मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ मङ्सिर ३ बुधबार ०८:०२:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

गणतन्त्रपछि राजा गए, राजेश हमाल युग पनि गयो

लेखनका कुरा

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ मङ्सिर ३ बुधबार ०८:०२:००

फिल्म मेकर तथा समीक्षक मनोज पण्डितले अध्ययन गर्दै जाँदा महसुस गरेको कुरा हो, राम्रो सिनेमाले मान्छे खराब हुन्छ भन्दो रहेछ । तर, मान्छेले सत्य लुकाउँछन्, जसकारण त्यस्तो सिनेमालाई अस्वीकृत गरिन्छ ।

  • मनोज पण्डित, लेखक/निर्देशक 

संसारमा थोरै मान्छे छन्, जसले सत्य लुकाउन चाहँदैनन् । र, अहिलेसम्म सिनेमाको इज्जत बचेको छ । मान्छेभित्र यति धेरै कुण्ठा, आक्रोश, लोभ, अहम्, विकृति, असन्तुलन छ । मान्छेले संसारलाई असन्तुलित बनाएको छ । प्रकृतिलाई नाश गरेको छ । दुःख, पीडा र सन्त्रास फैलाएको छ । र, राम्रा सिनेमाले यस्ता कुरा निर्भिक भएर देखाउँछ । यस्तै सिनेमाले नै मान्छेलाई सोच्न बाध्य गराउँछ । तर, सतही रूपमा मान्छेलाई भ्रम छरेर सपना, आकांक्षाहरूको व्यापार गर्ने सिनेमा धेरै मान्छेमा पुग्छ । 

राम्रो सिनेमाले मानिसले बुझाइ र चेतनामा मुक्का हान्छ । मुक्का लागेपछि मान्छे कि रन्थनिन्छ, कि ढल्छ या त आफूलाई बलियो बनाएर जुध्न तयार हुन्छ । तर, अर्को प्रकारको सिनेमाले भने मुक्का हान्दैन, फकाउँछ, लुट्छ । तिनीहरूले मान्छेलाई यथास्थितिमा राख्न खोज्छन् । यसका लागि उनीहरूकै अहम्, परिधि, चेष्टा, रहर, आकांक्षा, खुसी सहजतामा खेल्नुपर्छ । जो बजारको चरित्र हो । तर, यो सभ्यता नाफा कमाउन खोज्नेहरूका कारण यहाँ आइपुगेको होइन, परिवर्तन गरौँ भन्नेहरूका कारण यहाँ आइपुगेको हो । 
                                                                  ०००

पण्डितले लेखेको ‘सिनेमा मन्थन’ पुस्तक हालै बजारमा आएको छ । सिनेमा सोचको उपज हो । सिनेमाभित्र जुन सोच हुन्छ, त्यो स्रष्टाको बौद्धिकताको उपज हो । त्यही सोचमाथि खोज गर्दागर्दै पण्डितले जन्माए ‘सिनेमा मन्थन’ । यो पुस्तकको पहिलो चरण पहिल्यै तयार भएको थियो करिब तीन वर्षअघि । समीक्षकद्वय यज्ञश र अनुप सुवेदीले हेरेका थिए । उनीहरूबाट प्रतिक्रिया पनि आइसकेको थियो । तर, दुर्भाग्य, पुस्तकका लागि तयार गरेको सन्दर्भ सामग्री र खाकाहरू पण्डितले हराए २०७५ चैतमा । यसपछि एउटा पुस्तक थाती रह्यो । पण्डितको एउटा सपना थाती रह्यो । यसपछि यत्तिकै रहेका पण्डित कोभिड–१९ का कारण लकडाउन सुरु भएपछि पुनः पुस्तकबारे सोच्न थाले । पण्डितका अनुसार पुस्तकको खाका हराए पनि योजना भने दिमागमै थियो । जसकारण पुनः लेख्न बसे र तयार गरे, ‘सिनेमा मन्थन’ । 

मैले पुस्तकमार्फत भन्न खोजेको तपाईं दर्शक हुनु भनेको छनोटबीच उभिनु हो । निर्णय गर्नु हो । संसारको सबैभन्दा ठूलो कुरा निर्णय हो । यो पुस्तकले भन्छ, तपाईं कस्तो सिनेमा छनोट गर्नुहुन्छ, त्यसले तपाईंको चरित्र, नियति र निर्णयलाई प्रस्ट पार्छ । तपाईं जस्तो सिनेमा छनोट गर्नुहुन्छ, शासक पनि त्यस्तै छनोट गर्नुहुन्छ । किनभने तपाईंको मनोरञ्जनको दुनियाँ तपाईंको चेतनाले निक्र्योल गर्छ । शासक पनि तपाईंको त्यही चेतनाले छनोट गर्छ । - मनोज पण्डित, लेखक/निर्देशक 

 केही समयअघि अभिनेता राजेश हमालको ‘महानायक’ पदवीमाथि बहस उठ्यो । कलाकार निर्देशक दीपाश्री निरौलाले जुन तरिकाले उठाए पनि बहसले नेपाली मिडियामा गरम पैदा गर्‍यो । हमालको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातियो । तर, हामीले महानायकमाथि बहस गर्दैगर्दा नायकमाथिको बहस नै उधारो रहेको बताउँछन् पण्डित । प्रश्न गर्छन्, ‘नायकमाथि नै बहस नभएको परिवेशमा महानायकमाथि बहस गर्न नेपाली चलचित्र क्षेत्र तयार छ त ?’ 

नायकत्वको यात्रा कठिन हो । समाजको नायकत्व सामान्य अवस्थामा बन्दैन । सामान्य अवस्थामा बन्छ भने त्यो ठूलो घटना नै होइन । किनभने समाजको ठूलो वर्ग, समुदाय सहजतामा बाँच्न चाहन्छ । सहजता भ्रममा हुन्छ, यथार्थमा होइन । हामीले हाम्रो यथार्थलाई भयावह र असन्तुलित बनाइसकेका छौँ । यथार्थमा बाँच्न ठूलो आँट र बौद्धिकता चाहिन्छ । आफ्नो पुस्तक यस्तै विचारमाथिका मन्थन भएको बताउँछन् पण्डित । भन्छन्, ‘मानिस असहजताको जंगलमा फसेको छ । त्यसले गर्दा संसारमा सिर्जनात्मकतामा एकदमै सतही काम भएको छ । यही विषय र विचारमाथिको खोज हो सिनेमा मन्थन ।’

एक समय पण्डितलगायत नेपाली सिनेमालाई खुब गाली गरेर समीक्षा लेख्थे । नेपाली सिनेमालाई गाली गर्न उनीहरू समीक्षा लेख्छन् भन्ने आरोप लाग्थ्यो । झनै अलिपछि दीपेन्द्र लामाहरू आए । सबै भारतीय सिनेमाको कपी नेपाली सिनेमालाई पलेँटी कसेर गाली गर्थे । ‘कथित मूलधार’माथि प्रश्न गर्ने यो पुस्तापछि अर्को पुस्ता पनि आइसक्यो अहिले । अब पाँच सात वर्षपछि अर्को पुस्ता आउने तयारीमा देखिन्छ । तर, जति नै प्रश्नहरूको आँधी उराले पनि कथित मूलधार खासै बदलिन सकेको देखिँदैन । बरु हमालहरूको ठाउँ लिन अनमोल केसी, प्रदीप खड्काजस्ता अभिनेताहरू आइसकेका छन् । उनीहरूलाई बजारले बेच्न खोजिरहेको छ । भलै हमाललाई बेचेजति सफल भइसकेको छैन । 

पण्डित यसमा दुईवटा कुरा देख्छन् । एक मूलधार, जो गतिशील हुन चाहँदैन । अर्को वैकल्पिक धार, जो गतिशील भइरहन्छ । हिजो पण्डित, लामाहरूले जुन कुरालाई मूलधार भनेर प्रश्न गरेका थिए, अहिले आंशिक रूपमा परिवर्तन भएर वैकल्पिक–मूलधारको मझदारबाट हिँडेका सिनेमा मूलधार भइरहेका छन् । ‘तर, अहिलेको यो मूलधारको पनि विकल्प चाहिन्छ । किनभने यो मूलधार पुरानो मूलधारसँग सम्झौता गरेर आएको हो,’ पण्डित भन्छन् । 

मूलधारलाई विविध कुराले असर गर्ने तर्क पेस गर्छन् पण्डित । विशेषतः राजनीतिले । ०४६ को प्रजातन्त्रपछिको नेपाली राजनीतिलाई हेर्ने हो भने तमाम परिवर्तन भए । नेपाली सिनेमा अत्यधिक रूपमा बन्न थालेको समय पनि तीस वर्षको छ । ०४६ पछि नेपालमा लिबरल डेमोक्रेसीको सुरुवात भयो । राजनीतिले भारतीय लिबरल डेमोक्रेसीलाई आत्मसात् गर्दैगर्दा नेपाली सिनेमाले बलिउडलाई आत्मसात गर्‍यो । जसै नेपाली राजनीति अस्थिर हुँदै गयो, त्यसैगरी सिनेमा पनि अस्थिर हुँदै गएको विश्लेषण छ पण्डितको । 

नेपालमा गणतन्त्र आएपछि नेपाली सिनेमा पनि त्यस्तै बन्दै गयो । पण्डित स्वयंले ‘दासढुंगा’ र ‘बधशाला’जस्ता सिनेमा बनाए । अरूले पनि बनाए । आफ्ना सिनेमाले ‘नायक’ भन्ने चिजलाई भत्काएको बताउँछन् उनी । ‘नायक भनेको सिनेमाको कथाको राजा हो । शासक हो । जसको केन्द्रमा राखेर सबै काम गरिन्थ्यो,’ पण्डित भन्छन्, ‘शासकले जे भन्थ्यो, त्यही हुन्थ्यो । त्यो भनेको राजेश हमाल सिनेमाको राजा नै भएको हो । तर, गणतन्त्र आएपछि राजा हट्यो, राजेश हमाल पनि हटे ।’ नेपाली चलचित्रको विगतलाई केलाउँदै जाँदा साठीको मध्यतिरबाट नेपाली सिनेमाले भुइँमान्छेहरूको कथा लिएर आयो । तर, समयक्रममा ती भुइँमान्छे फेरि राजा हुन थालेको बताउँछन् पण्डित । भन्छन्, ‘राजनीति र सिनेमा दुईतिरै भुइँबाट आएकाहरू नयाँ राजा बनेर गए । जसलाई फेरि नभत्काई हुन्न ।’

तत्कालीन समयको राजनीतिक चेतनाले समाजमा विविध क्षेत्रलाई असर गर्दैगर्दा सिनेमा अलग हुने भएन नै । हिजो प्रधानमन्त्री केपी ओलीले भारतविरुद्ध अभिव्यक्ति दिए, सबैले ‘वाह’ भने । तर, अहिले आएर त्यो भ्रम तोडियो । नेपाली सिनेमाको हालत पनि ठ्याक्कै यस्तै भएको बताउँछन् पण्डित । अभिनेता हमालकै कुरा गर्दा नेपाली सिनेमाले नायकसम्म निर्माण गर्न नसकेको अवस्थामा महानायक भनिनु हाम्रो चिन्तन प्रणाली र चेतनाको कमजोरी ठान्छन् उनी । ‘नायकले निश्चित समस्याविरुद्ध कठिन संघर्ष गरेर समाधान निकालेर छाडिदिन्छ । उसले नतिजालाई होइन, संघर्षलाई प्राथमिकता दिन्छ,’ पण्डित भन्छन्, ‘नेपाली सिनेमाले कुनै नायक निर्माण गरेको छैन । हामीले नायकको आधारशीला नै बुझेका छैनौँ । नत्र सिनेमाको नायकले हरेक व्यक्तिलाई समस्यासँग जुधेर नायक बन्न उत्प्रेरित गथ्र्यो ।’
                                                                        ०००

पुस्तक लेखनका क्रममा लेखक एक किसिमको सकसबाट गुज्रन्छ । आफैँसँग मन्थन गर्छ, लेख्छ । सिनेमा आफैैँमा बहुलेयरमा हुन्छ । मानिस छ, दृश्य छ, कथा छ, घटना छ । र, सिनेमामाथिको विचारलाई अक्षरमार्फत भन्नु सकसपूर्ण नै होला ! ‘तर, सिनेमा बनाउनुजतिको कठिन अलि होइन,’ पण्डित दाबी गर्छन् । उनका पुस्तकमा हरेक च्याप्टर दुई हजार पच्चीस सय शब्दका छन् । एउटा च्याप्टरका लागि तीन–चार दिन लगाएका छन् । सिनेमाको इलिमेन्ट, एस्थेटिकलाई शब्दमा न्याय दिन निकै गाह्रै हुने अनुभव पनि बटुले पण्डितले । हरेक शब्दको संरचना निर्माण गरिरहेका वेला पण्डितको विचार दिमागबाट कपीमा सरिरहेका हुन्थे । त्यो पल शब्दमा र वाक्यमा बसाइँ सरिरहेको हुन्थ्यो ।

त्यहाँ मजा भेट्थे उनी लेखनका क्रममा । जब शब्दमा आफूलाई देख्थे, त्यहाँ समाहित हुन्थे, त्यहाँ मजा पाउँथे । पुस्तक सके । इंडिगो इंक पब्लिकेसनले छाप्ने भयो । ‘मैले पुस्तकमार्फत भन्न खोजेको तपाईं दर्शक हुनु भनेको छनोटबीच उभिनु हो । निर्णय गर्नु हो । संसारको सबैभन्दा ठूलो कुरा निर्णय हो,’ पण्डित पुस्तकबारे भन्छन्, ‘यो पुस्तकले भन्छ, तपाईं कस्तो सिनेमा छनोट गर्नुहुन्छ, त्यसले तपाईंको चरित्र, नियति र निर्णयलाई प्रस्ट पार्छ । तपाईं जस्तो सिनेमा छनोट गर्नुहुन्छ, शासक पनि त्यस्तै छनोट गर्नुहुन्छ । किनभने तपाईंको मनोरञ्जनको दुनियाँ तपाईंको चेतनाले निक्र्योल गर्छ । शासक पनि तपाईंको त्यही चेतनाले छनोट गर्छ ।’