१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
लिसा फेल्डम्यान ब्यारेट
२०७७ मङ्सिर १५ सोमबार ०८:२६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हाम्रो दिमाग सोच्नका लागि बनेको होइन

Read Time : > 3 मिनेट
लिसा फेल्डम्यान ब्यारेट
२०७७ मङ्सिर १५ सोमबार ०८:२६:००

पाँच करोड वर्षअघि एक सानो समुद्री जीवले गरेको एक कामले जैविक इतिहासको मार्ग बदलियो । सो जीवले कुनै प्रकारले आफूनजिकको अर्को जीवको उपस्थिति अनुभव गर्‍यो र त्यसलाई झम्टेर खायो । जैविक संसारको यो पहिलो सिकारले उद्विकासलाई नयाँ ट्र्याकमा हिँडाउन सुरु गर्‍यो । यही मार्गमा हिँडेको करोडौँ वर्षपछि परभक्षी र तिनका सिकार दुवैको शरीरमा निकै ठूलो परिवर्तन भयो । यही उन्नत शरीरको बलमा तिनले निकै प्रभावकारी रूपमा आफूवरिपरिको वातावरण बोध गर्ने र झम्टने वा भाग्ने क्षमता विकास गरे । 

तिनैमध्ये केही जीवले आफ्नो जटिल तथा उन्नत शरीरलाई सञ्चालन गर्ने खालको निर्देशन केन्द्र विकास गरे । हामी मानिस यस निर्देशन केन्द्रलाई दिमाग भन्छौँ । दिमागको विकाससम्बन्धी कथाले सामान्यतया बेवास्तामा पर्ने एक महŒवपूर्ण विषयमाथि प्रकाश पार्छ ।

आममानिसले सोचेजस्तै दिमागको सबैभन्दा महत्वपूर्ण काम सोच्ने होइन, खासमा यसको प्रमुख काम हामीलाई बचाइराख्ने प्रणालीलाई सुचारु राख्ने हो । स्नायुविज्ञानका पछिल्ला खोजहरूका अनुसार हाम्रो दिमागमा उत्पन्न हुने सचेत सोच तथा भावनाहरू पनि खासमा हाम्रै शरीरको व्यवस्थापनका आवश्यकता पूर्ति गर्न उपभोग हुने रहेछन् । दिमागको यो पाटो अहिलेको महामारीको तनावपूर्ण समयमा हाम्रो एन्जाइटीलाई कम गर्न केही काम लाग्न सक्छ । 

खासमा दिमागका कामको ठूलो हिस्सा हामीले सचेत रूपमा थाहा नै पाउँदैनौँ । प्रत्येक क्षण दिमागले हाम्रो शरीरको आगामी क्षणको आवश्यकता पहिल्याउने गर्छ र त्यो आवश्यकतालाई पूरा गर्ने योजना सुरु हुन्छ । उदाहरणका लागि हरेक बिहान तपाईं जागेपछि तपाईंको दिमागले निद्राको समयमा शक्तिहीन भएको शरीरलाई उठाउन आवश्यक ऊर्जा सिर्जित गर्न तयारी गर्छ । यही तयारीको फलस्वरूप तपाईंको रगत प्रवाहमा कोर्टिसोल हार्मोन सञ्चार हुन्छ । कार्टिसोलले शरीरलाई शीघ्र ऊर्जा दिने ग्लुकोज बनाउन सघाउँछ । 

दिमागले हाम्रो शरीरलाई सरकारी बजेट प्रयोग भएजसरी शरीर चलाउँछ, जस्तो– वित्तीय बजेटले खर्च र आय हुने रकम पहिल्याउँछ । हाम्रो शरीरको बजेटले पनि पानी, नुन तथा ग्लुकोजजस्ता स्रोत पहिल्याउँछ । उभिने, दौडने तथा झुक्नेजस्ता हरेक स्रोतको खर्च गर्ने कार्यले एक हिसाबमा खाताबाट रकम झिकेजस्तै काम गर्छन् । खाने तथा सुत्नेजस्ता स्रोत पुनर्भरण गर्ने काम एक हिसाबले राजस्वजस्तै हुन् ।

दिमागले हाम्रो शारीरिक आवश्यकताहरू उत्पन्न हुनुअघि नै अनुमान गरेर तिनको पूर्तिको तयारी सुरु गर्छ । तिर्खा लागेको समय पानी पिउँदाको समय सम्झनुहुन्छ ? हामीले पिएको पानी रगत प्रवाहमा पुग्न २० मिनेट लाग्छ, तर पनि पानी पिएको केही सेकेन्डभित्रै हामीलाई तृप्तिको अनुभव किन हुन्छ ? रगत प्रवाहमा नपुगी हामीलाई पानीको आवश्यकता पुगेजस्तो अनुभव गराउने काम दिमागले नै गर्छ ।

विगतका अनुभवका आधारमा दिमागले पानी हाम्रो शरीरको ऊर्जा बजेटको आय हो भन्ने बुझेको हुँदा उसले शरीरलाई पानीको आवश्यकता हुनु केही समयअघि नै तिर्खा लगाएको अनुभव गराइदिन्छ । यति मात्र होइन, तपाईंका हरेक सोच, खुसी अथवा रिस वा आश्चर्यको प्रत्येक भावना वा तपाईंले प्रसार गर्नुहुने करुणा वा तपाईंले सामना गुर्नुहुने प्रत्येक अपमान तपाईंको दिमागले भावी आवश्यकताको हिसाब गर्दाको बाह्य अनुभूति हो । 

तनावपूर्ण समयमा स्नायुविज्ञानको यो आश्चर्यजनक पाठले हाम्रो एन्जाइटीलाई कम गर्न सघाउँछ

हामी मानव ‘आफू’लाई मानसिक रूपमा सोच्ने गर्छौं, अर्थात ‘आफू’ र शरीरलाई अलग एकाइका रूपमा हेर्ने गर्छौं । तर, शरीरको ऊर्जा बजेटको हिसाबमा यस्तो कुनै भिन्नता हुँदैन । जस्तो एन्जाइटीले पेट दुखाउने होइन कि यी दुवै असहजता मानव दिमागले शारीरिक असहजता अनुभव गर्ने तरिका हो । त्यसैले विशुद्ध मानसिक उद्देश्य भन्ने जस्तो कुरा पनि हुँदैन । किनकि, हामीले मानसिक भनेका काममा पनि शरीरको ऊर्जा खर्च भइरहेको हुन्छ । त्यही कारणले मानसिक समस्याहरूमा पनि निद्रा तथा लामो सास फेर्दा राहत महसुस हुन्छ । 

हामी अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेका छौँ र यस्तो अवस्थामा हाम्रो शरीरको ऊर्जा थप बढी नष्ट हुने जोखिम हुन्छ । यदि यो महामारीको समयमा तपाईं थकित महसुस गर्नुहुन्छ र तपाईंको उत्साह हराएको छ भने तपाईंले शरीरको ऊर्जाको दृष्टिकोणलाई एकपटक ध्यान दिएर हेर्न आवश्यक छ । तपाईंले आफ्ना असहजताको जरो शारीरिक हो भनेर बुझ्नुभयो भने तपाईंलाई केही राहत महसुस हुनेछ ।

तपाईंको दिमागमा ‘यो मानसिक अवस्था थप सहन सक्दिनँ’ भन्ने सोच आउँछ भने तपाईंले निम्न प्रश्न सोध्न आवश्यक हुन्छ– ‘के मैले अघिल्लो रात पर्याप्त सुत्न सकेँ ? के मैले शरीरलाई चाहिनेजति पानी खाइरहेको छु ? कतै मलाई हिँडडुलमा पो कमी भएको छ कि ? साथीसँग कतिको सम्पर्कमा बसेको छु ? यसो गर्दा मेरो शरीरको ऊर्जाको एक–दुई पक्ष थप खर्च हुन्छ ।’

यो कुनै भाषिक खेल मात्र होइन । यसमार्फत हामीले आफ्नो भौतिक अनुभूतिको नयाँ अर्थ निकालेर हाम्रा कार्यलाई निर्देशित गर्न सक्छौँ । चुड्की बजाएको भरमा सम्पूर्ण कठिन समस्याहरू गायब हुन्छ भन्ने मेरो भनाइको अर्थ होइन । दृष्टिकोण बदलेर मात्रै पनि डिप्रेसन हराएर जान्छ भन्ने अभिप्राय पनि मेरो होइन ।

तपाईंले आफ्नो दिमागले के गरिरहेको छ भन्ने स्विकारेर केही राहत महसुस गर्न सक्नुहुन्छ भन्ने मात्र मेरो सल्लाह हो । तपाईं–हाम्रो दिमाग खासमा सोच्नका लागि बनेको होइन । यसका हरेक कार्य, चाहे ती सोच हुन् वा भावना वा सपना नै, यी सब शारीरिक ऊर्जा पूर्तिका लागि उपभोग हुन्छ । यो दृष्टिकोणले अहिलेको चुनौतीपूर्ण समयमा हामीलाई थोरै भने पनि बल प्रदान गर्नेछ । 

लिसा फेल्डम्यान ब्यारेट नर्थइस्टर्न विश्वविद्यालयकी प्राध्यापक हुन्

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

(यो आलेख उनको पुस्तक ‘सेभेन एन्ड हाफ लेसन अबाउट द ब्रेन’ बाट लिइएको हो ।)