्ने बाध्यतामा किसान

गोदाम भरिएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानबाट धान खरिद रोक्न थालेको छ । केही स्थानबाट धान खरिद गर्न रोकेको छ भने केहीमा रोक्ने तयारी गरेको छ । तर, तीनवटा गोदाम भने भाडामा लगाएको छ ।

गोदाम भरिएको भन्दै खाद्य कम्पनीले कैलालीका किसानबाट धान खरिद गर्न रोक्न थालेको हो । खाद्य कम्पनीको धनगढीको मोहनपुरस्थित डिपोबाट एक साताअघि नै धान किन्न बन्द गरेको छ । अब जोशीपुर गाउँपालिकामा रहेको डिपोमा पनि धान खरिद रोक्नुपर्ने अवस्था आएको कम्पनीले जनाएको छ । 

बोरा र राख्ने ठाउँको अभाव देखाउँदै खाद्य कम्पनीले धान खरिद बन्द गर्न थालेपछि किसान मर्कामा परेका छन् । खाद्य कम्पनीमा उचित मूल्य पाइने आसले कतिपय किसानले व्यापारीलाई बिक्री नगरेर धान राखेका थिए । तर, खाद्य कम्पनीले पनि खरिद रोक्न थालेपछि सस्तोमा व्यापारीलाई नै बेच्न बाध्य भएको किसान बताउँछन् । 

कैलालीको मालाखेतीका किसान राजेश चौधरीले खाद्य कम्पनीले नकिन्दा व्यापारीलाई सस्तोमा बेच्नुपर्ने अवस्था आएको बताए । ‘पहिले डिपोमा भिडभाड थियो । भिडभाड कम भएपछि धान बेचौँला भनेको खरिद बन्द गरेछ,’ राजेशले भने, ‘अब व्यापारीले भनेकै मूल्यमा धान बेच्नुपर्ने भयो ।’ 

खाद्य कम्पनीले मध्यम धान प्रतिक्विन्टल दुई हजार सात सय ३५ रुपैयाँमा खरिद गरिरहेको छ । तर, व्यापारीले भने सरकारले तोकेको समर्थ मूल्य लागू गरेका छैनन् । उनीहरूले प्रतिक्विन्टल दुई हजार एक सय रुपैयाँसम्ममा खरिद गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले भण्डारणको समस्याले धान खरिद प्रभावित भएको बताए । यसअघि बोराको अभावले पनि कैलालीमा केही दिन धान खरिद कार्य रोकिएको थियो । ‘अहिले बोरा आइपुगेको छ, तर गोदाम भरिएकाले कहाँ राख्ने भन्ने समस्या छ,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘अहिले पनि किनेको धान गोदाम बाहिरै राखेका छौँ ।’ 

मोहनपुर र जोशीपुरबाहेक अन्य डिपोको गोदाममा पनि ठाउँको अभावले थप धान खरिद गर्न समस्या हुने उनले बताए । खाद्य कम्पनीले मोहनपुर डिपोबाट मात्रै ११ हजार क्विन्टल धान किनेको छ । मोहनपुरमा खाद्यसँग रहेका १०–१० हजार क्विन्टल क्षमताका दुईवटा गोदाम चामलले भरिएका छन् । गोदाम भरिएकाले खरिद गरेको धान बाहिर खुला आकाशमुनि राख्नुपरेको श्रेष्ठको भनाइ छ । 

यस वर्ष खाद्य कम्पनीले ढिलो गरी धान खरिद गर्न थालेको हो । जिल्लामा किसानबाट ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । मोहनपुर, टीकापुर, जोशीपुर र भजनी डिपोबाट अहिलेसम्म ३२ हजार क्विन्टल धान मात्र खरिद भएको खाद्य कम्पनीले जनाएको छ । यसअघि बोराको अभावले केही समय धान खरिद रोकिएको थियो । 

खाद्यमा पनि धान बिक्री सहज नभएपछि किसानले धानको उचित मूल्य पाउन सकेका छैनन् । व्यापारीबाट धान किन्नका लागि खाद्यले विभिन्न बहाना बनाएर चलखेल गरेको किसानको आरोप छ । सरकारले तोकेको समर्थ मूल्यमा धान बिक्री गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

खाद्यका तीन गोदाम भाडामा
ठाउँअभावले किसानको धान किन्न रोकेको खाद्य कम्पनीले तीन गोदाम भने भाडामा दिएको छ । मोहनपुर डिपोमै रहेका १०–१० हजार क्विन्टल भण्डारण क्षमताका दुईवटा गोदाम विश्व खाद्य कार्यक्रमलाई भाडामा दिएको छ । 

यस्तै धनगढीमा १५ हजार क्विन्टल क्षमताको गोदाम पनि निजी क्षेत्रलाई अस्पताल बनाउन भाडामा लगाएको छ । केन्द्रबाटै गोदाम भाडामा लगाइएको प्रमुख श्रेष्ठको भनाइ छ । 

विश्व खाद्य कार्यक्रमलाई भाडामा दिइएको गोदाम खाली गराउन आग्रह गरे पनि केन्द्रबाट जवाफ नआएको उनले बताए । ‘मोहनपुरको हाम्रो गोदाम चामलले भरिएको छ । खरिद गरेको धान बाहिरै राखेकाले वर्षा भए बिग्रिने अवस्था छ,’ उनले भने, ‘यसबारे जानकारी दिँदै विश्व खाद्य कार्यक्रमले प्रयोग गरेको गोदाम खाली गराइदिन भनेर केन्द्रलाई आग्रह गरेका थियौँ, तर सुनुवाइ भएन ।’

जिल्लाभर पूर्वाधारको अभाव
धनगढीमा धान खरिद सुरु गर्न भाडामा लिने गरी गोदामको खोजी भइरहेको खाद्य कम्पनीले जनाएको छ । जोशीपुरको गोदाम पनि भरिएकाले खरिदमा समस्या भएको प्रमुख श्रेष्ठले बताए । धान खरिदका लागि जिल्लाभरि नै पूर्वाधारको अभाव रहेको छ । 

टीकापुर डिपोमा पनि भण्डारण क्षमता न्यून रहेको श्रेष्ठले बताए । टीकापुर डिपोको गोदाम पाँच हजार क्विन्टल क्षमताको हो । त्यहाँ सात सय क्विन्टल चामल छ । गोदाम भरिएकाले त्यहाँ पनि खरिद गरेको धान गोदाम बाहिरै राखिएको उनले बताए । 

मोहनपुर र टीकापुरमा खाद्यको आफ्नै डिपो छ भने जोशीपुर र भजनीमा गोदाम भाडामा लिएर धान खरिद थालिएको थियो । ‘धान किनेर मात्र भएन, राख्ने ठाउँ पनि हुनुपर्‍यो । अहिले खरिद गरेको धान पनि बाहिरै रहेकाले वर्षा भए समस्या हुन्छ,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘सुरक्षित गोदाम नहुँदा बर्सेनि समस्या भोग्दै आएका छौँ । गोदाम निर्माणका लागि पटक–पटक आग्रह गर्‍यौँ, तर केन्द्रले चासो दिएको छैन ।’

ad
ad