मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
२०७७ कार्तिक २३ आइतबार १२:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ससुराली गाउँ थटियाकाे इनारमा डुबेर मृत्यु, सेनाले निकाल्यो शव

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २३ आइतबार १२:५९:००

मानसिक सन्तुलन बिग्रेका २७ वर्षीय पुरुषको ससुराली गाउँको इनारमा हाम फालेर मृत्यु भएकाे छ । नेपाली सेनाको टोलीले डोरीमा हुक र पासोको सहयोगमा शव निकालेर प्रहरीलाई बुझाएको छ ।

सिराहाको धनगढीमाई नगरपालिका– १२ कालापानी गाउँका सुशील बस्नेत सोही वडामा पर्ने ससुराली गाउँ थटियाको करिब ९० फिट गहिरो इनारमा मृत अवस्थामा भेटिएपछि नेपाली सेनाको चोहर्वास्थित शेर गणबाट आएको टोलीले शव निकालेर प्रहरीलाई बुझाएको हो ।

 शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीका अनुसार दोस्रो दिन शनिबार अक्सिजनसहितको टोलीले करिब साढे तीन घन्टाको प्रयासमा शव निकालेर प्रहरीको जिम्मा लगाएको हो । 

सेनाको टोलीले इनारमा मृत अवस्थामा भेटिएका बस्नेतको शव निकाल्न शुक्रबार राति सवा नौ बजेदेखि प्रयास गरेको भए पनि ९० फिट गहिरो इनारमा अक्सिजनको कमी भई शव निकाल्न खटिएका सेना नै असुरक्षित भएपछि राति डेढ बजे छोडिएको प्रमुख सेनानी गौलीले बताए । 

त्यसपछि शनिबार बिहान गणका सहसेनानी उत्तम कट्टेलको कमाण्डमा १–९ नफ्रीमा आवश्यक सुरक्षा सामग्री, विपत् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त फौज तथा अक्सिजनसहितको टोलीले बस्नेतको मृत शरीर इनारबाट निकालेको हो । शवको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।  

भारतमा मजदुरी गर्दै आएका बस्नेतको मानसिक सन्तुलन बिग्रिएपछि करिब पाँच दिनअघि एक्लै ससुराली गाउँ थटिया आएको थाहा पाएको धनगढीमाई– १२ का वडाध्यक्ष राजु श्रेष्ठले बताए । ‘आयो, माऱ्याे’ भन्दै घर छोडेर भाग्ने गरेका बस्नेत शुक्रबार साँझ पनि ससुराली घरबाट हिँडेको थाहा पाएपछि खोज्ने क्रममा इनारमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए ।