मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार ०९:१७:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

जीवा लामिछानेको  नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार ०९:१७:००

उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियो माध्यममार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो । लेखक लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष पनि हुन् ।

साहित्यकार खगेन्द्र संग्रौलाले लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ पुस्तक लेखेको बताए । ‘यो कृति अति सजिलो ढंगले लेखिएको छ । सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ ।’

साहित्यकार अमर न्यौपानेले शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको बताए । विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा भन्ने उनको भनाइ छ । ‘संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो,’ उनले भने, ‘विकासप्रेमी एवं राजनीतिज्ञहरूका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ ।’

फाइन प्रिन्टका सहसंस्थापक नीरज भारीले किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने बताए । ‘विश्व धेरै रङरूपले भरिपूर्ण छ । बहुआयामिक पनि छ,’ उनले भने, ‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ ।’ घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनले बताए । आफू जान नपाए पनि विभिन्न ठाउँबारे बुझ्न पनि यसले सघाउने उनको भनाइ छ । 

लेखक लामिछानेले जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पुस्तक उपयोगी हुन सक्ने बताए । ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लेखक भन्छन्, ‘तर, एउटै पुस्तकबाट संसारका विभिन्न देश एवं ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ ।’ डायरी लेख्ने बानी अनि केही रहर र केही लहडले जन्मिएको पहिलो पुस्तकबाट पाएको मायाले आफूलाई पुलकित बनाएको र लेखिरहने ऊर्जा थपिएको उनको भनाइ छ ।