१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ मङ्सिर २३ मंगलबार ०७:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–चीन नाका जोड्ने गल्छी–रसुवागढी सडक दुई लेनमा स्तरोन्नति हुँदै

८२ किलोमिटर लम्बाइको सडक २०८० सम्ममा सक्ने योजना

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ मङ्सिर २३ मंगलबार ०७:४४:००

नेपाल–चीन नाका जोड्ने अहिले सबैभन्दा बढी आवतजावत हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक डेडिकेटेड दुई लेनमा स्तरोन्नति हुने भएको छ । काठमाडाैंबाट नजिक पर्ने र चिनियाँ पक्षले पनि बढी प्राथमिकता दिएका कारण ट्राफिक चाप बढ्ने भएकाले दुई लेनमा स्तरोन्नति गर्न लागिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

कुल ८२ किलोमिटर लम्बाइको सडकलाई २०८० सम्म सम्पन्न गर्न प्राथमिकता दिएर काम भइरहेको छ । सोही लक्ष्यअनुसार नै काम भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । 

तीन खण्डमा विभाजनगरेर निर्माण 
आयोजनालाई तीन खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पहिलो गल्छीदेखि मैलुङखण्डमा कुल ४६ किलोमिटर लम्बाइ सडक पर्छ । त्यसमध्ये २१ किलोमिटर कालोपत्रे भएको सडक आयोजनाले जानकारी दिएको छ । दोस्रो खण्डअन्तर्गत मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटरमा ठेक्का सम्झौता भई काम थालिएको छ ।

तेस्रो खण्डमा पर्ने स्याफ्रुबेँसी–रसुवागढीको १७ किलोमिटर लम्बाइको काम चीन सरकारले गर्ने भनेको छ । तर, कोरोना महामारीले चिनियाँहरू नआएका कारण काम हुन सकेको छैन । अहिले पूर्वतयारीका काम भइरहेको सडक आयोजनाले जानकारी दिएको छ । ‘हरेक वर्ष पहिरो गएर दुःख दिने जिलिङ, तिरतिरे र गल्छीका ठूला पहिरोहरू नियन्त्रणका लागि काम भइरहेको छ,’ आयोजना प्रमुख भण्डारीले भने ।  

चिनियाँले काम थाल्ने अनिश्चित
नेपाल–चीन जोड्ने प्रमुख नाकामध्येको एक खण्ड स्याफ्रुबेँसी–रसुवागढी खण्डको १७ किलोमिटर सडक स्तरोन्नति गर्ने चीन सरकारले सहमति गरिसकेको छ । त्यसका लागि एक वर्षअघि नै चिनियाँ पक्ष सडक डेडिकेटेड दुई लेनमा विस्तार गर्ने योजनाका साथ आएको थियो ।

तर, सडक विस्तार गर्ने ठाउँमा बिजुलीका पोल, जग्गा प्राप्तिजस्ता पूर्वतयारीका काम नभएकाले केही समय पर्खेर कोरोना महामारी बढ्दै गएपछि फर्किएको थियो । ‘त्यो टोली अझै कार्यस्थलमा फकिएको छैन,’ गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले भने । भर्चुअल माध्यम र इमेलमार्फत भने समय–समयमा चासो राख्ने गरेको उनको भनाइ छ ।  

गत वर्ष पनि नेपाल विद्युत् प्राधिकरणसँग धेरैपटक छलफल भए पनि पोल हटाउने काममा अपेक्षित प्रगति भएको थिएन । करिब ३ सय २५ पोल हटाउनुपर्नेमा अहिलेसम्म १ सय ५० पोल हटाइसकिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । त्यस्तै, सडकको केन्द्रबाट दुईतर्फ ९–९ मिटरसम्म जग्गा प्राप्ति गर्नुपर्नेमा करिब ७ रोपनी जग्गा प्राप्त गर्न बाँकी छ ।

पोहोर आएको चिनियाँ टोलीले कार्यस्थलमा पूर्वतयारीका सम्पूर्ण काम पूरा (फिल्ड क्लियर) भएपछि मात्र काम गर्ने अडान राखेपछि काम नै भएन । पछि कोरोना महामारी बढ्दै गएपछि उनीहरू आफ्नै देश फर्किए । त्यसवेला उनीहरूले एउटा पोल मात्र बाँकी रहेको अवस्थामा पनि काम नगर्ने अडान राखेका थिए । 

आवश्यक ३२ पुलमध्ये १० वटा यो वर्ष सम्पन्न गरिने
यस सडकखण्डमा कुल ३२ वटा पुल निर्माण गर्नुपर्नेछ । त्यसमध्ये चालू आर्थिक वर्ष ०७७÷७८ मा १० वटा पुल सम्पन्न गर्ने आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । अहिले ११ वटा पुल निर्माणाधीन छन् । ५ वटा पुलको ठेक्का सम्झौता भइसकेको छ भने १६ वटाको सर्वेक्षण र डिजाइन (नक्सांकन) गरी ठेक्का सम्झौता गर्ने तयारी छ । 

सेफ्टी अडिटअनुसार दुर्घटना न्यूनीकरण गरिने 
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा आयोजनाले रोड सेफ्टी अडिट गरेको छ । रोड सेफ्टी अडिट भन्नाले सडक दुर्घटना हुन सक्ने ठाउँको पहिचान र त्यसलाई न्यूनीकरण गर्नका लागि दिइने सुझाब र सिफारिस हुन् । अडिटले क्र्यास ब्यारियर राख्ने, पेन्ट गर्ने, ट्राफिक साइन राख्नेलगायतका विषयमा विस्तृत प्रतिवेदन दिएको छ । त्यही प्रतिवेदनअनुसार काम गरिने आयोजना व्यवस्थापकले जानकारी दिए । अडिटले देखाएबमोजिम सडक सुरक्षाका कामहरू गरिनेछ भने कलात्मक पुलहरू निर्माण गर्ने योजना छ ।