अहिलेका कुन–कुन नेपाली ‘दार्शनिक’लाई अमेरिकामा आयोजना हुने ठूला सम्मेलनमा अतिथिको रूपमा बोलाइएला र ‘न्युयोर्क टाइम्स’जस्तो अखबारले विशेष स्थान देला ? अहिलेका कुन नेपाली विद्वान्लाई नोवेल पुरस्कारप्राप्त दिग्गजहरूले आफ्नो ग्रन्थमा केही लेखिदिन आग्रह गर्लान् ? अहिलेका कुन नेपाली चिन्तकलाई उसको विचारले आफ्नो सत्तालाई असर गर्ला भनेर विश्वको कुनै शक्तिराष्ट्रले सामान्य भ्रमणमा नै प्रतिबन्ध लाउला ? तर, बीसौँ शताब्दीमै जयपृथ्वीबहादुर सिंहले त्यो स्थान प्राप्त गरेका थिए ।
सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा जयपृथ्वीबहादुर सिंह अतिथिका रूपमा आमन्त्रित थिए । उनी औसत अतिथि मात्रै थिएनन्, अमेरिकी मिडियामा राम्रो स्थान पाउने सहभागी पनि थिए । सन् १९३३ को जुलाई २९ को अंकमा दी न्युयोर्क टाइम्सले लेखेको छ, ‘विश्व आस्थामैत्री सम्मेलनमा सम्बोधन गर्ने विभिन्न व्यक्तिमा जयपृथ्वीबहादुर सिंह पनि छन्, जो यस सम्मेलनका सबैभन्दा आकर्षक व्यक्ति हुनेछन् । उनी भूतपूर्व राष्ट्रपति हवर्ट हुवर, न्युटन डी. बेकर तथा प्रोफेसर जोन देवेले आयोजना गरेको सम्मेलनमा भाग लिन न्युयोर्क सहरमा आइपुगेका छन् ।’
नोवेल साहित्य पुरस्कारले सम्मानित रवीन्द्रनाथ टैगोरको ७०औँ जन्मोत्सवको अवसर (१९३१) मा विश्वका विभिन्न व्यक्तित्वका मन्तव्य समेटेर ‘दी गोल्डेन बुक अफ दी टैगोर’नामक पुस्तक निकालिएको थियो, जसमा नेपालका जयपृथ्वीबहादुर सिंहको मन्तव्य पनि राखिएको थियो । उक्त पुस्तकको १२१औँ पृष्ठमा जयपृथ्वीले लेखेका छन्, ‘कृपया मानवतावादी क्लब तथा मेरो तर्फबाट दिइएको ७०औँ जन्मोत्सवको बधाई स्वीकार गर्नुहोला । दीर्घजीवी बन्दै विश्वलाई एक सुखी परिवारको रूपमा मानवतावादले स्वीकार तथा अभ्यास गरेको देख्न चाहने तपाईंको पवित्र इच्छा पूरा होस् ।’ उनी एक प्रखर मानवतावादी थिए, उनले मानवतावादी दर्शनकै विकास गरेका थिए ।
उनलाई विभिन्न मुलुकमा मानवतावादी दर्शनको प्रवचन दिन आमन्त्रित गरिन्थ्यो । जयपृथ्वी युरोपेली मुलुक बेलायत, फ्रान्स, जर्मनी, पोल्यान्ड, रोमानिया, सर्बिया, हंगेरी, स्विट्जरल्यान्ड, चोकोस्लोभाकियाका साथै एसियाली मुलुक म्यानमार, चीन, जापानलगायतका मुलुकमा प्रवचन दिन पुगेका थिए । सम्भवतः आफ्नो दर्शनबारे प्रवचन दिन युरोपमा आमन्त्रण गरिएका दुर्लभ नेपाली हुन्, उनी । मानवतावादको दर्शन लिएर हिँड्ने जयपृथ्वीबहादुर सिंहको विचारसँग डराएर सोभियत संघले उनलाई प्रवेशाज्ञा नै दिएन ।
सोभियत संघ जाने अनुमति सोभियत संघले नदिएपछि त्यहाँका नागरिकको नाममा पत्र लेखे जयपृथ्वीले– ‘मजदुर वर्गको सुख–शान्तिमा अग्रदूत मानिएको राष्ट्रमा शान्ति, उन्नति र प्रगतिका लागि के कस्तो काम कारबाही गरी समस्या समाधानका उपाय पत्ता लगाइएका छन्, सो जान्ने उत्सुकता र शान्तिका समस्याबारे आफ्ना विचारबारे प्रकाश पार्न मस्को भ्रमणका लागि मैले रुस सरकारसँग अनुमति मागेको थिएँ, तर आश्चर्यको कुरा मलाई त्यो सौभाग्यबाट वञ्चित गरियो । त्यहाँ मेरो बारेमा केही भ्रम हुन गएको जस्तो देखिन्छ ।’
ह्युम्यानिस्ट क्लब अर्थात् मानवतावादी क्लबमार्फत जयपृथ्वीबहादुरको प्रताप युरोप, अमेरिका र एसियाका कैयौँ मुलुकमा फैलिएको थियो । भारतको द हिन्दूलगायतका अखबारले ‘दोस्रो गौतम बुद्ध’ भनेर सम्पादकीय नै लेखेको जयपृथ्वीबहादुर सिंहबारे अध्ययन गर्ने संस्था ‘रफाज नेपाल’ले प्रकाशन गरेको ‘शान्तिका उपाय’मा उल्लेख छ ।
जयपृथ्वी जात, धर्म, सम्प्रदाय, संकीर्ण राष्ट्रवादजस्ता मान्छेलाई विभाजन र युद्ध गराउने ‘डिभाइडर’बारे सचेत थिए । मान्छेलाई मान्छेसँग जोड्ने बलियो ‘कनेक्टर’ खोज्ने क्रममा जयपृथ्वीले ल्याएको सिद्धान्त थियो– मानवतावाद ।
जयपृथ्वीबहादुर अर्थात् ‘मानवतावाद’ : जयपृथ्वी जात, धर्म, सम्प्रदाय, संकीर्ण राष्ट्रवादजस्ता मान्छेलाई विभाजन र युद्ध गराउने ‘डिभाइडर’बारे सचेत थिए । मान्छेलाई मान्छेसँग जोड्ने बलियो ‘कनेक्टर’ खोज्ने क्रममा जयपृथ्वीले ल्याएको सिद्धान्त थियो– मानवतावाद । मानवतावादको अभियानमा जयपृथ्वी विभिन्न चार मोर्चामा सक्रिय भए । पहिलो मोर्चा मानवतावादी क्लब थियो ।
उनले निर्वासित जीवनकाल सन् १९२८ मार्चबाट भारतको बैंगलोर सहरमा मानवतावादी क्लब सुरु गरेका थिए । यो क्लब पछि विभिन्न देशमा विस्तारित भयो । ती क्लबमा मानवतावादबारे चिन्तनमनन एवं विमर्शहरू हुन्थे । दोस्रो मोर्चा थियो, पुस्तक प्रकाशन । जयपृथ्वीबहादुरले ‘मानवतावाद’बारे बृहत् पुस्तक नै प्रकाशन गरेका छन् । उनको ‘मानवतावाद’ नामक पुस्तक तीन भागमा प्रकाशित छ ।
मानवतावादको तेस्रो मोर्चा थियो, पत्रकारिता । नेपालको प्रथम पत्रिका गोरखापत्रका संस्थापकसमेत रहेका जयपृथ्वीले मानवतावादको बारेमा समेत एक म्यागजिन निर्वासित जीवनकालबाटै निकाल्न थालेका थिए । ‘दी ह्युम्यानिस्ट’ नामक मासिक पत्रिका निकालेर जयपृथ्वीले मानवतावादको प्रचार गर्न थालेका थिए । मानवतावादको प्रवद्र्धनमा जयपृथ्वीले सम्हालेको चौथौ मोर्चा थियो, सामाजिक पैरवी । उनी द्वन्द्व र युद्धको विरुद्ध अभियान चलाउँथे । यसक्रममा जयपृथ्वी पटक–पटक पक्राउसमेत पर्थे ।
नेपाली भाषाको पहिलो पुस्तक ‘अक्षरांक शिक्षा’का लेखक, बझाङका सुधारवादी राजा, गोरखापत्रका संस्थापक तथा सम्पादकजस्ता पद्वी जयपृथ्वीका उपमामा जोडिएर आउने केही परिचय हुन् । उनको नाममा बझाङ जिल्लाको दक्षिण–पूर्वी नगरपालिकालाई ‘जयपृथ्वी नगरपालिका’ नामकरण गरिएको छ । सदरमुकाम चैनपुरमा ‘जयपृथ्वी बहुमुखी क्याम्पस’ स्थापित छ । यसले मात्रै उनको मानवतावादी दृष्टिकोणको सम्मान हुन सक्दैन । जयपृथ्वीबहादुर सिंहको नाममा नेपालले मानवताको पक्षमा पुरस्कार स्थापना गर्न सक्छ ।
उनको नाममा हरेक वर्ष विश्वमा मानवअधिकार तथा मावतावादको पक्षमा काम गर्ने एकजनालाई यस्तो अवार्ड दिन सकिन्छ, जसले जयपृथ्वीले प्राज्ञिक क्षेत्रमा गरेको योगदानको कदर हुनेछ । नेपालका एक प्रखर चिन्तक तथा दार्शनिकको सम्मान हुनेछ । हामीले हाम्रा अग्रजलाई बिर्सियौँ र उनीहरूको यथोचित कदर गर्न सकेनौँ भने त्यसले नेपालको स्वाभिमान गिर्नेछ । इतिहासका यस्ता पात्रहरूको खोजी र सम्मान हुनुपर्छ ।