विगतमा पटक–पटक चोरी अभियोगमा पक्राउ परी छुटेका गंगाबहादुर थापालाई महानगरीय अपराध महाशाखाले निगरानीमा राखेको थियो । गत १२ मंसिरमा महाशाखाले शंका लागी खानतलासी लिँदा उनको साथबाट ११ लाख ८६ हजार पाँच सय रुपैयाँ बरामद भयो । त्यस रकमबारे अनुसन्धान गर्दै जाँदा उनी चोरी नभई सुन तस्करीमा संलग्न रहेको पत्ता लाग्यो ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई आधार बनाई ट्याक्सी चलाउन थालेका थापाले तस्करीको सुन बेचेर उक्त रकम प्राप्त गरेका थिए । कोटेश्वरस्थित स्काई ज्वलेर्समा उनले करिब डेढ सय ग्रामका तीनवटा सुनका बाला बिक्री गरेको खुल्यो । ती सुनका बाला दुबईबाट अवैध रूपमा काठमाडौं भित्र्याइएको थियो ।
वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्सबाट फर्किएका युवालाई प्रयोग गरी थापाले सुन तस्करीको काम सुरु गरेको महाशाखाको अनुसन्धानमा खुलेको छ । तस्करीको सुनको कारोबार गरेको आरोपमा महाशाखाले सुन पसले कुमार सेन्चुरीलाई समेत पक्राउ गरेको छ । तस्करीको सुन पनि बरामद गरेको छ ।
यो घटनाले विमानस्थलबाट सुनका गहनाको तस्करी भइरहेको प्रस्ट पारेको छ । कोराना महामारीका कारण अन्तर्राष्ट्रिय आवातजावतमा कमी आएसँगै सुन तस्करी पनि रोकिएको थियो । अन्तर्राष्ट्रिय उडान खुल्नासाथ तस्करी फेरि सुरु भएको छ ।
थापा पक्राउपछि गहनाका रूपमा सुन तस्करी गर्ने सञ्जाल सक्रिय रहेको देखिएको महाशाखाका एसपी ईश्वर कार्की बताउँछन् । ‘थापाले सुन पसलेलाई बिक्री गरेको सुन दुबईबाट तस्करी गरेर ल्याइएको देखियो,’ उनी भन्छन्, ‘५० ग्रामसम्म कानुनी रूपमै ल्याउन पाइने भएकाले त्यो सुविधाको दुरुपयोग गरी यस्ता समूहले अवैध कारोबार गर्दै आएको पाइएको छ ।’ लकडाउनअघि विमानस्थल आसपासमा यसरी सुन तस्करी गर्नेहरू पटक–पटक पक्राउ परेका थिए ।
गहनाका रूपमा हुने सुन तस्करीमा काठमाडौंका दर्जनौँ सुन पसलेको संलग्नता रहेको प्रहरी स्रोत बताउँछ । बैंकसँग खरिद गर्दाभन्दा तस्करी भएर आउने सुन सस्तो पर्ने भएकाले यसमा ठूलो गिरोह संलग्न हुन सक्ने प्रहरी आकलन छ । एसपी कार्की भन्छन्, ‘यसरी थोरै परिमाणमा सुन तस्करी गराउने धेरै गिरोह सक्रिय छन् भन्ने सूचना छ, तिनीहरूमाथि निगरानी भइरहेको छ ।’
गत आइतबार पनि तस्करीको सुन बोकेर आएका एक युवक विमानस्थलमा पक्राउ परेका थिए । रुकुमका इन्द्रबहादुर बोहरालाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको थियो । उनले मोबाइल र चकलेटको खोलभित्र दुई सय ग्राम सुन ल्याएका थिए ।
कामदारलाई प्रयोग गरी हुने सुन तस्करीका घटना फाट्टफुट्ट देखिन थालेको विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख शम्भु मरासनी बताउँछन् । भन्छन्, ‘५० ग्रामसम्म सुनका गहना निःशुल्क ल्याउन पाउने सुविधाको कतिपयले दुरुपयोग गरेको पाइएको छ ।’
दुबईमा सस्तोमा किनेर नेपालमा महँगोमा बिक्री
पछिल्लो मूल्यअनुसार दुबईमा १० ग्राम सुनको करिब ६९ हजार रुपैयाँ पर्छ । बुधबार नेपालमा सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ, जसअनुसार १० ग्रामको करिब ८० हजार रुपैयाँ छ । १० ग्राम सुनमा नेपाल र दुबईमा करिब १० हजार रुपैयाँको फरक हुन्छ । त्यही अन्तरको नाफा कमाउन कामदार प्रयोग गरी सानो परिमाणमा तस्करी हुने गरेको हो । त्यसरी तस्करी गर्दा एक तोलामै १५ हजार रुपैयाँसम्म नाफा हुने गरेको स्रोत बताउँछ ।
तस्करीका लागि दुबई र नेपाल दुवैतर्फ एजेन्ट हुन्छन् । दुबईका कतिपय एजेन्टले चिनजानमार्फत नेपाल फर्कनेलाई सुन दिने गर्छन् । त्यसबापत थोरै खर्चसमेत दिने गरेका छन् ।
नेपाल आएलगत्तै उनीहरूका एजेन्टले सुन लिन्छन् । विमानस्थलमै सुन लेनदेन गर्दा पक्राउ पर्ने भएकाले पछिल्लो समय होटेल र रेस्टुराँमा यस्तो कारोबार हुने गरेको छ । विमानस्थलबाट उनीहरूलाई सीधै ट्याक्सीमा राखेर होटेल पु¥याइन्छ । यस्तो धन्दामा ट्याक्सीचालकदेखि होटेल र ट्राभल एजेन्सी सञ्चालकहरू समेत संलग्न रहेको स्रोत बताउँछ ।
कति सुन ल्याउन पाइन्छ ?
भन्सारको गुन्टा, झिटी तथा भारीसम्बन्धी नियमअनुसार ५० ग्रामसम्म सुन ल्याउँदा यात्रुले भन्सार तिर्नुपर्दैन । विदेशबाट दुई सय ग्रामसम्म सुन ल्याउन पाइन्छ, तर त्यसको भन्सार तिर्नुपर्छ ।
गत १५ जेठमा राजपत्रमा प्रकाशित सूचनाअनुसार ५० ग्रामभन्दा धेरै सुन ल्याएमा ५० ग्रासम्मको प्रति १० ग्राम नौ हजार पाँच सय तथा ५० ग्रामदेखि एक सय ग्रासम्मको प्रति १० ग्रामको १० हजार पाँच सय रुपैयाँ भन्सार तिर्नुपर्छ । यस्तै, १० ग्रामभन्दा माथि प्रति १० ग्रामको १२ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ । दुई सय ग्रामभन्दा धेरै सुन ल्याएमा जफत हुने भन्सार प्रमुख शम्भु मरासनी बताउँछन् ।
सोही सुविधा दुरुपयोग गर्दै विदेशबाट फर्कंदा भन्सार तिर्नु नपर्ने गरी ५० ग्रामका सुनका बाला तस्करी हुने गरेको छ । सुनको बाला पगालेर सजिलै अन्य गहना बनाउन सकिने भएकाले ५० ग्रामका बालाको तस्करी हुने गरेको हो । ५० ग्रामका सुनका बाला ल्याउँदा ५० हजार रुपैयाँसम्म फाइदा हुने गरेको स्रोत बताउँछ । यसका साथै हुन्डी कारोबारको रकम पनि यसबाटै मिलाइने गरेको छ ।
कामदारलाई प्रयोग गरी हुने सुन तस्करीका केही घटना देखिएको र प्रहरीले निगरानी बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला बताउँछन् । ‘५० ग्रामसम्म सुन ल्याउन पाउने नै सुविधा छ,’ उनी भन्छन्, ‘कसैले सुविधा दुरुपयोग गरी तस्कर समूहसँग मिलेको पाइएमा कारबाही हुन्छ ।’
यसरी कामदार प्रयोग गरी सुन तस्करी गर्दा उनीहरूले कमाएको रेमिट्यान्स उतै हुन्छ र तस्करी गरी ल्याइएको सुनबापत हिसाब मिलाई नेपालमै पैसा दिने गरिएको छ । यसबाट देशको ढुकुटीमा समेत ठूलो असर पर्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।