Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ मङ्सिर ६ शनिबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड संकटमा वैकल्पिक शैक्षिक गतिविधिलाई प्राथमिकता, तर माविमै छैन इन्टरनेट सुविधा

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर ६ शनिबार १८:००:००

राष्ट्रिय परीक्षा बोर्डले ९ मंसिरदेखि सञ्चालन गर्न लागेको कक्षा–१२ को परीक्षामा ६ सय १७ केन्द्रमा इन्टरनेट सुविधासमेत नभएको पाइएको छ । इमेल ठेगाना र इन्टरनेट सुविधासमेत नभएका ती परीक्षा केन्द्रमा बोर्डले प्रश्नपत्र छापेर पठाएको छ ।

कोभिड–१९ संकट सुरु भएपछि सरकारले नै अनलाइनलगायत वैकल्पिक विधिबाट पठनपाठनलाई प्राथमिकता दिएको छ । तर, कक्षा–१२ सम्म सञ्चालन भएका माध्यमिक विद्यालयमै इमेल सुविधासमेत नभएको पाइएको हो । सोहीकारण प्रश्नपत्र छापेर पठाउनुपरेको हो । हिमाली क्षेत्रका १६ जिल्ला र सुदूरपश्चिमका केही पहाडी जिल्लाका परीक्षा केन्द्रले इमेल चलाउन नसकिने जानकारी परीक्षा नियन्त्रण कार्यालयलाई गराएका थिए ।

सरकारले विद्यालयलाई प्रविधिमैत्री बनाउने बताउँदै आएको छ । तर, यति धेरै माध्यमिक विद्यालयमा प्रविधिको पहुँच नहुनुले नेपालको वास्तविक अवस्था चित्रण गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल बताउँछन् । अनलाइन पठनपाठन र अनलाइन परीक्षाको विषयमा बहस भइरहे पनि पूर्वाधारमा पहुँच नपुग्दा त्यसको कार्यान्वयन कठिन हुने प्रा.डा. पौडेलको भनाइ छ ।

‘गाउँमा विद्युत् पनि छैन, टेलिकम्युनिकेसनको सुविधा पनि छैन, यतिवेला सरकारले टेलिकम्युनिकेसनका लागि पहल गर्नुपर्छ,’ उनी भन्छन्, ‘कक्षा–१२ सम्म पढाइ हुने विद्यालयमा पनि अहिलेसम्म इन्टरनेट सुविधा नहुनु दुखद हो ।’

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । इमेल सुविधा नभएका केन्द्रमा प्रश्नपत्र छापेर पठाइसकिएको उनले जानकारी दिए । ‘सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकेका छौँ,’ उनले भने ।

देशभरका चार हजार एक सय पाँच केन्द्रमा कक्षा–१२ परीक्षा सञ्चालन हुँदै छ । तीमध्ये ६ सय १७ केन्द्रमा छपाइ भएर प्रश्नपत्र पुगेका छन् । इमेल, इन्टरनेट सुविधा उपलब्ध रहेका केन्द्रमा आधा घन्टाअघि प्रश्नपत्र पठाउने बोर्डको तयारी छ ।

यस वर्ष कक्षा–१२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा–१२ को परीक्षा ८ वैशाखदेखि सञ्चालन गर्ने तयारी गरेको थियो । तर, कोभिड संकटका कारण परीक्षा स्थगित भएको थियो । रोकिएको परीक्षा ९ मंसिरदेखि सञ्चालन हुन लागेको हो । बिहान ८ देखि साढे ९ बजेसम्म डेढ घन्टा परीक्षा सञ्चालन हुनेछ ।

बोर्डबाट ४० प्रतिशत मात्रै मूल्यांकन
बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिन लागेको हो । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा–११ को नतिजालाई आधार बनाइनेछ भने २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ । यसरी लिइने परीक्षाको समय डेढ घन्टा हुनेछ ।

विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र तयार गरिएको बोर्डले जनाएको छ । यसपटकको परीक्षा फरक ढंगले हुने भएकाले बोर्डले नमुना प्रश्नपत्र निर्माण गरी सार्वजनिक गरेको छ ।

परीक्षार्थी कोरोना संक्रमित भएको वा आइसोलेसनमा बसेको अवस्थामा निको भएपछि परीक्षा लिने व्यवस्था मिलाइएको छ । बोर्ड अध्यक्ष प्रा.डा. पौडेलका अनुसार कोरोना पजिटिभ भएको रिपोर्ट आफैँले पढेको विद्यालयमा पेस गरेपछि त्यसको कम्तीमा १५ दिनपछि परीक्षा लिइनेछ ।

विद्यार्थीले आफैँले पढेको विद्यालयमा पुगेर जाँच दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था पनि मिलाइएको छ । काठमाडौं उपत्यकाभित्रका जिल्लामा विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा दिन जानुपर्नेछ । बोर्डले परीक्षा दिन प्रवेशपत्र अनिवार्य गरेको छ ।

१० भन्दा कम परीक्षार्थी हुने १३८ र एक हजारभन्दा बढी हुने २१ केन्द्र
बोर्डका अनुसार १० भन्दा कम परीक्षार्थी भएका देशभरमा एक सय ३८ परीक्षा केन्द्र छन् । यस्तै, एक हजारभन्दा बढी परीक्षार्थी हुने देशभरमा २१ परीक्षा केन्द्र छन् ।

एक हजारभन्दा बढी परीक्षार्थी रहेका केन्द्र सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । बागमतीमा १५, प्रदेश–२ र लुम्बिनीमा २-२ परीक्षा केन्द्रमा एक हजारभन्दा बढी परीक्षार्थी छन् ।

यस्तै, प्रदेश–१ र सुदूरपश्चिममा एक÷एक परीक्षा केन्द्रमा एक हजारभन्दा बढी परीक्षार्थी छन् । गण्डकी र कर्णाली प्रदेशमा कुनै पनि केन्द्रमा एक हजारभन्दा बढी परीक्षार्थी छैनन् ।

यसैगरी, पाँच सयभन्दा बढी परीक्षार्थी हुने ९२ परीक्षा केन्द्र छन् । प्रदेश–१ मा २०, प्रदेश–२ मा आठ, बागमतीमा ३६, गण्डकीमा ६, लुम्बिनीमा १३, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच परीक्षा केन्द्रमा पाँच सयभन्दा बढी परीक्षार्थी छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा भन्छन्– स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन हुन्छ

यस वर्ष कक्षा–१२ को परीक्षा ९ देखि १६ मंसिरसम्म सञ्चालन हुँदै छ । त्यसका लागि बोर्डको तर्फबाट तयारी पूरा गरेका छौँ । यसपटक सीमित पूर्णांकको परीक्षा हुन्छ । परीक्षा व्यवस्थित र मर्यादित बनाउन सबैको सहयोग हुने बोर्डको अपेक्षा छ । बोर्डले केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण तालिम दिएको छ । कोरोना संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन हुन्छ ।