मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कृष्ण सुवेदी
२०७७ मङ्सिर १४ आइतबार २२:३७:००
Read Time : > 7 मिनेट
ब्लग डिजिटल संस्करण

डम्बर चेम्जोङले धानेको नेपाली मानवशास्त्र

Read Time : > 7 मिनेट
कृष्ण सुवेदी
२०७७ मङ्सिर १४ आइतबार २२:३७:००

 कोरोना भाइरसको संकटलाई मानवशास्त्रबाट के आवश्यक पर्छ भन्ने कुराको विश्लेषण चलिरहेको वेला यसको सामाजिक र सांस्कृतिक प्रभावमा व्यापक रूपमा चासो राख्ने विद्वान्बीच ठूलो सोचको सिर्जना हुँदै गएको छ । सन् २०२० को सुरुवातबाट नै यस्ता बहसले धेरै मानिसमा नाटकीय परिवर्तन ल्यायो र यसले मानव आफैँलाई र संसारलाई बुझ्ने रफ्तारको विकास ग¥यो । मानवशास्त्रीहरूका लागि पनि कोरोना महामारीले अनुसन्धानका लागि विशाल चुनौतीहरू ल्याइरहेको छ । मानवशास्त्रीहरूका लागि शैक्षिक पत्रिकाहरू वा पुस्तक परियोजनाहरूका लागि लेखहरू घर कार्यालयबाट लेख्न सकिन्छ र बैठकहरू वा सेमिनारहरू, केही समयका लागि अनलाइन प्लेटफर्ममार्फत सञ्चालन गर्न सकिन्छ । तर, अनुसन्धानको केन्द्र, गतिविधि जुनबाट सबै खोजीहरू व्युत्पन्न हुन्छन्, अर्थात् दैनिक सामाजिक–सांस्कृतिक संसारको अवलोकन र विश्लेषण हुन्छ, योचाहिँ जीवन बाँचिरहेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कविना सम्भव छैन । नेपालजस्तो देशमा भने कोरोना भाइरसले सामाजिक विज्ञानमा अनुसन्धानलाई कसरी असर गर्छ भन्नेबारे कम चर्चा छ । तर, सामाजिक विज्ञान पनि अनुभवजन्य अनुसन्धानमा आधारित छ, र धेरै अनुसन्धानकर्ताले प्राकृतिक विज्ञानमा आफ्ना सहकर्मीहरूले जस्तै धेरै कठिनाइको सामना गरिरहेका छन् । यसमा मानवशास्त्रीहरू पनि सामेल छन् । सामाजिक मानवशास्त्रीहरूले प्रयोग गर्ने ‘प्रयोगशाला’ उनीहरूको अनुसन्धान संस्थानको भित्तामा अवस्थित छैन, यो अनुसन्धान केन्द्र भनेको समाजमा नै हो, र उनीहरूका ‘प्रयोगहरू’ त्यहाँ भइरहेका सामाजिक प्रक्रिया हुन् ।

नेपाली मानवशास्त्रको अहिलेको परिवेश कठिन छ, किनभने कोरोना भाइरसको प्रकोपको ठूलो प्रभाव असंख्य ब्लग पोस्टहरूमा, जर्नलहरूमा लेखहरू र अनलाइन कार्यशालामा देख्न गाह्रो भइरहेको छ । तर, यो पनि सत्य हो कि अनलाइन एथनोग्राफीले लामो अवधिसम्म अनलाइन अनुसन्धानको विकल्प लिन सक्दैन । अनलाइन अनुसन्धान आख्यानहरूमा धेरै निर्भर हुनुपर्छ, तर एथनोग्राफिक अनुसन्धानको एउटा शक्ति भनेको व्यक्तिले मानवशास्त्रीहरूलाई अन्तर्वार्तामा दिएको जानकारीभन्दा बढी देख्ने तरिका हो । कोरोना भाइरसको यो कहरमा नेपाली मानवशास्त्रीहरूको योगदान भने नगण्य नै देखिन्छ । समाजशास्त्रीय आख्यानमा बढी रुचि राख्ने भए पनि डा. चैतन्य मिश्र, पीताम्बर शर्मा, कृष्ण हाछेतु, गणेशमान गुरुङ, जनक राई, मधुसूधन सुवेदी, शम्भु कट्टेलजस्ता हस्तीहरू भने प्राज्ञिक खुराक पस्किरहेका छन् । राज्यको सुविधा वर्षौंसम्म उडाएर पनि अहिले कति मानवशास्त्रीहरू टिकटक बनाइरहेका छन् भने कतिचाहिँ आफ्ना पुराना एनजिओवाला लेखहरू फेसबुकमा सेयर गरेर बसेका छन् । तर, सिंगो नेपाली मानवशास्त्रलाई एक्लै हाँक्ने महानायक भने डा. डम्बर चेम्जोङ मात्र छन् । उनी हाल मानवशास्त्रका विभागीय प्रमुख पनि हुन् । 

यो लेखको उद्देश्य डम्बर चेम्जोङलाई रङरोगन गर्ने हैन, यो त सिर्फ उनले गरेका कार्यबाट प्रभावित भएर तयार गरिएको नमुना मात्र हो । हुन त नेपाली मानवशास्त्रीय आन्दोलनलाई समाजशास्त्रीय गोलबाट अलग गर्ने प्रण गरेका धेरै मानवशास्त्रीहरू अहिले भने एनजिओ र आइएनजिओका लोगो हानेका झोला भिरेर तारे होटेलमा निलो कोटमा सजिइरहेका छन् । यस्ता निलोकोटेहरू सरकारी पहुँचमा नरहेका भने होइनन्, तर उनीहरूको योगदान राजा महेन्द्र, हिन्दूधर्म र क्षेत्री–बाहुनलाई गाली गर्नमै बितेको छ । तिनीहरूले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बनेर २० वर्ष जागिर खाँदा एक दिन पनि विभागीय कार्यालयमा नपसी चौरीमा बसेर विद्यार्थीसँग भलाकुसारी गरेरै जागिर पकाए । कतिले विद्यार्थीको थेसिस हेर्ने नाममा छात्राहरूलाई घरमा नै बोलाएर यौनहिंसा गरेको खबर राष्ट्रिय दैनिकहरूमा नछापिएको होइन । धेरै मानवशास्त्रीहरू थेसिस लेखेर बेच्न विज्ञापन गर्दै आफ्नो फोन नम्बर रत्नपार्कका भित्ताहरूमा टाँस्नसमेत पछि परेका छैनन् । केही मानवशास्त्रीहरू त यस्ता देखिए, जसले माक्र्स र भौतिकवाद पढाउन छाडेर बाहुनलाई सर्प र हिन्दूधर्मलाई हैजासँग तुलना गरे । कार्लमाक्र्सको स्वतन्त्रता, स्वाधीनता तथा समानताको सिद्धान्त उनीहरूले विद्यार्थीलाई पढाएनन्, बरु हैजा र बाहुन घरमा एकैसाथ आए भने हैजा छाडेर बाहुन लखेट्नुपर्छ भनी पढाए । 

आज डा. डम्बर चेम्जोङ तिनै मानवशास्त्री भनाउँदाहरूले थुपारेको फोहोर मानवशास्त्रको विभाग चर्पी र आँगनबाट सफा गरिरहेका छन् । उनले आँगन गोडे, मक्काएका कुर्सी फेरे, नयाँ बेन्च बनाए, बिहानै आए, आफ्नो थोत्रो स्कुटी बनाउन नसक्दा धेरै पटक पठाओ चढे तर पनि गलेनन् । यस आलेखमा उनले गरेका भौतिक संरचनाको सुधारभन्दा पनि उनले यो कोरोना महामारीमा खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्न खोजिएको छ । नेपाली मानवशास्त्रको इतिहासमा उनी मात्र एकजना यस्ता सांस्कृतिक नायक हुन्, जसले विनापूर्वाग्रह र विनालालच मानवशास्त्रीय विभागलाई नयाँ शिराबाट अगाडि हाँकिरहेका छन् । 

उल्लिखित नामहरूप्रति कसैको आपत्ति हुन सक्छ या त्यस्ता व्यक्ति, जसको चरित्रका बारेमा यहाँ उल्लेख गरियो, तिनीहरूमा पक्कै प्राज्ञिक कुण्ठा हुन सक्छ, तर आजको यस्तो पूर्ण अनिश्चितताको सामना गर्न डा. डम्बर चेम्जोङभन्दा अर्को उपयुक्त पात्र नेपाली मानवशास्त्रले पाएको छैन । विभागको भौतिक काम मात्र होइन, स्थानीय समुदाय र संस्कृतिको बचावटमा निरन्तर कलम चलाउने डा. चेम्जोङले सम्भावित भविष्यका दिशाबारे आफ्ना सोच राम्रोसँग राख्ने गरेका छन् । उनी अरू विषयमा पनि चिन्तित देखिन्छन्, जसमा कडा सरकारी बुनियादी ढाँचाको आवश्यकता प्रस्ट हुने गरी लोकतन्त्र लोप हुने खतरा, राष्ट्रवादी जेनोफोबियाले कुनै सिमानाको आदर नगरी विश्वव्यापी प्रतिक्रियाको माग गर्ने भाइरसको सामना गर्न आफ्नो धरातल परिणामहरू प्रकट गर्ने, र यस्ता असमानताको गहिरा कारणहरूलाई सम्बोधन गर्न बाध्य पार्दै सामाजिक डार्बिनवादको नयाँ संस्करणलाई निम्नवर्गमा लाद्न खोज्ने विकास देखिन्छ । सरल भाषामा व्याख्या गर्न रुचाउने डा. चेम्जोङले जनजातिहरूले मापसे गरेर सवारी चलाउन किन पाउनुपर्छ भनेर गरेको व्याख्याले ट्राफिक प्रहरीको मात्र होइन, धेरै नेपालीको मन छोएको छ । 

अहिले चिकित्सा मानवशास्त्रको रूपमा विश्वभरिका मानवशास्त्रीले हालैको रोगको प्रकोपबाट, विशेषगरी मध्यअफ्रिकामा इबोला भाइरस, विश्वव्यापी रूपमा दादुराको प्रकोप र जिका सार्वजनिक स्वास्थ्य आपत्कालीनका लागि लाभकारी मानवशास्त्रको बारेमा छलफल गरिरहेका छन् । उनीहरू वेबिनरहरू व्यवस्थित गर्न, भर्चुअल संसाधनहरू अद्यावधिक गर्न र जनस्वास्थ्य संक्षिप्त विवरण तयार पार्न व्यापक रूपमा सहकार्य गर्न एकजुट भएका छन् । यो एउटा उदाहरण मात्र हो । यसलाई नेपाली परिवेशमा प्रयोग गर्न मेडिकल डाक्टरहरू त लागि परिरहेकै छन्, त्यसमा नेपाली मानवशास्त्री तथा समाजशास्त्रीहरूले पनि रुचि देखाएका छन् । 

यसको नेतृत्व डा. डम्बर चेम्जोङले गरेका छन् । उनका लेख र विचारहरूले कोरोना महामारीको संक्रमणबारे बायोमेडिकल अनिश्चितताको सामना गर्नुपर्दा, महामारी विज्ञानमा मानवशास्त्रको क्रस–सांस्कृतिक परिप्रेक्ष्यले मानवीय पीडितलाई सीमित गर्ने सामाजिक र सांस्कृतिक प्रतिक्रियाहरू तयार पार्न मार्गदर्शन दिएको छ । अर्को शब्दमा, उनले कोरोना भाइरसलाई नयाँ तरिकाले चिनेका छन् । उनको यस्तो विचारले कोरोना भाइरस मात्र होइन, एचआइभी, हैजा, इबोला भाइरस, इन्फ्लुएन्जा, सार्स, क्षयरोग र जिकालगायत अन्य संक्रामक रोगहरूको प्रकोपमा मानवशास्त्रीय दृष्टिकोण सकारात्मक रहन्छ । त्यसैले उनले चेपाङ, राउटे, लेप्चाजस्ता पिछडा जातिका मुद्दा उठाइरहेका छन् । उनले यी विचार कोरोना भाइरस महामारीका लागि सांस्कृतिक रूपमा सूचित प्रतिक्रियाहरू वृद्धि गर्नका लागि उपलब्ध मानव विज्ञानबाट प्राप्त हुने ज्ञानको चौडाइलाई समुदायसम्म लाने कडीका रूपमा विकास गर्न खोजेका छन् । उनको अब्बल गुण भनेकै यही हो, जहाँ उनी राष्ट्रिय दैनिकमा लेख लेखेर या फोरमहरूमा आफ्ना विचार राखेर समुदायसम्म सरल पहुँच राख्छन् । यो शैलीले अरू एनजिओका निलो कोटधारी कथित मानवशास्त्रीहरूलाई चुनौती दिएको छ । यसबाट के थाहा हुन्छ भने नयाँ भाइरस रोग देखा परेपछि मानिसहरू संक्रामक रोगहरूको अग्रगामी अवस्था र प्रतिस्पर्धी सांस्कृतिक व्याख्यामा निर्भर हुन्छन् ।

मानवशास्त्री मार्क निक्टरको करिब एक वर्ष लगाएर प्रकाशित दस्ताबेजले के देखायो भने कसरी मानवशास्त्रीहरूको व्याख्याले दक्षिण भारतका ग्रामीण गाउँलेबीच एक भाइरल प्रकोपको साथ स्थानीय संलग्नतालाई निर्देशित ग¥यो । यही तर्कलाई चेम्जोङले नेपाली परिवेशमा ढालेर सांस्कृतिक व्याख्याले कसरी विकासको रोगको सामाजिक र राजनीतिक पक्षलाई मान्यता दियो, जसले गरिबहरूलाई असान्दर्भिक रूपमा प्रभावित गरिरहेको छ भनेका छन् । यस किसिमको अनुसन्धानले कोरोना भाइरसलाई नयाँ रोगको रूपमा अन्तर्दृष्टि प्राप्त गर्न स्थानीय ज्ञानको उपयोगको महत्व देखाउँछ, विशेषगरी एक सामाजिक परिप्रेक्ष्यमा, जुन अस्पष्ट बायोमेडिकल मार्गदर्शन र सरकारको निष्क्रियताले आकार दिन्छ । यो विचारलाई चेम्जोङले सांस्कृतिक मानवशास्त्रको बहुआयामिक सिद्धान्तबाट व्याख्या गरेका छन् । यसको उदाहरणमा उनले कसरी एनजिओ र सरकारको गलत प्रयोगले राउटेको जनसंख्या लोप भइरहेको छ भनेर देखाएका छन् । 

मानवशास्त्रीहरू स्थानीय स्वास्थ्य सांस्कृतिक मोडलहरू र सामाजिक असमानतालाई मान्यता दिने सार्वजनिक स्वास्थ्य हस्तक्षेपले विश्वास निर्माण गर्ने, रोग नियन्त्रणमा समुदायको सहभागिता बढाउने र अर्थपूर्ण हेरचाह प्रदान गर्ने कुरामा बढी जोड दिने गर्छन् । उदाहरणका लागि, दुई मानवशास्त्री स्टोलो र क्यास्ट्रोले जिकालाई ‘केवल अर्को लामखुट्टेको रोग’को रूपमा उपचार गर्नुको सट्टा स्त्री र बच्चाहरूलाई जिकाको हानिलाई सम्बोधन गर्नुको महत्वलाई जोड दिन्छन्, जसलाई थप हेरचाह आवश्यक पर्छ भने अनुसन्धानकर्ताहरूमार्फत अरू अनुसन्धान गर्नुपर्छ भनेर सरकारहरूलाई सल्लाह दिएका छन् । डा. चेम्जोङले सामाजिक असमानताले स्थानीयमा जोखिम बढाउँछ भन्ने कुरा प्रारम्भमा बुझे, यो दृष्टिकोण पछि महामारी विज्ञानसम्बन्धी अध्ययनसँग मेल खायो । कोरोना महामारीको प्रारम्भिक अवधिमा ग्रामीण नेपालीहरूले के बुझे भने सामाजिक असमानताले गरिब र सीमान्तकृत समूहका लागि जोखिम बढाउँदै लान्छ । यही कुरालाई सरकारले सम्बोधन गर्न नसक्दा सबैका लागि जोखिम न्यूनीकरण उपाय कार्यान्वयन गर्न ढिलाइ भयो र राज्यभरिका सबै सामाजिक समूहमा भाइरसको फैलावटमा योगदान पु¥यायो । यो अवधिमा सरकार, राजनीतिक दलहरू र तिनका कार्यकर्ता सबै भ्रष्टाचारमा लिप्त भएका छन् भने निरीह मानिसहरूलाई बचाउन पढेलेखेका युवा अग्रसर छन् । यो अवस्थामा डा. चेम्जोङलाई मानवशास्त्र विभागको भौतिक काम गर्न कठिन भएको छ, तर उनले आफ्ना विचार हरेक दिन लेख, सामाजिक सञ्जाल या भर्चुअल बैठकमार्फत राखिरहेका छन् । उनको पछिल्लो भनाइबाट के बुझिन्छ भने महामारीका बखत, मानवशास्त्रीहरूले विश्वभरिका विविध सामाजिक गतिशीलताबारे अन्तरदृष्टि प्रदान गर्न सक्छन् । 

हुन त एड्सको समीक्षा गर्दा मानवशास्त्रीहरूले बायोसियल दृष्टिकोणहरू प्रयोग गर्न आग्रह गरे, जसले अहिलेको महामारीमा स्रोतहरूको पहुँचमा सामाजिक अवरोधहरू गरिबका लागि मात्र किन देखिन्छन् भनेर व्याख्या गरेका छन् । संरचनात्मक हिंसा र सांस्कृतिक भिन्नताको कन्फिगरेसनले एड्सको बारेमा धेरै टिप्पणी गरेको छ, विशेषगरी गरिबहरूमा एड्स अझै पनि घातक छ । यही कुराको डा. चेम्जोङले असमान सामाजिक संरचनाहरूले कसरी रोग उपचारमा जोखिम उत्पादन गर्छ भनेर व्याख्या गरेका छन् । असमान सामाजिक संरचना र प्रक्रियाहरूको परिणामस्वरूप संक्रामक रोगको महामारी विशेष रूपमा वर्ग, जातीयता र लिंगका कारण सामाजिक असमानताको अनुभव गर्ने व्यक्तिहरूको लागि हानिकारक हुन्छ । 

मानवशास्त्री फेफेर र निक्टरको एचआइभी र एड्स, मलेरिया, क्षयरोग, सार्स, एभियन फ्लू र कोरोनामाथि गरिएको अध्ययनले के देखाउँछ भने उदाउँदो रोगको प्रकोपले स्वास्थ्य असमानता र मानव पीडितताको वास्तविकता पहिचान गर्ने विश्वव्यापी प्रतिक्रियाको आवश्यकता छ । रोगको प्रकोपको बखत, समन्वय गरिएको र व्यापक स्वास्थ्य सेवाहरू कमजोर क्षेत्रहरूमा विस्तार गरिनुपर्छ, जसले रोगको रोकथाम र उपचारमा अवरोधहरू पहिले नै अनुभव गर्छ । यही कुरालाई डा. चेम्जोङले कोरोना महामारीको समयमा, प्रभावकारी जनस्वास्थ्य तयारीलाई यस रोगले कसरी अवरोध गरेको छ भनेर व्याख्या गरेका छन् । 

उनका अनुसार पहँुचको असुविधाले कम आय र शक्तिविहीन समूह जातीय अल्पसंख्यक, विस्थापित, घरबारविहीन, बन्दी र मानसिक बिरामीलाई असर पार्नेछ भनेर पूर्वानुमान गर्नु आवश्यक छ । उनको यो विचारले के सन्देश दिन्छ भने मानवशास्त्रीहरूले विश्वव्यापी स्वास्थ्य आपत्कालको समयमा सामाजिक असमानताहरूलाई हटाउँदैनन्, तर स्वास्थ्य असमानता कम गर्न र नयाँ रोगबाट पीडित पक्षमा वकालत गर्न अघिल्लो प्रकोपबाट अन्तर्दृष्टि लिन सहयोग गर्छन् । मानवशास्त्रीय ज्ञानले हानिकारक सन्देशहरूलाई चुनौती दिन्छ । यो विषम परिस्थितिमा राज्यसमेत असफल हुन सक्छ । भेनेजुएला, भारत, अमेरिका, ब्राजिल, जर्मनी, चीन, नेपाल, बाङ्लादेश, पाकिस्तान, इरानजस्ता देशमा कोरोना महामारीको अध्ययनले के देखाउँछ भने आदिवासी जनतामा ‘बहिष्कारको राजनीति’ तीव्र रूपमा सिर्जना भइरहेको छ । 

मानवशास्त्री ब्रिग्सका अनुसार महामारीको समयमा हुने मृत्युका लागि सांस्कृतिक भिन्नतालाई दोष दिँदै महामारीको क्रममा मर्ने आदिवासीहरूको अदृश्यताले वर्ग, सीमा र स्थापित सामाजिक आदेशको सम्बन्धलाई परिभाषित गर्न जटिल र प्रतिस्पर्धी नेटवर्कहरूलाई परिभाषित गर्न मद्दत गरिरहेको छ । हाम्रो जस्तो अल्पविकसित मुलुकमा भाइरसमाथि राजनीति गरेर निर्दोष मानिसलाई पहुँचबाहिर राखी हत्या गर्नु समग्र राज्य प्रणालीको हत्या गर्नुसरह हो । भाइरसलाई कुनै सीमा, वर्ग, जात, लिंग, आफन्त थाहा हुँदैन, त्यसैले हिंसात्मक राजनीतिक प्रवचन दिनु भनेको अवश्य अर्को भाइरस दोहो¥याउनु हो । अमेरिकाजस्तो महाशक्ति राष्ट्र पनि कुशल राजनीतिक अभावका कारण यो मौकाबाट चुकिसकेको छ भने हाम्रो जस्तो देशले यो पाठ अहिले नै सिक्नु जरुरी छ । कोरोना महामारीको समयमा सामाजिक असमानताहरूले एक व्यक्तिको सार्वजनिक स्वास्थ्य दिशानिर्देशहरूको पालना गर्ने क्षमतालाई आकार दिन्छ भन्ने जिकिर मानवशास्त्रीहरूले नै गरिरहेका छन् । 

एनिस–म्याकमिलन भन्छन्, मेक्सिकोमा हैजाको प्रकोपका वेला, ग्रामीण बासिन्दाहरूले हात धुने र पानी शुद्ध पार्ने सन्देशहरू बुझिसकेका थिए, तर तिनीहरू पानीको आभावबाट झनै ग्रस्त छन् किनभने सरकारको हैजा नियन्त्रण प्रयासहरूले यस्तो कार्यक्रमलाई सम्बोधन गर्न सकेको छैन । कोरोना भाइरसको महामारीको समयमा हात धुने र अन्य स्वस्थकर उपायहरूको प्रचार गर्ने सार्वजनिक स्वास्थ्य उपायहरूले पानीको असुरक्षालाई सम्बोधन गर्नु आवश्यक छ, जसले संक्रामक रोगको प्रकोपका वेला धेरै किसिमका पीडालाई बढावा दिन सक्छ । आधारभूत पानी सेवाहरूमा सीमित पहुँचका साथ विपन्नवर्गका मानिसहरू शारीरिक रोगका साथसाथै मानसिक रूपमा व्याकुल हुन सक्छन्, जसलाई रोगको असंगत र सम्भावित विस्तारमाथि धाबा लगाउनु जरुरी छ । मानवशास्त्रीहरूले भविष्यको सामाजिक र सांस्कृतिक परिणामहरूका लागि तयारी सुरु गर्न हरेक राज्यहरूलाई सुझाब दिसकेका छन् । 

अब राज्यहरू शारीरिक तनाव र सामाजिक तनावको नयाँ रूपहरूलाई कसरी सम्बोधन गर्ने भनेर लाग्नुपर्ने भएको छ । त्यस्तैगरी, मानिसहरूले कोरोना भाइरसबाट व्यक्तिहरूलाई बचाउन खोपहरू र अन्य बायोमेडिकल उपकरणहरूको खोजमा विश्वास राख्न थालेका छन् । यद्यपि, महामारीको नृविज्ञानले देखाउँछ कि खोपहरू र नयाँ थेरापीहरूको सुरुवातले नयाँ सामाजिक चिन्ता सिर्जना गर्छ । एकपटक कोरोना भाइरसको खोप देखापर्दा विश्वका सारा मानिसले त्यस्तै चिन्ताका साथै खोपहरूको असमान पहुँचको आशा गर्नेछन् । यो स्थिति हटाउन राज्यको ठूलो दायित्व छ । मानवशास्त्रीय दृष्टिकोणले मानवीय प्रतिक्रियामा योगदान गर्न सक्छ, जसले कोरोना भाइरसबाट पीडित संसारलाई सीमित गर्छ । यस आलेखमा डा. चेम्जोङका सारा विचार समेट्न नसकिए पनि वर्तमान कोरोना महामारीको समयमा कसरी भाइरस र मानिस एक साझा परिस्थितिबीच रहेका छन् भन्ने कुरालाई मानवशास्त्रीय आँखीझ्यालबाट समेट्न खोजिएको छ । उनका अनुसार आपत्कालीन तयारी बढाउन मानवशास्त्रीहरूले सार्वजनिक स्वास्थ्य उपायमा योगदान पु¥याउन सक्छन्, जसले अप्ठ्यारोपना हटाउँछ र सामाजिक असमानता कम गर्छ । डा. चेम्जोङका अनुसार उपयोगी सांस्कृतिक अभ्यासहरूको पहिचान गरी स्वास्थ्य, ऐक्यबद्धता, अर्थपूर्ण सञ्चार र संस्कारबाट कोरोना भाइरस महामारीको अन्त्य गराई मानवजीवनको अनिश्चितता र जटिलता अन्त्य गरी नृविज्ञानको ज्ञानमा फर्कन मानवशास्त्रीहरूको ठूलो योगदान रहनेछ ।