
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट आएका दुई ट्यांकरमा ‘फल्स चेम्बर’ (भित्री भागमा करिब एक हजार लिटरको अलग्गै सानो ट्यांकी) राखेर तेल चोरी गरेको घटना अहिले चर्चामा छ । पेट्रोल चोरी गर्न ट्यांकरमा भित्री संरचना नै बनाएर ट्यांकर सञ्चालक र चालकले अपनाएको नयाँ शैली पहिलोपटक सार्वजनिक भएको हो । तर, तेल चोरीका यस्ता घटनाको लामो शृंखला छ ।
पछिल्लो समय तेल चोरीका घटनामा चालक र सह–चालकलाई दोषी देखाएर कारबाही भइरहेको छ । तर, यो खेलमा इन्धन कारोबारमा संलग्न कर्मचारी, ढुवानीकर्ता, चालक, सह–चालक, पेट्रोलियम व्यवसायी कोही अछुतो छैनन् । सबैको मिलेमतो रहने यस्ता घटनामा सबैभन्दा पीडित भने चालक र सह–चालक हुने गरेका छन् । किनकि, अन्तिम कारबाही भोग्ने उनीहरू मात्र हुन्छन् ।
पछिल्लोपटक थानकोटमा २०–२० हजार लिटर पेट्रोल लिएर आएका ना.७ख ३६९६ र ना.७ख २९९५ नम्बरका ट्यांकरमा करिब एक–एक हजार लिटर कम पाइएको थियो । दुवैका चालक र सह–चालक पक्राउ परिने डरले फरार भएका छन् । आयल निगमले प्रारम्भिक अनुसन्धान गरी तत्काललाई १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । यो जरिवाना रकम ट्यांकर सञ्चालकले तिर्नुपर्छ । दुवै ट्यांकर वीर बेताल आशीर्वाद कम्पनी लिमिटेडको नाममा दर्ता छन् । यो कम्पनीले थानकोट–बरौनी रुटमा ६ र धनगढी–बन्थरा रुटमा तीनवटा ट्यांकर भाडामा लगाई तेल ढुवानी गर्दै आएको छ ।
इन्धन ढुवानी सुरु गरेदेखि नै ट्यांकरमा फल्स च्याम्बर बनाई तेल अपचलन गरिरहेको आशंका आयल निगम स्रोतको छ । चार वर्षअघि ढुवानी सम्झौता भई तेल ओसारिरहेका ट्यांकरले आयल निगमले शंका गरेजस्तै सुरुदेखि नै तेल अपचलन गरिरहेका थिए भने अहिलेसम्म करोडौँ रुपैयाँ ठगी गरिसकेका हुन सक्छन् । किनकि, एक हजार लिटर तेल चोरी गर्दा एकपटकमा करिब एक लाख रुपैयाँ अपचलन हुन्छ ।
ठूलो मूल्यको तेल अपचलन भएकाले यसपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई थप अनुसन्धान गर्न आयल निगमले पत्राचार गरेको छ । बारम्बार तेल चोरीका घटना सार्वजनिक भएकाले यस्ता घटनाको सूक्ष्म अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् । ‘सिआइबीले अनुसन्धान गरी प्रतिवेदन दिएपछि सोहीअनुसार त्यसमा संलग्न सबै पक्षलाई कारबाही गर्नेछौँ,’ पौडेल भन्छन् ।
आयल निगम, गुणस्तर तथा नापतौल विभाग र सिआइबी जसले तेल चोरीका घटना अनुसन्धान गरे पनि सबैभन्दा बढी कारबाही भोग्ने चालक, सह–चालक हुन् । यस्ता घटनामा संलग्न चालकलाई तीनदेखि ६ महिना वा आजीवन इन्धन ढुवानीमा प्रतिबन्ध लगाउने कानुनी व्यवस्था छ । तर, त्यसमा मिलेमतो रहने ट्यांकर सञ्चालक र कर्मचारीले उन्मुक्ति पाउँदै आएका छन् ।
पछिल्लो घटनामा पनि चालक र सह–चालकलाई आजीवन इन्धन ढुवानीमा प्रतिबन्ध लगाउने निगमको तयारी छ । तर, ट्यांकर सञ्चालकलाई ठूलो कारबाही हुने कुरामा निगमकै कर्मचारी शंका व्यक्त गर्छन् । ट्यांकर भाडामा लगाउने वीर बेताल आशीर्वाद कम्पनीका सञ्चालक प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन् । तीमध्ये भट्ट ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराका भान्जा नाता पर्छन् । यही सम्बन्धको दुरुपयोग गरी ट्यांकर सञ्चालकहरू कारबाहीबाट जोगिने प्रयासमा लाग्ने स्रोतको दाबी छ ।
‘ट्यांकर ढुवानी व्यवसायी महासंघले निगमको एउटा तहका कर्मचारीलाई नै ह्यान्डल गर्छन् । उनीहरूले जे भन्यो, त्यही हुन्छ,’ स्रोत भन्छ । सरकारको उपल्लो तहमै मजबुत पकड बनाएर कारबाहीबाट जोगिने प्रयास यसपटक पनि हुन सक्ने स्रोतको दाबी छ ।
ट्यांकर सञ्चालकलाई सधैँ उन्मुक्ति
१ वैशाख ०७६ मा हेटौँडा उपमहानगरपालिका–४ कमल डाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै बद्री गुरुङ तथा उनका साथीहरू उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोलीले पक्राउ ग¥यो । उनीहरूले ना.४ख ०१७७ नम्बरको ट्यांकर उनीहरूले ट्यांकरको माथिल्लो भागमा रहेको ढकन खोली पाइप छिराएर ६० लिटर तेल झिकिसकेका थिए ।
उनीहरूविरुद्ध प्रहरीले जिल्ला अदालतमा चोरी मुद्दा दर्ता ग¥यो । तीनैजनालाई अदालतले थुनामा पठायो । उक्त ट्यांकरका सञ्चालक पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष मनोज दास हुन् । उनलाई भने निगमले विनियमावलीअनुसार कारबाही नगरी उन्मुक्ति दियो ।
आधुनिक लकिङलाई प्रभावकारी बनाउन तेल चोरी गरेको पुष्टि भए चोरीमा संलग्न ट्यांकरको सम्झौता खारेजी गर्नेसम्मको प्रावधान छ । एकपटक सम्झौता खारेजी भएपछि पुनः त्यस्तो ट्यांकर तेल बोक्ने प्रयोजनमा भाडामा नलिने आयल निगमको कार्यविधिमा उल्लेख छ । तर, निगमले यस्तो कडा प्रावधानअनुसार कारबाही चलाउँदै चुहावट रोक्ने प्रयास गर्नु साटो पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ । विनियमावलीमा तेल चोरीमा संलग्न ट्यांकरलाई तीन महिनासम्म ढुवानीमा रोक लगाउने गरी निलम्बन गर्ने व्यवस्था छ ।
गत २५ भदौमा धनुषा महेन्द्रगरस्थित निगमको शाखा कार्यालयमा इन्धन ल्याउने र त्यहाँबाट पेट्रोल पम्पसम्म पु¥याउने चारवटा ट्यांकरका चालक र सह–चालकलाई ६ महिनासम्म ढुवानीमा रोक लगाइएको थियो । निगमको कागजातमा उल्लेख भएको परिमाण नै मेटेर चालकहरूले आठदेखि ३० लिटरसम्म तेल चोरी गर्ने प्रयास गरेको अभियोगमा उनीहरूलाई कारबाही गरियो । इन्धन परिमाणमा कैफियत देखिए ट्यांकर सञ्चालकलाई कारबाही गर्ने निगमको पेट्रोलियम पदार्थ ढुवानीसम्बन्धी विनियमावलीमा व्यवस्था छ । विनियमावलीले चालक र सह–चालकलाई चिन्दैन । तर, सञ्चालकलाई जोगाएर चालकलाई कारबाही हुँदै आएको छ ।
यस्तै, भदौ अन्तिम साता आइओसीको बरौनी डिपोबाट नेपाल आयल निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा तेल लिएर आएका तीनवटा ट्यांकरमा मिसावट फेला परेको थियो । तीनवटै ट्यांकरमा ल्याइएको पेट्रोलमा डिजेल र हानिकारक टर्पेन्टाइल आयल मिसाएको शंकामा चालक र सह–चालकलाई थुनामा पठाइएको छ । तर, सञ्चालकलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । त्यस घटनामा संलग्नमध्ये ना.७ख १६५७ नम्बरको ट्यांकर पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय पदाधिकारी तथा बारा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष सुरेन्द्र श्रीवास्तवको हो ।
चोरीको दोष चालकमा थुपारेर कारबाही हुने भएकाले यस्ता घटनामा कमी नआएको स्रोतको भनाइ छ । सत्यतथ्य छानबिन गरी दोषी देखिएका ट्यांकर सञ्चालक र कर्मचारीलाई समेत कारबाही हुने हो भने चोरी घटनामा कमी आउन सक्ने निगमका कर्मचारीहरू बताउँछन् ।
चालककै हातमा ट्यांकरको चाबी
निगमले तीन वर्षअघिदेखि पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्यांकरमा आधुनिक लकिङ प्रणाली जडान गरेर चोरी नियन्त्रण गरिने बताएको थियो । तर, त्यसयता पनि इन्धन चोरी भइरहेकै छ । आधुनिक लकिङ प्रणालीको ताल्चा आइओसी र नेपाल आयल निगमको डिपोमा मात्र खुल्ने दाबी गरिएको थियो । तर, अझै पनि ट्यांकरको साँचो चालककै हातमा हुने गरेको निगमका कर्मचारीहरू बताउँछन् ।
‘आइओसीको डिपोमा तेल लोड भएपछि ट्यांकरमा ताल्चा लागेको हुन्छ, जुन चाबीविना खुल्दैन । यो ताल्चा खोल्ने चाबी निगमको डिपोमा मात्र हुन्छ । त्यसैले आइओसीले तेल लोड गरेर ताल्चा लगाएको ट्यांकर निगमको डिपोमा प्रवेश गरेपछि मात्र ताल्चा खोल्नुपर्ने हो,’ निगमका एक कर्मचारी भन्छन्, ‘तर, अहिले सबै रुटबाट इन्धन ओसार्ने ट्यांकरचालकको हातमा चाबी छ । उनीहरूले ताल्चा खोल्ने र आवश्यकताअनुसार तेल बीचबाटोमै झिकेर बेच्ने गरेका छन् ।’
१९ माघ ०७६ मा सिनामंगलस्थित हवाई इन्धन डिपोबाट एक सय ८१ वटा ट्यांकरको ताल्चा खोल्ने ‘मास्टर की’ हराएपछि चोरीका घटना झन् बढेका छन् । सोही चाबीले निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटको करिब दुई सय ट्यांकरको ताल्चासमेत खोल्न मिल्छ । हराएको ‘मास्टर की’ अहिलेसम्म भेटिएको छैन ।
तेल चोरी हुनुभन्दा ‘मास्टर की’ हराउनुलाई निगमको आधुनिक लकिङ प्रणालीसम्बन्धी कार्यविधिले अपराध मानेको छ । ‘मास्टर की’ विशेष कारणले डिपोबाहिर लैजानुपर्दा कार्यकारी निर्देशकको अनुमति लिनुपर्ने व्यवस्था छ । तर, त्यही ‘मास्टर की’ चोरी भएको छ । ‘मास्टर की’ हराएको ताल्चा हटाएर नयाँ ताल्चा लगाउनुपर्ने व्यवस्था पनि छ । तर, निगमले अहिले ती ट्यांकरमा फलामको सानो तारलाई सिलका रूपमा प्रयोग गरी इन्धन ढुवानी गर्दै आएको छ, जसका कारण चोरी गर्न थप सहज भएको छ । ‘मास्टर की’ सुरक्षित राख्ने दायित्व सुम्पिइएका कर्मचारीहरूलाई पनि कुनै कारबाही भएको छैन ।
सिआइबीकै छानबिनबाट दोषी देखिएका कर्मचारीलाई पनि कारबाही भएन
६ मंसिर ०७५ मा विराटनगर डिपोमा को.१ख ५९६५ नम्बरको ट्यांकरमा आयात गरिएको २० हजार लिटर डिजेलमध्ये दुई हजार ८४ लिटर चोरी भएको खुल्यो । त्यस घटनामा तत्कालीन डिपो प्रमुख दिनेश यादव, सहायक प्रबन्धक वीरेन्द्र मिश्र र सम्बन्धित फाँटका कर्मचारीको प्रत्यक्ष मिलेमतो पुष्टि भएको थियो । घटनाको सूक्ष्म अनुसन्धान गरेको सिआइबीको प्रतिवेदनमा भारतको बथनाहमा गाडी रोकेर डिपो प्रमुख यादवको निर्देशनमा चालक र सह–चालकले तेल चोरेको उल्लेख छ । यस घटनाबारे निगमका तत्कालीन आठौँ तहकी प्रबन्धक अञ्जना पोखरेल नेतृत्वको समितिले पनि छानबिन गरेको थियो । पोखरेलले आफ्नै हाकिम यादवलाई दोषी देखाउन नमिल्ने भएकाले चालक र ढुवानीकर्तालाई कारबाही सिफारिस गरी थप अनुसन्धान गर्ने गरी प्रतिवेदन दिएकी थिइन् ।
सिआइबीको प्रतिवेदनअनुसार २ मंसिर दिउँसो ४ बजे को.१ख ५९६५ नम्बरको ट्यांकरमा चालक धर्मेन्द्र स्वर्णकारले बरौनीस्थित आइओसीको रिफाइनरीबाट २० हजार लिटर डिजेल लोड गरेका थिए । उक्त ट्यांकर पहिलो दिन रिफाइनरीबाहिरको पार्किङमा राखिएको थियो । र, राति १ बजे चालक धर्मेन्द्र र सह–चालक सहवाज आलम ट्यांकर लिएर विराटनगरतर्फ हिँडे । ४ मंसिरमा भन्सार पास गरी सो ट्यांकर विराटनगर डिपोमा अपराह्न ४ बजे भित्रिएको थियो ।
ढिलोगरी डिपो प्रवेश गरेको बताउँदै त्यस दिन ट्यांकरमा रहेको तेल खन्याइएन । भोलिपल्ट ५ मंसिरमा पालो दिइएन र ६ मंसिर बिहान साढे ११ बजे तेल अनलोड गर्न लैजाँदा सुरक्षा गार्डले जाँच गरेनन्, धर्मकाँटामा जोखिएन र नापतौल गर्दासमेत लापरबाही गरेको भेटिएको थियो । यस घटनामा ट्यांकरको सम्झौता खारेज गरियो भने त्यसका सञ्चालक सुकदेव सिंहका थप १२ ट्यांकरलाई ४५ दिन इन्धन ओसार्न प्रतिबन्ध लगायो । यस्तै, चालक धर्मेन्द्र स्वर्णकारलाई इन्धन ढुवानी गर्ने ट्यांकर चलाउन प्रतिबन्ध लगाइयो । तर, चोरीमा प्रत्यक्ष संलग्न कर्मचारीलाई कुनै कारबाही नगरी छाडियो ।
दैनिक ६० लाखको तेल चोरीमा संलग्न कर्मचारीमाथि छानबिन नै भएन
४ जेठ ०७१ मा रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गर्र्दै आयल निगमको भलबारी डिपो (हाल लुम्बिनी प्रादेशिक कार्यालय) बाट दैनिक ६० लाख लिटरसम्मको तेल चोरी हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यतिवेला ३० वटा ट्यांकरले भलबारी डिपोमा तेल ओसार्ने गरेका थिए ।
कतिसम्म भने आइओसीको डिपोबाट २४ हजार लिटर डिजेल बोकेर आएको ट्यांकरमा २० हजार लिटर मात्रै रहेको भन्सारमा दाखिला गरी तेल अपचलन हुने गरेको थियो । प्रहरी प्रतिवेदनअनुसार आइओसीको बेतालपुर डिपोबाट तेल लिएर आएका ट्यांकर नेपाली भन्सार आइनपुग्दै भारततर्फ चिया, खाजा खान गाडी रोक्ने गरिन्थ्यो । त्यहाँ दुई–तीनवटा ट्यांकर लाइनमा राख्ने र ती ट्यांकरबाट ५० लिटरभन्दा बढी तेल पाइपबाट झिकेर ड्रममा खन्याइन्थ्यो ।
भन्सार पास गरेपछि पनि पडसरी क्षेत्रमा सबै ट्यांकरका चालक चिया, खाजाका लागि रोकिन्थे । त्यहीवेला जेनेरेटरको सहायताले प्रत्येक ट्यांकरबाट दुई हजार लिटरसम्म डिजेल चोरी गर्दै गरेको अवस्थामा रुपन्देही प्रहरीले पक्राउ गरेको थियो । त्यसरी झिकिएको तेल सोही ठाउँमा बनाइएको अन्डरग्राउन्ड ट्यांकीमा भण्डारण गर्ने गरेको फेला परेको थियो । तेल झिकेको ट्यांकरलाई भलबारी डिपोमा पुगुन्जेलसम्म चालकहरूले बाटोमा बारम्बार ब्रेक लगाएर फिँज निकाल्थे र तेलको सतह तोकिएभन्दा माथि आउँथ्यो । त्यस घटनामा प्रहरीले चालक, ढुवानीकर्ता र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाए पनि निगमले आफ्नो विनियमावलीअनुसार कारबाही नगरी उन्मुक्ति दिएको थियो ।
मिसावट, कम परिमाणदेखि सफ्टवेयरसम्म राखेर पेट्रोलपम्प व्यवसायीको ठगी
पेट्रोलपम्प व्यवसायीले विगतमा कम परिमाण दिएर उपभोक्ता ठगी गर्ने गरेका थिए । तर, पछिल्लो समय आधुनिक प्रविधिको सहायता लिएर उपभोक्ता ठगी गर्ने गरेको फेला पर्न थालेको छ । यस्तै, पानी वा अन्य सस्तो पेट्रोलियम पदार्थ मिसाएर बिक्री गर्ने व्यवसायी पनि कारबाहीमा पर्दै आएका छन् ।
पाँच लिटर पेट्रोल–डिजेल बिक्री गर्दा १५ मिलिलिटरसम्म कम वा बढी दिन पाइने कानुनी व्यवस्थालाई पम्प व्यवसायीले ठगी धन्दामा उपयोग गर्दै आएका छन् । मेसिनमा कहिलेकाहीँ समस्या आउन सक्ने भएकाले गुणस्तर तथा नापतौल विभागले पाँच लिटरमा १५ मिलिलिटरसम्म कम इन्धन दिए मान्य हुने कानुन बनाएको छ । तर, अधिकांश व्यवसायीले डिस्पेन्सिङ पम्प खरिद गर्दा उत्पादक कम्पनीलाई पाँच लिटरमा १० देखि १५ मिलिलिटरसम्म कम तेल दिन मिल्नेगरी मेसिनको सेटिङ गर्न लगाउने गरेका छन् । यस्तो ठगीबाट दैनिक ४–४ हजार लिटर पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले उपभोक्ताबाट मासिक करिब ५० हजार रुपैयाँसम्म अतिरिक्त रकम असुल्छन् ।
यस्तै, आधुनिक सफट्वेयर राखेर ठगी गरेको पनि पत्ता लागेको छ । गुणस्तर तथा नापतौल विभागले असोज ०७५ मा तराई र काठमाडौंका पम्प अनुगमन गर्दा डिस्पेन्सिङ पम्पको मदर बोर्डमा सफ्टवेयर जडान गरी पाँच लिटरमा चार सय मिलिलिटरसम्म ठगी गरेको भेटिएको थियो । बाराका विजय, मोहम्मद, श्रीशंकर, अमित, स्वस्थानी, हरिओम र जय विकास आयल स्टोर त्यस्तो ठगीमा संलग्न पाइएका थिए । यस्तै, काठमाडौं सानो भ¥याङस्थित बंगलामुखी आयल स्टोर, बुटवलको लोटस लुम्बिनी आयल र ओखलढुंगाको खुस्बु आयल स्टोर गरी १२ वटा पम्पले पनि त्यसरी नै ठगी गर्दै आएको खुलेको थियो । ती पम्पले कम तेल दिए पनि डिस्प्ले बोर्डमा उपभोक्ताले मागेजति नै तेल दिएको अंक र रकम देखिने सफ्टवेयर जडान गरेका थिए ।
त्यसअघि काठमाडौं प्रहरीले मदरबोर्डमै चिप्स राखेर इन्धनमा ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका १७ वटा पम्पलाई कारबाही गरेको थियो । ती पम्पले रिमोट कन्ट्रोलबाट नोजल सञ्चालन हुने गरी चिप्स जडान गरेको प्रहरीले फेला पारेको थियो ।