
संयुक्त राज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलरबराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीह?मा एफ– ३५ लडाकु विमान, एमक्यू–नाइन–बी मानवरहित ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरू रहेका छन् ।
डोनाल्ड ट्रम्प प्रशासनले ती सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मंगलबार जारी गरेको विज्ञप्तिमा युएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ ।
पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएईलाई अत्याधुनिक हातहतियार र लडाकु विमान उपलब्ध गएको विदेश मन्त्री पोम्पेओले बताए ।
इजरायलसँग सामान्यीकरण गर्ने गरी युएईले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरेलगत्तै युएईलाई अमेरिकाले आधुनिक हातहतियार र युद्धक विमान बिक्री गर्न लागेको हो । यसअघि इजरायल र जोर्डनबीच सन् १९९४ मा तथा इजरायल–इजिप्टबीच सन् १९७९ मा दौत्य सम्बन्ध स्थापना गर्ने गरी सम्झौताहरू भएका थिए । सुडान, बहराइन र युएईसँग भने हालै दौत्य सम्बन्ध स्थापना गर्न सहमति भएको हो ।