१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २९ सोमबार ०७:४५:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

राष्ट्रिय कविता महोत्सव : किन सधैँ प्रश्न उठ्छ ?

स्रष्टा भन्छन्– राष्ट्रिय कविता महोत्सवमा अहिले पनि महेन्द्रकालीन धङधङी बाँकी नै छ, समावेशी बन्न सकेन

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर २९ सोमबार ०७:४५:००

०७२ को राष्ट्रिय कविता महोत्सवमा कवि प्रोल्लास सिन्धुलीय प्रथम भए । तर, नेपाल प्रज्ञा प्रतिष्ठानले पुरस्कार दिएन । कारण थियो, सिन्धुलीयको कविता पहिला नै प्रकाशित भइसकेको थियो । पूर्वप्रकाशित कवितालाई एकेडेमीले पुरस्कृत नगर्ने प्रचलन छ । यसपछि सिन्धुलीय अदालत गए । र, मुद्दा जिते । चार वर्षपछि सिन्धुलीयलाई पुरस्कार दिन प्रतिष्ठान बाध्य भयो ।

२९ मंसिरमा नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्दै छ । ०२२ बाट निरन्तर गर्दै आएको यो महोत्सव पछिल्लो समय आएर बढी विवादित बन्ने गरेको छ । प्रत्येक वर्ष आयोजना हुने महोत्सवमा कविहरू निष्पक्ष हुन्छ भनेर विश्वास गर्न नसकिने बताउँछन् । पछिल्लो छिमलका कवि विवश बाबु भन्छन्, ‘एकेडेमीप्रति विश्वासै छैन । उसले निष्पक्ष निर्णय गर्छ भनेर कसरी भनौँ, जब कि नतिजा आउनुअगाडि नै को पुरस्कृत हुँदै छ भनेर बजारमा हल्ला भइसकेको हुन्छ ।’

कवि चन्द्रवीर तुम्बापो आफूलाई एकेडेमीप्रति कहिल्यै आकर्षण नभएको बताउँछन् । जसको कारण भनेको एकेडेमीप्रतिको अविश्वास नै हो भन्ने उनको दाबी छ । ‘एकेडेमी अहिले पनि महेन्द्रकालीन धङधङी बोकेर बसेको छ । फरक विचारलाई स्पेस दिँदैन,’ भन्छन्, ‘कुनै पनि मधेसी कवि सहभागी हुँदैनन् । यसको कारण भनेको अपनत्व महसुस नहुनु नै हो ।’ उनका अनुसार एकेडेमीले ‘मेरो देश महान्’ भन्ने खालको कविता माग्ने र जानाजान राष्ट्रवादी कवि हुनुपर्ने भएकाले पनि अपनत्व महसुस नभएको हो ।

एकेडेमीमा सत्ताको चाकडी गर्न जानेहरूको अखडा भएकाले उसले अल्पसंख्यक, सीमान्तकृतको आवाजलाई नजरअन्दाज गर्ने, कर्णालीले के बोल्छ, महिलाले के बोल्छ जस्ता विषयलाई ठाउँ नै नदिने बताउँछन् । भन्छन्, ‘फरक मत राख्नेलाई ठाउँ दिँदैन एकेडेमीले । किनभने त्यहाँ सत्ताको भजनकिर्तन गर्नेहरू पुगेका हुन्छन् । अनि नुनको सोझो गर्नैपर्‍यो नि !’

एकेडेमीले खोज अनुसन्धानको काम गर्छ भनिन्छ । भाषा, संस्कृति, दर्शन, इतिहास, समाजमाथि छलफल, बहस गर्ने, अभिलेख राख्ने काम गर्छ भनिन्छ । तर, प्रत्येक वर्ष हुने कविता प्रतियोगिताबाहेक एकेडेमीको चर्चा खासै हुँदैन । चर्चा पनि एकेडेमीको साख गिराउने हिसाबले हुन्छ । चरम असन्तुष्टिका स्वरहरू सुनिन्छन् । एकेडेमीप्रतिको विश्वास देखिँदैन ।

खोज, अनुसन्धानको कामलाई नै छायामा पार्ने गरी हरेक वर्ष कविता महोत्सवमा एकेडेमीको किन आलोचना हुन्छ ?
यसको जड भनेको हिजो जुन उद्देश्य र औचित्यका लागि राजा महेन्द्रले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान सुरु गरेका थिए, आज पनि त्यही अवस्थामा हुनु र नयाँ एस्थेटिकलाई स्थानै नदिएकाले एकेडेमीप्रति आमगुनासो रहेको बताउँछन् लेखक राजन मुकारुङ । ‘सानो समूह, समुदायको गुनासो महोत्सवमार्फत सम्बोधन भएन ।

एउटै ट्रेन्डका पुरस्कृत हुने खालका कविता लेख्ने अवस्था बनाइदिए । अनि स्वाभाविक रूपमा बजारमा हल्ला हुन्छ, र हल्ला भएअनुसारकै परिणाम आउने भएकाले विवादित भएको हो महोत्सव,’ मुकारुङ भन्छन्, ‘निर्णायकहरूको सेटेड माइन्डका कारण पनि विवादित हुन्छ । नयाँ विम्ब, क्राफ्ट, आवाजलाई मुखरित हुनै नदिएपछि विवाद त भइजान्छ । समग्रमा एकेडेमीले लामो संघर्षबाट आएको परिवर्तन र जनताको चाहनाअनुरूपको आवाजलाई ठाउँ नै दिएन ।’

तर, नयाँ विचार र विषयलाई एकेडेमीले स्थान दिएको कुलपति गंगाप्रसाद उप्रेती बताउँछन् । उनका अनुसार पञ्चायतकालमा मात्र विषय दिइने गरिन्थ्यो । तर, अहिले सबै विचारहरूले स्थान पाउने गरेको र एकेडेमीले त्यसमाथि काम पनि गरेको दाबी गर्छन् उप्रेती । ‘पहिला फलानो विषयमा मात्र कविता लेख्ने भन्ने हुन्थ्यो । तर, अहिले त्यस्तो छैन,’ उप्रेती भन्छन्, ‘अहिले सबै विचारले स्थान पाइरहेको छ । तर, कविता विचार मात्र नभएर शैली पनि हो । सौन्दर्यशास्त्रलाई कति मजाले प्रस्तुत गरेको छ लगायतका विविध कुरा हेरेर पुरस्कृत गरिन्छ ।’

आग्रह राखेर बोल्नु या आलोचना गर्नु अर्कै विषय रहेको बताउँछन् उनी । सबैको साझा संस्था भएकाले दूराग्रह राखेरभन्दा पनि मिलेर गरेर सँगै जानुपर्ने धारणा राख्छन् उप्रेती । भन्छन्, ‘त्यसरी दूराग्रह राख्नु भएन । एक कवि अदालत गए, अदालतले सिर्जनाको कुरा भनेर दिनू भन्यो । हामीले दियौँ पनि । तर, त्यसलाई आग्रह बनाएर गाली गर्नुभएन,’ कवि प्रोल्लास सिन्धुलीयप्रति इंगित गर्दै उप्रेती भन्छन्, ‘सबैको साझा संस्था हो । सबैलाई समेट्ने प्रयत्न गरिएको छ । तर, आलोचना गर्नका लागि आधार पनि चाहियो नि ! यतिकै गरेर त हुँदैन होला ।’

तर, कुलपति उप्रेतीको कुरा काट्छन् मुकारुङ । प्रश्न गर्छन्, ‘कसरी समेटियो सबै ? ब्यानरमा राष्ट्रिय कविता महोत्सव भएपछि खस भाषाको मात्र कविता हुन्छ ? अरू मातृभाषीहरू अराष्ट्रिय तत्व हो त ?’ यो महोत्सव खस भाषाको महोत्सव मात्र भएको दाबी गर्छन् उनी ।

एकेडेमीले समावेशिताको नाममा अनुहार मात्र देखाउने गरेको मत पनि राख्छन् । भन्छन्, ‘एक वर्ष तीसवटा कविता छान्दा तीसवटा एस्थेटिकसहित लेखिएका दलित, जनजाति, मधेसी, महिलाको आवाजलाई मुखरित गराएर देखाउँ त ! अनि पो राष्ट्रिय कविता महोत्सव हुन्छ ।’

लेखक तथा कवि बिना थिङ एकेडेमीले सबैलाई समेट्न नसक्नुमै समस्या देख्छिन् । एकेडेमीमाथि हुने आलोचना आग्रह र पूर्वाग्रह राखेर गरिएको नभएर वर्षौंदेखि थिचिएर बसेको विचार, चेतनालाई अस्वीकार गरेको कारण हुने गरेको बताउँछिन् । भन्छिन्, ‘एकेडेमीमाथि पूर्वाग्रह या आग्रह किन राख्ने ? तर, जब उसले फरक विचार, फरक मत र चेतनालाई रोक्छ, त्यसपछि आलोचना हुने हो ।’ आग्रह या पूर्वाग्रह भनेर एकेडेमी पन्छिन नहुने बताउँछिन् उनी । र, एकेडेमीको निष्पक्षतामाथि सधैँ प्रश्नचिह्न खडा हुने गरेको र यसबाट एकेडेमी जोगिन नसकेको तर्क राख्छिन् । 

यस वर्ष पाँच सयभन्दा बढी कविताहरूबाट शीर्ष तीस छानिएका छन् । प्रथम हुनेले पचास हजार पुरस्कार पाउँछन् । कविता महोत्सवलाई निष्पक्ष बनाउन हरसम्भव प्रयास गरेको कुलपति उप्रेती बताउँछन् । नयाँ पुस्तालाई प्रोत्साहन गर्न पनि प्रतियोगिता गरिने उनको भनाइ छ ।

भन्छन्, ‘नयाँ पुस्तालाई प्रोत्साहन गर्न यो प्रतियोगिता हो । यसलाई निष्पक्ष बनाउन हरसम्भव कोसिस गरिएको छ ।’ तर, निष्पक्षतामाथि मात्र प्रश्न नभएर फरक विचारलाई पनि एकेडेमीले बन्देज गरेको लेखक मुकारुङ बताउँछन् । भन्छन्, ‘नयाँ कविताको संरचना, बनोट, आवाजलाई एकेडेमीले स्वीकार्न सकेको छैन । हिजो महेन्द्रकालीन समयमा जस्तो थियो, अहिले पनि त्यस्तै छ ।’