मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १९ शुक्रबार ०१:५०:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राणा शासनमा नभएको दमन ओली शासनमा भयो, घटनापछि अरू नेताले फोन गरे, प्रधानमन्त्रीले गरेनन्

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर १९ शुक्रबार ०१:५०:००

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

तपाईं गिरफ्तार भएको विषयले देशभरि एउटा तरंग सिर्जना भएको छ, खासमा यो घटना कसरी भयो ? 

यस्तो घटना हुनुपर्ने कुनै कारण छैन । मैलेचाहिँ यसलाई सत्ता र सरकारमा रहेका मानिसको चरम असहिष्णुता र अलोकतान्त्रिक संस्कारको परिणामको रूपमा लिएको छु । उनीहरूले ममाथि नियोजित रूपमा घटना गराएका हुन् । षड्यन्त्रपूर्वक ममाथि आक्रमण भएको छ ।

तपाईंले त पुल उद्घाटन गर्ने कार्यक्रम थियो । पुल उद्घाटन गर्ने कार्यक्रम कसरी विवादमा प¥यो ? यो पनि अनौठो भयो नि ? 

यसमा विवाद गर्नुपर्ने, निषेधाज्ञा जारी गर्नुपर्ने कुनै कारण नै छैन नि । यस्तो निरंकुशता त पञ्चायतकालमा पनि थिएन । राणा शासनमा पनि नहुने कुरा अहिले केपी ओलीको शासनमा भयो । कुनै विवाद नभएको ठाउँमा सरकार नै लागेर यो घटना भएको हो । यो त उनीहरूको बुद्धिहीनताको पराकाष्ठा हो । 

अहिले देशमा नेकपाको सरकार छ, सामान्यतया हाम्रोमा जसको सरकार छ, साधन र स्रोतमा उसैको हालिमुहाली हुने संस्कार छ । तपाईं उद्घाटन गर्न कसरी पुग्नुभयो भन्ने पनि छ नि । 

होइन, यो त हामीले नै बनाएको पुल हो । त्यो नगरपालिकामा कांग्रेसकै नेतृत्व छ । पुल निर्माण समितिमा पनि सर्वदलीय सहभागिता छ, त्यहाँ कांग्रेस मात्रै होइन, कम्युनिस्ट पनि थिए । उहाँहरूको सर्वसहमतिबाटै उद्घाटनको तयारी भएको थियो । उहाँहरूले नै आइदिनुस्, जिल्लाको विकासका लागि तपाईं नै योगदान गर्नुभएको नेता हो भनेर बोलाएपछि त म गएको हुँ । तर, उहाँहरूले त्यति ठूलो अहिष्णुताको प्रदर्शन गर्नुरहेछ । 

तर, कांग्रेस वा नेकपा जसको पालामा बने पनि त्योे पुल देशको ढुकुटीबाट बनेको हो । यसमा कांग्रेस र नेकपा भनेर यत्रो उत्पात किन भएको होला ? 

खासमा यो पुल निर्माणमा यो सरकार, यहाँका अहिलेका सांसद, प्रतिनिधि उहाँहरूको एक पैसाको पनि योगदान छैन । उहाँहरूले त यसलाई भाँड्न खोज्नुभएको हो । यो त नितान्त हाम्रो नेतृत्वमा, हाम्रो पार्टीका स्थानीय नेता साथीहरूको प्रयत्नमा पुल बनेको हो । पुल बने पनि पुलसम्मको पहुँचसडक बनेको थिएन । व्यास नगरपालिकाले पहुँचसडक निर्माण गरेर बाटो र पुल राम्रो भएपछि मात्रै उद्घाटनको कार्यक्रम राखेका हुन् । 

तपाईंलाई जसरी नियन्त्रणमा लिने काम भयो, त्यो नितान्त त्यहाँको प्रहरी–प्रशासनको कदम हुन सक्छ, त्यसमा तपाईंले सरकारको नेतृत्व र नेकपालाई नै किन जोड्न खोज्नुभएको छ ? 

यहाँ प्रहरी–प्रशासनको शैली जुन किसिमको देखियो, यसमा प्रधानमन्त्रीको आशीर्वाद नपाई ममाथि यति ठूलो आक्रमण हुने कुरै हुँदैन । तल्लो तहका नेताहरूले रामचन्द्र पौडेलको कुनै दोष छैन, उनले नितान्त आफ्नो निर्वाचन क्षेत्रको, गाउँको, उनको मिहिनेत, पसिना, परिश्रम परेको पुलको उद्घाटन गर्न लागेका हुन् भनेका छन् । तर, माथिबाट निर्देशन नभई ममाथि कसैले हमला गर्न सक्दैन । यो सबै माथिल्लो तहबाटै भएको हो । माथिल्लो तहबाटै प्रस्तुत गरिएको अधिनायकवादी चरित्रको प्रतिनिधि घटना हो । नेपालमा अहिले कम्युनिस्टको सरकार छ, तर साम्यवाद त होइन नि ! यो घटनाले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन् भन्ने पुष्टि भएको छ । मैले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन भन्ने महसुस गरेको छु । तनहुँमा हामीले त्यति धेरै विकासका योजना गरेका छौँ । हामीले त कुनै योजना दिन्छौँ, हाम्रो पार्टीमा आऊ भनेरसमेत भनेनौँ । तर, आज कम्युनिस्टले राज्यकोषको उपयोग गरेर प्रतिपक्षलाई दमन गर्ने काम गरेका छन् । हाम्रो नेतृत्वमा दुई वर्षअघि नै निर्माण भएको पुल उद्घाटनमा अवरोध गर्नुपर्ने के कारण छ ? यो सामन्तवादको युग होइन त । यो त लोकतान्त्रिक समाजवादको युग हो । 

यो घटनालाई तनहुँका सिडिओले लाजमर्दो घटना भनेका छन्, यो लाजमर्दो घटना हुन नदिन सरकार र प्रशासनले के गर्न सक्थ्यो ?

यो त सिडिओलाई मात्रै होइन नि, तनहुँवासीका लागि लाजमर्दो घटना हो । देशभरिका जनताले भनिरहेका छन्– यो घटनाले त नेपालको लोकतन्त्र नै लज्जित भएको छ । हाम्रो नेपाली सभ्यता नै लज्जित भएको छ । यस्तो गर्नुपर्ने कुनै कारण नै थिएन नि ! मैले त कुनचाहिँ कानुनले यो निषेधाज्ञा लागू गरेको भनेर सोधेको छु । तर, कुनै हिसाबले औचित्य पुष्टि हुने आधार नै छैन । कुनै आधार नै छैन निषेधाज्ञा गर्नुपर्ने । यो निषेधाज्ञा रामचन्द्र पौडेलको विरुद्ध मात्रै होइन, व्यास नगरपालिकाका १, १० र ११ का जनताको मात्रै होइन, यो त सारा नेपाली जनताको अधिकारमाथिको निषेधाज्ञा हो । 

तपाईंलाई नियन्त्रणमा लिने विषय राजनीतिक रूपमा लोकतन्त्रविरोधी त भयो नै, शारीरिक रूपमा तपाईंलाई कस्तो असर परेको छ ? 

ममाथि प्रहरीको ठूलो समूहबाट धरपकड भयो । दिउँसोभरि त कुनै दुखाइको महसुस भएन । बेलुका भएपछि शरीरमा दुखाइको महसुस भयो । साँझमा दुखाइ बढेपछि स्वास्थ्य परीक्षण पनि गरेँ । अझै पनि जिउ दुखिरहेको छ । 

तपाईंमाथि प्रहरी–प्रशासनले दुव्र्यवहार ग¥यो भनेर समाचार आएपछि देशको प्रधानमन्त्री, गृहमन्त्रीले फोन गर्नुभयो होला, उहाँहरूसँग के–कस्तो कुरा भयो ? 

मलाई नेकपाका अध्यक्ष प्रचण्डजी र नेता माधवकुमार नेपालजीले फोन गर्नुभएको थियो । उहाँहरूसँग चाहिँ कुराकानी भयो । तर, सरकारको तर्फबाट कसैसँग पनि कुराकानी भएको छैन । अहिले सरकारमा भएका मन्त्री विष्णु पौडेललगायत अरू नेता साथीहरू पनि व्यक्तिगत रूपमा मसँग नजिक हुनुहुन्थ्यो, तर उहाँहरूले पनि बोल्नुभएको छैन । कुराकानी भएको छैन । अरू नेता साथीहरूले पनि फोन गर्नुभएको थियो होला, तर कुराकानी गर्न सक्ने अवस्था थिएन, फोन उठाउन पाइनँ । 

घटनालगत्तै कांग्रेसले देशभर प्रदर्शन गरेको छ, यो विरोध प्रदर्शनको माग के हो ?

यो त अहिलेसम्म उकुसमुकुस भएको सरकारको ज्यादतीको, भ्रष्टाचारको र पक्षपातको विरुद्ध हाम्रा साथीले, आमनेपाली जनताले जो दुःख भोगिरहेका थिए, उनीहरूका लागि पनि न्याय र निकासको मौका मिलेको छ । सरकारका विरुद्धको असन्तोषको विस्फोट भएको होे । मैलेचाहिँ जनताले यसलाई मौकाका रूपमा लिएको देखेँ । प्रतिगमनतिर लाने जुन क्रियाकलाप छन्, त्यसलाई सावधान गर्नका लागि पनि देशभरि कांग्रेसले लोकतन्त्र रक्षाको लडाइँ लड्नलाई एउटा संकेत दिएका हुन् । यो विरोध प्रदर्शनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कार गर्नुपर्छ । यसलाई अझै उच्चकोटिमा पु¥याउने गरेर, परिवर्तनलाई सार्थक रूप दिने गरेर, निमुखा जनतालाई न्याय दिने गरेर विपन्नलाई आय दिने व्यवस्था ल्याउनका लागि यसले योगदान दिनुपर्छ । अहिले देशमा सरकारका अधिनायकवादी क्रियाकलापले गर्दा मानिसहरूमा निराशा बढेर प्रतिगामी तत्वहरूले समेत मुन्टो उठाउने अवसर पाएका छन् । यस्तो कुराबाट हामीले वर्षौँसम्म लडेर ल्याएको परिवर्तन जोगाउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका निमित्त समेत सबै लोकतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन म आह्वान गर्न चाहन्छु । 

यो पनि पढ्नुहोस्