१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ मङ्सिर २९ सोमबार ०५:२७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षकमा कोरोना देखिएपछि विद्यालय सञ्चालनमा अन्योल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ मङ्सिर २९ सोमबार ०५:२७:००

शिक्षकमा कोरोना संक्रमण देखिएपछि कर्णालीका विद्यालय सञ्चालन कसरी गर्ने भन्नेबारे अन्योल भएको छ । आइतबार सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश मावि, पलैटेका ११ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एकै विद्यालयका ११ सहित जिल्लाभर १७ जना शिक्षकमा कोरोना पुष्टि भएको हो । पञ्चपुरी नगरपालिकाका मात्र ३९ जना शिक्षकको पिसिआर परीक्षण गर्दा १३ जनाको रिपोर्ट पजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गंगादेव गिरीले बताए ।

उनका अनुसार विद्याज्योति मावि, बाबियाचौरका दुई शिक्षकमा पनि संक्रमण देखिएको छ । विद्यालय सञ्चालनमा आएपछि शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय, सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले बताए । ‘१७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ उनले भने, ‘संक्रमण देखिएका सबै शिक्षक होम आइसोलेसनमा छन् ।’

सुर्खेतकै गुर्भाकोट नगरपालिकाका तीन शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपाल राष्ट्रिय माविका दुई र जनसेवा आधारभूत विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको नगर शिक्षा प्रमुख पदम विकले बताए । यस्तै, वीरेन्द्रनगर नगरपालिकाका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको तर उनको पूरा विवरण आइनसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय सरकारलाई विद्यालय सञ्चालनको जिम्मा दिएपछि सुर्खेतका स्थानीय तहमा पनि विद्यालय खुल्न थालेका थिए । 

विद्यालय खुलेको एक सातामै शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि अब के गर्ने भन्नेबारे अन्योल देखिएको छ । यस्तै, सल्यानको कपुरकोट–४ किमुचौरस्थित नेपाल राष्ट्रिय माविका आठ शिक्षकमा पनि कोरोना पुष्टि भएको छ । उक्त विद्यालय मंसिर पहिलो सातादेखि सञ्चालनमा आएको थियो । शिक्षकमा कोरोना पुष्टि भएपछि १० पुससम्म पठनपाठन बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले बताए ।