मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार १८:००:००
Read Time : > 7 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई महिनाअघि नै नेपालमा कोरोना संक्रमित ३९ लाख पुगेको अध्ययन निष्कर्ष, हालसम्म १७ लाख ६४ हजार परीक्षण

Read Time : > 7 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १८:००:००

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले देशभर ३९ लाखजना कोरोना संक्रमित भइसकेको देखाएको छ । सेप्टेम्बर अन्तिम साता गरिएको सर्वेक्षणको प्रतिवेदन विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । तर, अझै उक्त प्रतिवेदन गोप्य राखिएको छ ।

देशको कुल जनसंख्याको कति प्रतिशत नागरिक कोरोना संक्रमित भए भन्ने जानकारी हासिल गर्न सर्वेक्षण गरिएको थियो । सर्वेक्षण टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालसहित डा. जनक कोइराला, डा. गुणराज लोहनी, डा. सुरेश तिवारी र विश्व स्वास्थ्य संगठनका विज्ञहरू थिए । सर्वेक्षणमा रगतको माध्यमबाट एन्टिबडी अध्ययन गरिएको थियो । त्यसयता संक्रमण थप फैलिएकाले यो संख्या अझै बढेको अनुमान सरकारी अधिकारीहरूको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार हिमाल, पहाड, तराई तीनैक्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वेक्षण गरिएको थियो । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट ६ हजार पाँच सयजनाको नमुना संकलन गरिएको ती अधिकारीले जानकारी दिए । सर्वेक्षणमा सहभागी गराइएकाहरू ६ महिनादेखि बढी उमेर समूहका छन् । सहभागीबाट लिइएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफ्नो रिपोर्ट बुझाइसकेको छ ।

केही दिनभित्रै मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्ने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । मन्त्रालयले सार्वजनिक नगरुन्जेल रिपोर्ट उपलब्ध गराउन नमिल्ने उनको भनाइ छ ।

केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार सेप्टेम्बर अन्तिमसम्म देशको कुल जनसंख्या करिब तीन करोड एक लाख एक सय ३० रहेको प्रक्षेपण थियो । उक्त आँकडालाई आधार मान्दा कुल जनसंख्याको १२ दशमलव ९९ प्रतिशत अर्थात् करिब ३९ लाखजनामा कोरोना संक्रमण भइसकेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनमा थप अध्ययनपछि मात्र रिपोर्ट सार्वजनिक गर्ने पक्षमा मन्त्रालय देखिन्छ । त्यसअघि उल्लेखित विषय सार्वजनिक नगर्न मन्त्रालयले निर्देशन दिएको सर्वेक्षणमा सहभागी विज्ञहरू बताउँछन् ।

प्रदेश–२ सबैभन्दा बढी प्रभावित
महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार कोभिड–१९ बाट प्रदेश–२ सबैभन्दा बढी प्रभावित भएको सर्वेक्षणले देखाएको छ । उक्त प्रदेशको कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने जानकारी डा. पाण्डेले नदिए पनि त्यहाँको कुल जनसंख्याको २३ प्रतिशत संक्रमित भइसकेको सर्वेक्षणमा देखिएको मन्त्रालयको एक उच्च स्रोतले जनाएको छ ।

सर्वेक्षणअनुसार कोरोना संक्रमण बढी देखिएका प्रदेशमध्ये दोस्रोमा बागमती, तेस्रोमा प्रदेश–१, चौथोमा लुम्बिनी र पाँचौँमा कर्णाली छन् । ती प्रदेशको कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने गोप्य राखिएको छ । ‘६ हजार पाँच सयजनाको नमुनाबाट राष्ट्रकै प्रतिनिधित्व गर्ने हिसाबले सर्वेक्षण गरिएको थियो,’ मन्त्रालय स्रोत भन्छ ।

संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको असक्षमताका कारण ठूलो संख्यामा कोरोना संक्रमित हुन पुगेको अधिकारीहरूको भनाइ छ । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘बिहीबारसम्म सरकारले १७ लाख ६३ हजार नौ सय १९ वटा नमुना परीक्षण गरेको छ । यसबाट दुई लाख ३७ हजार पाँच सय ८९ जना संक्रमित भएको देखिएको छ । तर, सर्वेक्षण रिपोर्टले संक्रमित भएका व्यक्तिहरूको समेत सरकारले परीक्षण नगरेको पुष्टि गरेको छ ।’ उनका अनुसार कोरोना संक्रमितमध्ये सरकारले एकतिहाइको पनि परीक्षण नगरेको देखिन्छ ।

सर्वेक्षणलाई अन्तिम रूप दिन स्वास्थ्य मन्त्रालयमा प्राविधिक समूहसँग छलफल भइरहेको महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन् । उनका अनुसार प्राविधिक समूहले केही सुधार गर्न निर्देशन दिएकाले थप छलफल भइरहेको छ ।

कुल जनसंख्याको १३ प्रतिशत संक्रमित देखिनु कोभिड–१९ व्यापक फैलिएको संकेत भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका एक अधिकारी भने यति ठूलो संख्यामा संक्रमण हुँदा पनि आइसियू र भेन्टिलेटर उपलब्ध भइरहेको र मृत्युदर कम देखिनु सर्वेक्षणले संकेत गरेको राम्रो पक्ष भएको बताउँछन् । संक्रमण धेरै देखिँदा पनि युरोपेली मुलुकहरूको अनुपातमा नेपालमा कोभिड–१९ बाट हुने मृत्यु न्यून देखिएको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम उक्त सर्वेक्षण प्रतिवेदन केही दिनभित्रमा सार्वजनिक गर्ने तयारी भइरहेको बताउँछन् । भन्छन्, ‘अहिले अन्तिम तयारीमा छौँ, चाँडै सार्वजनिक गरेर जानकारी दिनेछौँ ।’

संक्रमित संख्या घट्दा मृत्युदर बढ्यो
कात्तिक अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । मन्त्रालय प्रवक्ता डा. गौतम पनि त्यसैमा जोड दिन्छन् । ‘पछिल्लो समय कोरोना संक्रमित संख्या क्रमिक रूपमा घट्दै गएको छ । तर, घट्यो भनेर लापरबाही गर्ने वेला होइन यो,’ उनी भन्छन्, ‘विगतमा कोभिड–१९ पजिटिभ दर २५ प्रतिशत थियो, अहिले १५ प्रतिशतमा झरेको छ ।’ संख्या केलाउँदा परीक्षण कम भएकाले कम पजेटिभ केस देखिएको भन्न सकिने उनको भनाइ छ । ‘तर, यसलाई प्रतिशतमा हेर्दा घट्दो क्रममा छ,’ डा. गौतम भन्छन् ।

संक्रमण घट्दै गएको सरकारी दाबीका बाबजुद मृत्युदर भने घट्न सकेको छैन । मन्त्रालयका प्रवक्ता डा. गौतम भने उपत्यकामा संक्रमण बढी देखिएका कारण मृत्यु संख्या बढी भएको तर्क गर्छन् । ‘काठमाडौं उपत्यकामा ज्येष्ठ नागरिक र दीर्घरोगीहरू धेरै भएकाले स्वाभाविक रूपमा यहाँ मृत्यु बढी हुन पुगेको हो,’ उनी भन्छन् । देशभर हालसम्म एक हजार पाँच सय ५१ जनाको कोरोनाबाट मृत्यु भएको छ । तीमध्ये ६ सय चारजना उपत्यकाभित्रका हुन् ।

दक्षिण एसियामा कोरोनाका कारण नेपालमा भएको मृत्युदर कम रहेको डा. गौतम बताउँछन् । बुधबारको तथ्यांकअनुसार कोरोनाका कारण अफगानिस्तानमा तीन दशमलव आठ, पाकिस्तानमा दुई, भारत एक दशमलव पाँच, बंगलादेशमा एक दशमलव चार, श्रीलंकामा शून्य दशमलव पाँच, माल्दिभ्समा शून्य दशमलव चार र भुटानमा शून्य प्रतिशत मृत्यदर छ । नेपालमा यो दर शून्य दशमलव ६ प्रतिशत छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे भने कोरोना संक्रमण दर विगतको अनुपातमा घट्दै गएको दाबी गर्छन् । प्रयोगशालाहरूमा न्यून परिमाणमा नमुना आइरहेकाले पनि संक्रमण घट्दो क्रममा भएको पुष्टि हुने उनको दाबी छ ।

‘संक्रमित संख्या क्रमशः घट्दै गएको छ,’ डा. पाण्डे भन्छन्, ‘केस घटेकै कारण परीक्षण र संक्रमितको संख्यामा कमी आएको हो । मृत्यु संख्या केही बढेको देखिएको छ । तर, विगतमा रिपोर्ट नभएका केसहरू समावेश भएकाले पनि दैनिक संख्या बढी देखिएको हुन सक्छ ।’

दुई–तीन साताअघि भएको मृत्युसमेत रिपोर्टमा समावेश भएकाले संख्या बढी देखिएको उनको दाबी छ । आगामी दुईदेखि तीन सातामा मृत्यु संख्या बढेको वा घटेको यकिन हुने उनी बताउँछन् ।

मन्त्रालयको तथ्यांकसँग अस्पतालहरू असहमत
मन्त्रालयले संक्रमण घटेको बताइरहँदा अस्पतालहरू त्यसमा सहमत छैनन् । प्रयोगशालाहरूले फलोअप पजिटिभ केस रिपोर्टमा समावेश नगर्दा दैनिक पुष्टि संख्या कम देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । यसअघि प्रयोगशालाहरूले फलोअपमा आएका संक्रमितहरूको संख्या पनि रिपोर्टमा अद्यावधिक गर्थे ।

प्रयोगशाला परीक्षणमा दैनिक ३० देखि ४० प्रतिशत पजिटिभ केस फलोअपमा आउनेहरूको हुने गर्छ । सामान्य अवस्थामा भन्दा स्वास्थ्य गम्भीर भएका बिरामी मात्र अस्पताल आउने डा. राजभण्डारी बताउँछन् । सोहीकारण मृत्युदर बढी भएको उनको भनाइ छ ।

सरकारले २ कात्तिकमा कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । ‘सोहीकारण धेरैजसो संक्रमित तत्काल अस्पताल आउन छाडेको देखिन्छ,’ डा. राजभण्डारी भन्छन् । कोरोना परीक्षण गर्दा पजिटिभ देखियो भने अस्पताल बस्नुपर्ने र ठूलो रकम खर्च हुने डरले मानिसहरू परीक्षण नगरी घरमै बसेका छन् । गम्भीर भएपछि मात्र पिसिआर परीक्षण गराउने भएकाले रिपोर्ट नआउँदै बिरामीको मृत्यु हुने अवस्था रहेको अस्पतालहरूको भनाइ छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका कोभिड चिकित्सक डा. सन्तकुमार दास पनि बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल आउने भएकाले मृत्यु संख्या बढ्न थालेको बताउँछन् । भन्छन्, ‘बुधबार मात्रै मैले चारजना बिरामी हेरेँ, गम्भीर अवस्थामा मात्रै उनीहरू अस्पताल आएका थिए । चारैजना चिकित्सक र व्यवसायीका परिवार हुन् । उनीहरू घरमै ठीक हुन्छ भनेर बसेका रहेछन् ।’ डा. दासका अनुसार उनीहरूमध्ये तीनजनालाई आइसियू र एकजनालाई भेन्टिलेटरमा राखिएको छ ।

बिरामीहरू नर्सिङ केयरको सुविधा लिएर आठ दिनसम्म घरमा इन्जेक्सन लगाई बस्ने गरेको पाइएको छ । ढिलो अस्पताल आउने भएकाले संक्रमित बचाउन सक्ने अवस्था कम हुँदै गएको चिकित्सकहरू बताउँछन् । एक सय डिग्री फरेनहाइटभन्दा बढी ज्वरो निरन्तर आएमा, अक्सिजन लेभल ९२ भन्दा कम र सास फेर्न कठिन भएमा घरमा नबस्न डा. दास आग्रह गर्छन् ।

‘घरमा इन्जेक्सन लगाउने, अक्सिजन दिने सूचना संक्रमितले कहाँबाट पाए ? यो गलत सूचनाले गर्दा दैनिक संक्रमण घटे पनि मृत्युदर बढ्दै गएको छ,’ डा. दास भन्छन् । अझै पनि संक्रमण दर १५ प्रतिशत रहेकाले सरकारले परीक्षणको दायरा बढाउनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘सरकारले टोल–टोलमा गएर स्वाब संकलन गर्नु आवश्यक छ ।’

सर्वेक्षणले जोखिम देखाएको प्रदेशमै परीक्षण कम
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञ टोली सम्मिलित सर्वेक्षणबाट सबैभन्दा बढी कोरोना संक्रमणको जोखिम प्रदेश–२ मा देखिएको छ । र, संख्यात्मक हिसाबबाट पनि सोही प्रदेशमा बढी संक्रमित देखिएका छन् । तर, प्रदेश–२ मै सरकारले परीक्षण दर घटाउँदै लगेको छ ।

प्रदेश–२ मा कुल जनसंख्याको करिब २३ प्रतिशतलाई कोरोना संक्रमण भइसकेको सर्वेक्षणमा देखिएको छ । प्रदेश–२ को प्रक्षेपित जनसंख्या ६१ लाख ५८ हजार ६ सय ४९ लाई आधार मान्दा १४ लाख १६ हजारजनामा कोरोना संक्रमण भएको अनुमान गर्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकअनुसार प्रदेश–२ मा ६ सय २४ वटा नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको थियो । जब कि, बागमती प्रदेशमा सोही अवधिमा पाँच हजार ७५ वटा नमुना परीक्षण गरिएको थियो । तीमध्ये नौ सय ९६ जनामा कोभिड–१९ पजिटिभ पाइएको थियो ।

सर्वेक्षणबाट कोरोना संक्रमण जोखिमको तेस्रो स्थानमा रहेको प्रदेश–१ मा पनि पाँच सय ६८ नमुना मात्र परीक्षण गरिएको थियो । तीमध्ये ९५ जनामा संक्रमण पुष्टि भएको थियो । अर्थात्, सरकार बागमती प्रदेश र संघीय राजधानीमै केन्द्रित देखिन्छ । र, अन्य प्रदेशमा बढ्दो जोखिम कम गर्न सरकारी प्रयत्न कमजोर देखिन्छ ।

कात्तिक २० देखि ३० मा कोरोना संक्रमण
गते     परीक्षण     पजिटिभ    निको भएका     मृत्यु

२०      १३,०६८      ३,०५१        ३,४३०               १८
२१      १०,१५३      २,९०९        ४,५००               १८
२२     १०,४२३      २,७५३        २,२०६               १७
२३     १२,३११       २,८१७        २,८१२               २१
२४     ११,१७७      २,५७१        १,७९८               १८
२५     १२,९६०      २,७३६       ८५३                  २२
२६     १०,०८१      २,५६९        १,६६६              २६
२७     १०,०२२      १,९१३        २,३४९               १५
२८     ९,५३३       २,१११         ३,५३७              १३
२९     ८,७५३       १,९४६       २,५०३               १३
३०     ६,४७६       १,४७७       २,७९८              ६

मंसिर १ देखि १७ सम्म संक्रमण
गते     परीक्षण     पजिटिभ    निको भएका     मृत्यु

१         ४,८३२       १,१९७          २,९३४           ९
२         ३,११२       ५०२             २,८७८          १७
३         ६,७३१       १,४४२         ३,५३८           १२
४        ९,८०५       २,१०३          २,८५८          १७
५       १०,३४०       १,९४५        ५,३६४          २२
६       ८,१४४        १,६७४        २,३२३           ७
७       ८,०३२        १,६६९        ५,६९९          १६
८       १०,३८१       १,९८०         ३,०४३          १६
९       १०,८४३      १,७९०         २,७९१           २४
१०     ९,२१०        १,९४८          ३,१४०          २८
११     ९,४९१        १,६१४          १,४३७           २३
१२     १०,४६०      १,७०३          १,२३६            २३
१३     ९,३६८       १,३८०          ५१५               १९
१४     ८,००८       १,२५५          १,४०४            २५
१५     ९,९११       १,४७४          १,९३१            २९
१६     ८,५८३      १,३०४          २,०७३            २१
१७     ८,३००      १,४९०          १,५६७              ९
१८     ९,२८९      १,३४३         २,१११               १३
स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय