मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चरिकोटस्थित माथिल्लो तामाकोसी प्रवेश गर्ने बाइपास सडक । तस्बिर : नयाँ पत्रिका 
२०७७ कार्तिक २३ आइतबार ०८:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माथिल्लो तामाकोसी बाइपास सडकमा आयोजनाकै पहलमा दोहोरो बजेट

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २३ आइतबार ०८:३७:००

नयाँ पत्रिका फलोअप 

आयोजनाकै पहलमा सडक विभागमार्फत बजेट विनियोजन, दोहोरो लगानी भएको प्रस्ट हुँदा पनि कामै नगरी नियमित भुक्तानी 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजना प्रवेश गर्ने मार्गमध्ये चरिकोट बाइपास सडकमा आफ्नै पहलमा दोहोरो बजेट विनियोजन गराएको पाइएको छ । कामै नगरी वर्षौँदेखि सडक मर्मतका नाममा आयोजनाको कोषबाट मासिक दुई लाख भुक्तानी गरिरहेको माथिल्लो तामाकोसीले आफ्नै पहलमा सडक विभागमार्फत बजेट विनियोजन गरी दोहारो लगानी गराएको खुलेको हो । 

अर्थ मन्त्रालय स्रोतका अनुसार दुई वर्षअघि नै चरिकोटस्थित गौरीशंकर बालगृहदेखि तिखातलसम्मको साढे चार किलोमिटर सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माथिल्लो तामाकोसीको प्रतिनिधिमण्डल अर्थ मन्त्रालय पुगेको थियो । आयोजनाको प्रस्तावपछि अर्थ मन्त्रालयले सडक विभागमार्फत गत आर्थिक वर्षमा डिभिजन सडक कार्यालय चरिकोटमा अख्तियारी पठाएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

विभागमार्फत एक करोड रुपैयाँ बजेटको अख्तियारी आएपछि डिभिजन सडकले गत आर्थिक वर्षको अन्तिम समयमा ठेक्का लगाएर झन्डै ५० प्रतिशत बिलोमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ । 

कार्यालयका प्रमुख इन्जिनियर विजय महतोले ठेक्का सम्झौता भएको समयदेखि नै लकडाउन भएकाले व्यवसायीले तत्कालीन समयमा काम सुरु गर्न नसकेको जानकारी दिए । नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि डिभिजन सडकले आयोजनालाई कामकाज गर्न सहज वातावरण बनाइदिन पत्राचार गरिसकेको डिभिजन प्रमुख महतोले जानकारी दिए ।

यसरी भइरहेको छ दोहोरो लगानी 
यता, डिभिजन सडकले धेरै प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाइरहँदा उता माथिल्लो तामाकोसी आयोजनाले भने विनाअनुगमन सडक मर्मतको कामै नगर्ने ठेकेदार कम्पनी सिनो हाइड्रोलाई नियमित भुक्तानी गरिरहेको छ । सडक डिभिजनले अहिले चरिकोटस्थित कालिञ्चोक माविभन्दा तल्लो खण्डदेखि तिखातलसम्म झन्डै ५० प्रतिशत सडक क्षेत्रमा नाली निर्माण र टेवा पर्खालका लागि सडक भत्काएको छ ।

हाल उक्त सडकखण्डमा कुनै पनि सवारीसाधन चल्दैनन् । माथिल्लो तामाकोसीले भने अझै पनि मर्मतका नाममा बजेट भुक्तानी रोकेको छैन । आयोजनाले वर्षौँदेखि सडक मर्मतको काम नभई भुक्तानी दिएर गरेको अनियमितता त छँदै छ, अर्को निकायले काम सुरु गरी सडक बन्द हुँदासमेत सरकारी रकमको दुरुपयोग हुनु खेदपूर्ण भएको स्थानीय अर्जुन थापाको भनाइ छ । 

सुरुमै हस्तान्तरण गर्न खोजिरहेका थियौँ : आयोजना
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले सुरुदेखि नै आयोजनाले उक्त सडक हस्तान्तरण गर्न खोजेको भए पनि सडक विभागको ठोस प्रतिक्रिया नआएकाले ढिलाइ भएको बताए । उनका अनुसार दोलखादेखि सिँगटीसम्मको सडक हस्तान्तरण भए पनि बाँकी साढे चार किलोमिटर सडक समयमा हस्तान्तरण हुन नसकेकाले यो समस्या आएको हो । न्यौपानेले आयोजनालाई आवश्यक केही ठूला उपकरण अझै पनि ढुवानी भइनसकेकाले पनि उक्त सडक प्रयोग गरिरहनुपरेको बताएका छन् । उनले सो विषयमा तत्काल अध्ययन गरी हस्तान्तरणको प्रक्रियामा केन्द्रित हुने जनाए । 

तत्काल अध्ययन गर्छु : प्रजिअ 
दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीले समन्वय अभावकै कारण दुई सरकारी निकायको दोहोरो लगानी हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । उनले दोहोरो लगानीको विषयमा तत्काल अध्ययन गर्ने पनि जनाए । ‘यस विषयमा आयोजना र सडक डिभिजनसँग यही बुधबार संयुक्त बैठक बोलाएर आवश्यक छलफल गर्छु,’ प्रजिअ सिवाकोटीले नयाँ पत्रिकासँग भने ।