१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको धोमा चौँरीलाई बोकाएर चामल लगिँदै
हेमन्त केसी उपल्लो डोल्पा
Invalid date format o६:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपल्लो डोल्पाका बासिन्दाले चामल मागेको दुई महिना बित्यो, तर ढुवानी हुने लक्षण छैन

Read Time : > 1 मिनेट
हेमन्त केसी, उपल्लो डोल्पा
नयाँ पत्रिका
Invalid date format o६:१७:oo

जाजरकोटबाट चौँरी, घोडा र खच्चडबाट जाडोयामलाई चामल लैजाँदै हिमाली भेगका बासिन्दा

उपल्लो डोल्पामा हिमपातको मौसम नजिकिँदै छ । त्यसक्षेत्रका बासिन्दाले दुई महिनादेखि दुई छाक टार्न चामल मागिरहेका छन् । तर, सरकारले सुनेको छैन ।छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे–फोक्सुन्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बित्यो । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीयवासी महँगो मूल्यमा बजारको चामल किनेर उपभोग गर्न बाध्य भएको बताएका छन् ।

छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार स्थानीय बजारमा एक क्विन्टल चामलको मूल्य १२ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । गाउँपालिकामा झन्डै तीन हजार जनसंख्याको बसोवास छ । ‘स्थानीयवासी भोकमरीको चपेटामा पर्दा पनि संघीय सरकारले चामल पठाएन,’ उनी भन्छन्, ‘चामल माग्दै हामी काठमाडौंसम्म पुग्यौँ, तर सधैँ बेवास्ता गरियो ।’ अत्यधिक हिमपात हुने क्षेत्र भएकाले उपल्लो डोल्पामा वर्षमा एक बाली मात्र उत्पादन हुन्छ । गुरुङका अनुसार त्यस क्षेत्रका बासिन्दालाई आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन ।

शे–फोक्सुन्डो पनि डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो, जहाँ चीनबाट चामल ढुवानी हुन्छ । ‘चीनले कोरोनाको कारण देखाउँदै चामल ढुवानी गर्न दिएन,’ गाउँपालिका अध्यक्ष टसीतुन्डुप गुरुङ भन्छन्, ‘हाम्रा जनताले चाडबाडमा पनि चामल पाएनन् ।’ जिल्ला खाद्य व्यवस्था समितिको निर्णयअनुसार यस वर्ष माथिल्लो डोल्पाका तीन स्थानीय तहमा एक हजार सात सय क्विन्टल चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने भनेको थियो ।

कोरोनाका कारण चीनबाट आउन नसक्ने र चिसो बढ्न थालेकाले चामल ल्याउन वैकल्पिक माध्यम अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताउँछन् । भन्छन्, ‘हिमपातअघि नै चामल ढुवानी नभए माथिल्लो डोल्पामा खाद्यान्न संकट हुने पक्का छ । दुनैसम्म गाडी र त्यहाँबाट पालिका केन्द्र र वडासम्म खच्चडमार्फत ढुवानी व्यवस्था गर्न कम्पनीलाई पत्राचार गरेका छौँ ।’

डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखासहित चार डिपो र दुई बिक्री केन्द्र छन् । तर, ती सबै तल्लो भेगमै छन् । त्यसैले उपल्लो डोल्पामा चामल सहजै पुुग्दैन । अहिले दुनैमा एक सय ८०, जुफालमा ४३, सर्मीमा एक सय ३१ र काइगाउँ डिपोमा एक सय ५० क्विन्टल चामल मौज्दात छ । सहरतारा र लिकुस्थित बिक्री केन्द्रमा सम्बन्धित ठेकेदारले नै चामल बिक्री गर्छन् ।

जिल्ला समन्वय समिति, डोल्पाले कात्तिकभित्र उपल्लो डोल्पामा खाद्यान्न पुर्‍याउन आग्रह गर्दै विभिन्न मन्त्रालय र खाद्य कम्पनीलाई पत्राचार गरेको छ । तर, सरकारबाट चामल आउने सम्भावना नदेखेपछि जाजरकोटबाट घोडा र खच्चडमार्फत ढुवानी गर्ने तयारीमा स्थानीय बासिन्दा छन् ।