१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ओलीसँग वारपारको अन्तर्संघर्ष हुने प्रचण्डको संकेत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५७:oo

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत गरेका छन् । बुधबार साँझ पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे ‘ब्रिफिङ’ गर्दै ओलीसँगको सम्झौता सहज नभएको बताएका छन् ।

पार्टी एकतापछि ओली पार्टी र सरकार दुवैतर्फको नेतृत्वमा पूर्ण असफल भएको भन्दै प्रचण्डले अहिलेको अन्तर्संघर्ष पदीय लेनदन र भागबन्डाको नभएर मूलतः वैचारिक भएको दाबी गरेका छन् । प्रचण्डलाई भेट्न करिब डेढ दर्जन युवा–विद्यार्थी नेता उनको निवास खुमलटार पुगेका थिए । 

‘केपीजीले पटक–पटक पूर्वएमाले र पूर्वमाओवादीजस्तो कित्ता बनाएर पार्टी फुटाउन खोज्नुभो, तर पार्टी एकता जोगाएकै मैले र माधवजीले हो । उहाँले त वैशाखमै पार्टी फुटाउन खोज्नुभएको थियो, तर असफल भएपछि अहिले फेरि पूर्वएमाले र पूर्वमाओवादी भनेर कित्ताकाटको अधिकतम कोसिस गरिराख्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक विद्यार्थी नेताले भने, ‘हामीले नेकपा बनाउन खोजिरहेका छौँ, उहाँले एमाले बनाउन खोजिराख्नुभएको छ । हामी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर बहुमतमा छौँ । त्यसकारण पार्टी फुटाए ओलीजीले नै फुटाउने हो । यसपटक विगतमा जस्तो उहाँसँग कुनै सम्झौताको सम्भावना छैन, दृढतापूर्वक लडिन्छ । पार्टी कमिटीले गर्ने सबै निर्णय उहाँले पालना गर्नुपर्ने हुन्छ । अब कसैलाई जतिसुकै चारो हाले पनि त्यसको कुनै अर्थ हुनेछैन ।’ 

उनले अहिलेको अन्तर्संघर्ष मूलतः पार्टीको विधि, नीति, सिद्धान्त र विधान मान्ने कि नमान्ने, मुलुकलाई यथास्थितिमै राख्ने कि जनताको जनवादको कार्यदिशा हुँदै समाजवादतिर लैजाने दुई समूहबीचको भएको पनि प्रस्ट्याएका थिए ।

‘अहिलेको संघर्ष विधि मान्ने कि नमान्ने, मुलुकलाई यथास्थितिमा राख्ने कि समाजवादतर्फ लाने संघर्ष हो । यो कुनै नेतृत्व लिने वा दिने प्रश्नसँग जोडिएको छैन । पार्टी एकता गर्दा जनताको जनवादको कार्यदिशा अपनाउने सर्वसम्मत निर्णय भएको हो । त्यसलाई मान्ने कि नमान्ने संघर्ष हो,’ प्रचण्डको भनाइ थियो, ‘त्यसैले निरपेक्ष एकता भनेर मात्र हुँदैन । एकता हुनका लागि पार्टीको निर्णय, घोषणापत्र, विधान मान्नुपर्छ । पार्टी स्थायी कमिटीको निर्णय पालना गर्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ भन्नेमा हाम्रो जोड हो ।’

ad
ad