मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार २२:२०:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

म्याराडोनाप्रति खेल समर्पित

अर्जेन्टिनी लिग कपको नाम कोपा डिएगो अर्मान्डो म्याराडोना राखिएको छ, आयोजकले म्याराडोनाप्रति सम्मान जनाउँदै सिजन भरी नै उनकै नाममा लिग हुने जनाएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार २२:२०:००

विश्व फुटबलकै हस्ती डिएगो म्याराडोनाले आफ्नो करिअर सुरुवात अर्जेन्टिनी क्लब बोका जुनियरबाट गरेका थिए । बोका जुनियरलाई एक उचाइमा पुऱ्याएपछि म्याराडोना स्पेनिस क्लब बार्सिलोनातिर हानिए । उनै महान् खेलाडी म्याराडोनाको निधन गत बुधबार हर्ट एट्याक्टका कारण ६० वर्षमा भयो । म्याराडोनाको निधनसँगै अर्जेन्टिनामा फुटबल गतिविधि रोकिएको थियो । सोमबार पुनः सुचारु भएको लिगमा बोका जुनियर र ओल्ड ब्वाइजबीच प्रतिस्पर्धा भयो ।

यस खेल हेर्ने म्याराडोनाकी छोरी डिलिमा म्याराडोना पनि उपस्थित थिइन् । बोका जुनियरले प्रतिस्पर्धामा ब्वाइजविरुद्ध पहिलो गोल गऱ्याे । बोका जुनियरका एडविन कार्डोनाले गोल गरेपछि आकाशतर्फ हेर्दे क्लबका पूर्वखेलाडी म्याराडोनालाई श्रद्धाञ्जली दिए । त्यसपछि पूरै खेलाडी म्याराडोनाकी छोरी डिलिमा बसेको बक्समा गए । 

डिलिमा आफ्नै बुबाको नाममा स्थापित भिआइपी स्ट्यान्डमा बसेकी थिइन् । बोका जुनियरका खेलाडी झुकेर म्याराडोनाप्रति सम्मान जनाए । घुँडाले टेकेर म्याराडोनालाई भावपूर्ण श्रद्धाञ्जली दिँदा डिलिमाले आफूलाई रोक्न सकिनन् । उनले अनुहार छोप्दै आँसु रोक्ने प्रयास गरेकी थिइन् । रंगशालाको चारैतिर म्याराडोनाप्रति श्रद्धाञ्जलीका ब्यानर राखिएको थियो । 

बोकाले खेलमा २–० ले जित्यो । प्रतिस्पर्धामा दुवै टोलीका खेलाडीले रेफ्रीसँग अनुमति लिँदै म्याराडोनाले नामकै जर्सी लगाएका थिए । कालो रंगको जर्सीमा स्पेनिस भाषामा ‘ग्रासिया डिएगो’ (धन्यवाद म्याराडोना) लेखिएको थियो । यसपटक अर्जेन्टिनी लिग कपको नाम कोपा डिएगो अर्मान्डो म्याराडोना राखिएको छ । 

लिगको आयोजकले म्याराडोनाप्रति सम्मान जनाउँदै सिजनभरि नै लिगको नाम अर्जेन्टिनी लिजेन्डको नाम राखिएको हो । गत बुधबार अन्तिम सास फेरेका म्याराडोनाप्रति विश्वभरि विभिन्न खेलकर्मीले श्रद्धाञ्जली दिइरहेका छन् । खेलकुद इतिहासमा म्याराडोनालाई एक महान् खेलाडीका रूपमा लिने गरिन्छ । 

नेपोलीमा एक मिनेट मौनधारण
म्याराडोनाले करिअरमा सिरिए क्लब नेपाेलीमा सात वर्ष बिताएका थिए । यी सातै वर्षमा म्याराडोनाले उत्कृष्ट प्रदर्शन गरी नेपोलीलाई इटालीमा नम्बर एक क्लब नै बनाएका थिए । उनको निधनपछि नेपोलीले आइतबार पहिलो खेल एस रोमाविरुद्ध खेल्यो । जसमा नेपोली ४–० ले विजयी भयो । प्रतिस्पर्धाअघि दुवै पक्षका खेलाडीले एक मिनेट मौनधारण गरेका थिए । 

खेलको दशाैँ मिनेटमा नेपोलीका खेलाडीले म्याराडोनालाई श्रद्धाञ्जली दिए । प्यारापिटको एक भागमा ठूलो ब्यानरमा म्याराडोनाको तस्बिर राखिएको थियो । नेपाेलीका खेलाडी निलो र सेतो धर्के स्ट्रिप लगाएका थिए । नेपोलीका कप्तान लोरेन्जोले म्याराडोनाको तस्बिरमा एउटा बुकी राखी श्रद्धाञ्जली दिए । 

मेसीले सम्झिए
स्पेनिस ला लिगामा बार्सिलोनाले आइतबार ओसासुनालाई ४–० ले हराउन सफल भयो । प्रतिस्पर्धामा बार्सिलोनाका कप्तान लियोनल मेसीले म्याराडोनाप्रति श्रद्धाञ्जली दिए । मेसीले खेलमा व्यक्तिगत गोल गरेपछि नै म्याराडोनामाथि श्रद्धाञ्जली दिएका हुन् । उनले सुरुमा बार्सिलोनाको जर्सी फुकाले । त्यसपछि मेसीले अर्जेन्टिनी क्लब न्युवेल्स ओल्ड ब्वाइजको रातो र कालो रंगको जर्सी प्रदर्शन गरेका थिए । सन् १९९३ मा म्याराडोनाले न्यु वेल्सबाट पनि प्रतिस्पर्धा गरेका थिए । सन् १९८२ देखि ८४ सम्म म्याराडोना बार्सिलोनामा आबद्ध थिए ।